कांग्रेस यसरी सकियो भन्दै ओलीले मधेशी नेतालाई सुनाए यस्ता महाभारत र रामायणका कथा,भोजको पनि व्यवस्था



हाम्रो इकोनोमि

राष्ट्रपति निर्वाचनमा विजयको खुसियालीमा बालुवाटारमा आयोजित दिवाभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–मधेशी गठबन्धनका सांसदहरुलाई महाभारत र रामायणका दुई कथा सुनाएका छन्।

सो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाहिँ एमाले–माओवादी केन्द्रबीचको एकता तोड्न सामाजिक सञ्जाल प्रयोग गरिएको बताउँदै पुराना कुरालाई विश्वास नगर्न आग्रह गरेका छन्।

ओलीले सुनाएको कथा
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेतासहित एमाले–माओवादी केन्द्रका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरु सहभागी कार्यक्रममा ओलीले नेपाली कांग्रेसको उपादेयता सकिँदै गएको दावी गरे। त्यसका लागि उनले महाभारतका कथा सुनाए।

उनले सुनाएको कथा यस्तो थियो:
जब महाभारतको युद्ध सकियो, कृष्ण र अर्जुनले महिलाहरुको सुरक्षाका लागि हस्तिनापुर लिएर जाँदै थिए। तर, बीचैमा भिल्लाहरुले आक्रमण गरे। भिल्लाहरुको आक्रमणबाट महिलाहरुलाई बचाउन अर्जुनले गान्डीब निकाले। तर, त्यसले काम गरेन।

अर्जुनले सोधे, ‘मेरो गान्डीबले कामै गरेन। कृष्ण यो के भयो?’

कृष्णले जवाफ दिए, ‘अब तिमीले बुझ्नुपर्छ, महाभारतको लडाईं सकियो, त्यो लडाईं सकिएपछि तिम्रो उपादेयतापनि सकियो, अब तिमी बेकामे भइसक्यौ।’

रामायणमा पनि यस्तै भएको छ। राजा जनकले थन्क्याएको धनुष रामले उचाले। तर, जनकले राखेको धनुष रामले उचाल्दा भाँचियो। आफूले बनाएको धनुष भाँचिएपछि पर्शुराम खुब रिसाए।

पर्शुरामको निजी हतियार भनेको बञ्चरो हो। राममाथि प्रहार गर्न पर्शुरामले त्यही बञ्चरो उचाल्न खोजे। तर, बञ्चरो उचालिएन।

यो देखेपछि रामले पर्शुरामलाई भने, ‘बञ्चरोले काम गर्दैन। किनभने, तिम्रो यो बञ्चराको अब काम सकियो।’

यति कथा सुनाइसकेपछि ओलीले महाभारत–रामायणका यी घटनाहरुलाई बर्तमान राजनीतिसँग जोड्दै भने, ‘अर्जुनको गान्डीब र पर्शुरामको बञ्चरो झैं नेपालको राजनीतिमा पनि नेपाली कांग्रेसको औचित्य अब छैन। ०७ मा थियो होला, ०४६ मा थियो होला। तर अब नेपालको राजनीतिमा नेपाली कांग्रेसको औचित्य छैन।’

प्रचण्डको फेसबुक प्रसङ्ग
ओली भन्दा अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलेका थिए। त्यसक्रममा ओली र आफूबीचको सम्बन्ध बिगार्ने प्रयास कसरी हुँदैछ भन्ने कुराको प्रसङ्ग उनले निकाले।

प्रचण्डले भने, ‘कमरेड ओली र मलाई कसरी फुटाउने भनेर विभिन्न मानिसहरु विभिन्न तरिकाले लागिरहेका छन्। त्यसका लागि सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको छ। सामाजिक सञ्जालमा हामीले विभिन्न प्रसङ्गमा बोलेका पुराना कुरा राखिएका छन्। तर, हामीबीचको सम्बन्ध राम्रो छ। सामाजिक सञ्जालमा राखिएका पुराना कुराहरुको अहिले कुनै अर्थ छैन।’

बालुवाटारमा फोरम र राजपाका शीर्ष नेताहरु उपस्थित भएपनि उनीहरुले चाहिँ बोलेनन्। उनीहरुलाई भोज मात्र खुवाईएको थियो।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...