होटल ल्याण्डमार्कको बलात्कार काण्डका बलात्कारीलाई जोगाउने यस्तो छ दाउ,‘सेटिङ’मा आत्मसमर्पण गराईदै



दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ को राती भएको सामुहिक बलात्कारका मुख्य चारजना आरोपीलाई बचाउने गरी आत्मसर्मपण गराउने तयारी भइरहेकाे छ।
आरोपी परिवारले बिचौलयाको सहयोगमा प्रहरीमा आत्मसमर्पण गराएर घटना मिलाउन चलखेल गरिरहेका हुन्।
फरार अाराेपीहरू मकवानपुरका विकास गौतम, सिन्धुपाल्चोकका दिपक श्रेष्ठ, रामेछापका सैलेश कार्की र ठेगाना नखुलेका रबि पौडेलले आत्मसमर्पण गराउने तयारी भइरहेको स्रोतले बतायो।

घटनाका मुख्य आरोपी विकास गौतमको परिवार सत्तारुढ एमालेसँग निकट छ। परिवारले प्रहरीको उच्च नेतृत्वमार्फत् घटना मिलाउन तारतम्य गरिरहेको हो। स्रोतकाअनुसार प्रहरीकै उच्च नेतृत्वको सल्लाहमा आरोपीहरुले प्रहरी समक्ष आत्मसमर्पणकाे प्रपञ्च गरिरहेका हुन्। बलात्कार आरोपी विकास गौतम राम गौतमका पारिवारिक नातेदार हुन्। एमाले निकट राम मोतीदान कन्स्ट्रक्सन कम्पनीका मालिक हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले भारत र नेपालमा चारै जनाको खोजी तीब्र गरिरहेका बेला घटनाले नयाँ मोड लिएको हो। स्रोतका अनुसार चारै आरोपी भारतमै छन्। वाम गठबन्धन सरकार बनेकाले अब स्थिति सहज भएको विश्लेषण गर्दै उनीहरुलाई नेपाल बोलाएर प्रहरीमा आत्मसमर्पण गराई मुद्दा कमजोर पार्ने सेटिङ सुरु भएको हो।

केही हप्ताअघि महानगरीय प्रहरी परिसर प्रमुखमा आएका एसएसपी विश्वराज पोखरेलले चारै आरोपी पक्राउ गर्न कुनै कसर बाँकी नराख्ने बताएका थिए। काठमाडौं प्रहरी प्रमुखले यस्तो संकेत दिएसँगै माथिल्लो निकायको सहयोगमा चारै युवालाई आत्मसमर्पण गराउने तयारीमा लागेको हो।
‘हाम्रो खोजी जारी छ, आत्मसम्र्पणको बिषयमा केही थाह भएन। हामी उनीहरुलाई पक्राउ गर्न नजिक पुग्दै गएका छौं,’ परिसरका प्रवक्ता डिएसपी मोहन थापाले भने। उनकाअनुसार चर्चित र सम्बेदनशील घटना भएकाले परिसरले विशेष टोली बनाएर देशभित्र तथा बाहिर चारैजनाको खोजी तीब्र बनाएको छ।

बलात्कारी छाेड्ने इन्स्पेक्टर बेपत्ता
यता घटना मिलमतोमा टुङ्ग्याउन मुख्य भूमिका निर्वाह गरेको आरोपमा निलम्बनमा परेका दरबारमार्ग वृत्तका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी बेपत्ता भएका छन्। उनी प्रहरी सम्पर्कमै छैनन्। महानगरीय प्रहरी कार्यालयले एसएसपी पूर्णचन्द्र जोशीको संयोजक्तवमा बनाएको छानबिन समितिले लगातार सम्पर्क गर्न खोज्दा ठकुरीको मोबाइल धेरै दिनदेखि स्विच अफ छ। प्रहरीले उनको चितवनस्थित ठेगानामा खोज तलास गर्दा समेत ठकुरी भेटिएका छैनन्।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले प्रहरी निरीक्षक ठकुरीको भरतपुर नगरपालिका महानगरपालिका वडा नम्बर ९ शरदपुरमा रहेको घरमा बारम्बर जाँदा कोही फेला नपरेको बताए।
‘हाम्रो टोली सम्पर्क गर्न धेरै पटक गयो, भेटिएन्न आज फेरि पठाउछु,’ एसपी थापाले भने।

आरोपी चारैजनाले योजना बनाएर एकजना १८ वर्षिय युवतीलाई होटल ल्याण्डमार्कको कोठा नम्बर ४०५ मा सामुहिक बलात्कार गरेका थिए। पीडित युवतीले दिएको जाहेरी अनुसार आरापीमध्ये एक दिपक श्रेष्ठले आफुलाई प्रहरी बताएर युवतीको नग्न तस्बिर र भिडियो समेत खिचेका थिए।

घटनाको जाहेरी लिएर पनि दरबारमार्ग वृत्तले आर्थिक प्रलोभनमा घटना मिलाएको सार्वजनिक भएपछि मानवअधिकार आयोग र प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयले सोधखोज गरिरहेको छ।
आयोगको चलानी नम्बर १२६८ र १२९७ रहेको पत्रमा घटनाको यर्थाथ पत्ता लगाएर दोषी उपर कडा कारवाहीको माग गरिएको छ। यस्तै प्रधानमन्त्री कार्यालयको चलानी नम्बर २२०८ अनुसार घटनाको निष्पक्ष अनुसन्धान दोषी उपर कारवाहीको निर्देशन दिइएको छ।

अनुसन्धान पूरा गरी बार्गेनिङ
प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा ७ माघमा भएको सामुहिक बलात्कार घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरेर माथिल्लो निकायलाई लिखित जाहेर भइसकेपछि पीडक–पीडित पक्षबीच सहमती गराएको खुलेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी पठाएपछि महानगरीय प्रहरी बृत्त दरबारमार्गले आर्थिक प्रलोभनमा परी घटना ढाकछोप प्रयास गरेको थियो।

दरबारमार्ग बृत्तले घटनाको प्रारम्भिक अनुसन्धान पूरा गर्नुका साथै महानगरीय प्रहरी परिसर काठमाडौंलाई लिखित जाहेर गरिसकेपछि घटना सामसुम पारेको थियो। प्रहरी कार्यालयमा अनुसन्धान शाखाले प्रत्येक दिनको जाहेरी आफूभन्दा माथिल्लो तहलाई गराउने नियम छ।

बृत्तले अनुसन्धान सकेर पक्राउ आरोपीलाई हिरासतमा लिएपछि अन्य आरोपी खोज्न छाडेर हिरासतमा लिएका व्यक्तिमार्फत अन्य आरोपीसँग रकम असुलेको अनुसन्धानमा खुलेको थियो। पीडित युवतीको साविती लिखित बयान, प्रसुती गृहको मेडिकल प्रतिवेदन, घटनास्थलको मुचुल्का र मुख्य आरोपी पक्राउ भइसकेपछि महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रहरी अधिकारीहरुले बार्गेनिङ सुरु गरेका थिए।
घटनाको भोलिपल्ट ८ माघमा विक्षिप्त अवस्थामा आएकी पीडित युवतीको ठाडो जाहेरी लिएको दरबारमार्ग प्रहरीले बलात्कारसम्बन्धी मुलुकी ऐनअनुसार औपचारिक अनुसन्धान पूरा गरेको दस्तावेज छ।

कागजातमा घटनाको ठाडो जाहेरीमा पीडित युवतीले नाम नै किटान गरी चार व्यक्तिहरुले बन्धक बनाएर सामुहिक बलात्कारपछि नग्न बनाएर तस्वीर र भिडियो लिनुका साथै धाकधम्की समेत दिएको उल्लेख छ। सोही दिन बृत्तले काठमाडौं प्रहरीको अपराध अनुसन्धान शाखालाई पत्र लेख्दै घटनाको लिखित जाहेरी दिएको थियोे।

बृत्तको चलानी नम्बर ७११ रहेको उक्त पत्रमा घटनाका बिषयमा जानकारी गराउँदै अनुसन्धान तथा आरोपीको खोजी भइ रहेको उल्लेख छ। निलम्बित प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले हस्ताक्षर गरेको उक्त पत्र परिसरका डिएसपी बेलबहादुर पाण्डेले बुझेका थिए।

बृत्तका प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारी र प्रहरी जवान उमेश पालले घटनास्थल होटल ल्याण्डमार्कको मचुल्का लिएका थिए। होटलका प्रबन्धक दीलिपकुमार श्रेष्ठ र बिरु श्रेष्ठलाई साक्षी राखेर मुचुल्का उठाइएको थियो। प्रहरी मुचुल्कामा घटना भएको कोठाको अवस्था र बरामद सामाग्रीको विवरण लिइएको छ। मुचुल्लामा होटलमा प्रयोग भएका कण्डम फेला परेको उल्लेख छ। प्रहरीले ८ माघमा नै पीडित युवतीलाई बृत्तकै महिला प्रहरीका साथमा थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षणका लागि पठाएको थियो। बृत्तको चलानी नम्बर ७१० रहेको पत्रमा प्रहरीले मुलुकी ऐन अनुसार बलात्कार भए नभएको आधार मान्ने पाँच प्रश्न प्रसुती गृहसँग सोधेको थियो।

प्रसुति गृहका रजिष्टार अरुणा वनले दिएको प्रतिवेदनमा ‘योनीको जाँचमा बलात्कार भएको भन्न नसकिने तर बलात्कार भएको होइन नै भन्न सकिँदैन’ भन्ने ब्यवहोराको प्रतिवेदन प्रहरीलाई दिएको देखिन्छ। पीडित युवतीको जाँच डाक्टर स्विटी श्रेष्ठले गरेकी थिइन्।

घटनाको तेस्रो दिन ९ माघमा दरबारमार्ग बृत्तले मुख्य आरोपी शैलेश कार्कीलाई हिरासतमा लिएको थियो। बृत्तको हिरासत अभिलेखअनुसार कार्कीलाई राति ९ बजे थुनामा राखिएको थियो।
यति हुँदाहुँदै पनि प्रहरीले जर्वजस्ती करणी मुद्दामा गर्ने औपचारिक र अनिवार्य प्रारम्भिक अनुसन्धान पूरा गरी मुख्य आरोपीलाई छोडिदिएको थियो। मुख्य आरोपी हिरासतमै रहेका आर्थिक चलखेल गरी छो छोडिएको थियो। घटनाको चौथो दिन १० माघमा मुख्य आरोपी र पीडितका परिवारलाई बृत्तमै राखेर सहमति गराइएको थियो। सहमतिमा दुवै परिवारका सदस्यसहित महेश पन्त र महेश महर्जन नाम गरेका व्यक्तिहरु साक्षी बसेका थिए।

बलात्कारपछि नग्न तस्विर र भिडियो
पीडित युवतीले घटनाको अर्को दिन ८ माघको विहान दरबारमार्ग बृत्तमा दिएको ठाडो जाहेरीमा आफूलाई सामुहिक बलात्कारपछि पनि नग्न तस्बिर खिच्ने र गालीगलौज गरिएको उल्लेख गरेकी छिन्।

युवतीले घटनाका दिन आफू काँडाघारीस्थित एकजना साथीको घरमा गैरहेका बेला मुख्य आरोपी कार्कीले फोन गरेर भेटपछि घर पु¥याउने शर्तमा बोलाएको उल्लेख छ। पीडित युवतीले लिखित पत्रमा आरोपी कार्कीले अत्यन्त जरुरी रहेको भनेपछि आफू लाजिम्पाटस्थित भूमि क्याफेमा पुगेको बताएकी छिन।

क्याफेमा कार्कीबाहेक अन्य आरोपी ठेकेदार विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल पहिलेदेखि बसिरहेका थिए। कार्कीको अनुरोधमा दुई गिलास वाइन र मःमः खाएपछि आफूलाई केही असजिलो भएको युवतीले लिखित जाहेरीमा उल्लेख गरेकी छिन्।

‘मैले घर पुर्याइदेउभन्दा शैलेसले दाइको मिटिङपछि जाने भन्दै आलटाल गरे, अति नसा लागेपछि मलाई होटलमा लगेका थिए,’ युवतीको बयानमा उल्लेख छ।

अनुसन्धान अधिकारीका अनुसार पीडितलाई लैजानु अघि नै होटलमा दीपक श्रेष्ठका नाममा १० जनाका लागि भन्दै पाँचवटा कोठा बुक गरिएको थियो। होटल बुक गर्न शैलेश कार्की र आवास लामाको सवारी चालक अनुमतिपत्र प्रयोग भएको थियो।

बलात्कारी जाेगाउन ठेकेदारीकाे पैसा
प्रहरीले घटनापछि आरोपीहरुको नाम किटान गरेर जाहेरी लिने र अनुसन्धान प्रक्रिया पुरा भएपछि आफै मिलाउन सक्रिय भएको थियो। घटनामा संलग्न विकास गौतमका बिषयमा जानकार दरबारमार्ग बृत्तले ‘ठूलो पार्टी’ भन्दै जघन्य अपराध लुकाउन अग्रसरता देखाएको थियो।

घटनामा संलग्न गौतम हेटौंडाको मोतिदान कन्स्ट्रक्सनका संचालक हुन्। यस्तै दिपक श्रेष्ठ सिन्धुपाल्चोकका व्यापारी र रवि पौडेल आर्थिक हैसियत राम्रो भएका ब्यक्ति हुन। आरोपी कार्कीलाई हिरासतमा लिएपछि ९ माघको रातिदेखि आरोपीहरुसँग विभिन्न माध्यमले प्रहरीले रकमको बार्गेनिङ गरेको थियो।

पीडित युवतीसँग कपाली कागजमा सहमति गराउन प्रहरी सफल भयो। घटनाको प्रत्यक्षदर्शी दरबारमार्ग बृत्तका प्रहरीहरुले पीडित र उनका परिवारलाई प्रहरी निरीक्षक ठकुरी र सई भण्डारीले झुटो आरोपमा उल्टो कारवाहीमा पर्ने र बद्नामी हुने भन्दै मानसिक दबाब समेत दिएको अनुसन्धान अधिकारीलाई बताएका छन्।

अन्त्यमा युवतीलाई निश्चित रकम दिने सहमति भएपछि बृत्तमै उजुबाजुर समेत नगर्ने भनी सहमति पत्रमा दुईजना साक्षीको रोहवरमा हस्ताक्षर र औंठा छाप लगाएर सहमति गराउन प्रहरी सफल भएको थियो।

प्रहरीलाई कारवाहीको सिफारिस
काठमाडौं प्रहरीले आफ्नै मातहतको बृत्तका प्रहरी अधिकृतले सामुहिक बलात्कारको घटना ढाकछोप गरेको स्वीकार गरेको छ। उसले घटना ढाकछोपका लागि युवतीलाई आर्थिक प्रलोभन र करकापमा पार्ने कार्यमा संलग्न अधिकारी र अन्यलाई समेत कडा भन्दा कडा कारवाहीको सिफारिस समेत गरेको छ।

बलात्कार जस्तो जघन्य अपराधमा सहमति गराएको घटना बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा बनाएको पाँच सदस्यीय छानविन समितिले दरबारमार्ग बृत्तका प्रमुख तिलक भारतीसहित लक्ष्मणसिंह ठकुरी र सई चन्द्रबहादुर भण्डारीलाई कडा कारवाहीको सिफारिस गर्दै बिहीबार प्रतिवेदन बुझाएको हो। छानविन समितिले तीनैजनालाई फौजदारी दायित्व बहनगर्नु पर्ने देखिएमा सो अनुसारपनि कारवाहीका लागि सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको