बुधबारको साइत उत्तम देखिए पछी माओबादीका मन्त्रीले भोली सपथ खाने,यी हुदैछन् मन्त्री



हाम्रो इकोनोमि

माओवादी केन्द्रले पार्टी एकताको निर्णयसँगै नयाँ सरकारमा मन्त्री पठाउने तयारी गरेको छ। एकता प्रक्रिया सकारात्मक नतिजा उन्मुख देखिएको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न तयारी अवस्थामा रहन आफ्ना निकटकालाई निर्देशन दिएका छन्। अध्यक्षको आश्वासनसँगै माओवादीका धेरै नेताले सपथका लागि दौरा सुरुवाल तयार पारिसकेका छन्।

एकीकृत पार्टीको निर्णय गरिए पनि केपी ओली नेतृत्वको वर्तमान सरकारमा माओवादी प्रमुख सत्ता साझेदार दलको रुपमा प्रवेश गर्नेछ। मुख्य सत्ता साझोदरको हैसियतामा माओवादीले गृह लगायतका केही शक्तिशाली मन्त्रालय हात पार्नेछ।

अध्यक्ष दाहालले नयाँ सरकारमा माओवादीको नेतृत्व गर्ने व्यक्तिको विषयमा विशेषत: दुई मापदण्ड तयार गरेका छन्। ओली नेतृत्वको सरकारमा माओवादीले अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्ने बताएको छ। माओवादीबाट नेतृत्व गर्ने विषयमा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने व्यक्तिले सामान्य मन्त्रालय लिनुपर्ने स्पष्ट पारिसकेका छन्।

माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्ने निश्चित देखिएको छ। माओवादीको संगठन विभाग प्रमुख समेत रहेका बादलले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने इच्छा समेत देखाएका छन्। अध्यक्ष दाहालले राष्ट्रियसभामा बादललाई ल्याउनुमा पार्टीको तर्फबाट सरकारमा पठाउने उद्देश्य लुकेको माओवादी नेताहरु बताउँछन्। वरिष्ठताका आधारमा समेत बादलले दाबी गरेको स्थितिमा अन्य नेताले दाबी गर्ने स्थिति नरहेकाले समेत नयाँ सरकारमा माओवादीको नेतृत्व बादलले गर्ने निश्चित देखिएको हो।

मन्त्रीका अर्का दाबेदार हुन्, मातृका यादव। प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित यादव मधेसमा माओवादीका सबैभन्दा ठूला नेता हुन्। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टी नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी गठन गरेर छुट्टिएका यादव अन्तिममा माओवादी केन्द्रको एकीकरण प्रक्रियामा जोडिएका हुन्। वैचारिक रुपमा स्पष्ट र इमानदार नेताका छवि बनाएका यादवलाई मन्त्री बनाउन माओवादी अध्यक्ष दाहाल समेत सकारात्मक छन्।

माओवादी केन्द्रभित्र चन्द्र खनाल बलदेव अवसर नपाएका केही ठूला नेताभित्र पर्छन्। तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डर रहेका बलदेव माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि राजनीतिक पदको लाभमा बस्ने कमै मात्र अवसर पाए। माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा रहँदा राजनीतिक सल्लाहकारको नियुक्ति पाएका बलदेव यसपटकको नयाँ सरकारमा माओवादीका प्रबल दाबेदार हुन्।

पम्फा भुसाल माओवादीबाट मन्त्री बन्ने अर्को नाम हो। भुसाल प्रतिनिधिसभा निर्वाचनमा ललितपुर ३ बाट निर्वाचित भएकी थिइन्। पार्टी अध्यक्ष दाहालले मन्त्री मण्डलमा पठाउने पहिलो सूचीमा भुसालको नाम निश्चित जस्तै बनेको छ।

देवेन्द्र पौडेल माओवादीभित्र नेता बाबुराम भट्टराई पक्षधर नेता थिए। माओवादी छाडेर बाबुरामले नयाँ शक्ति निर्माण गर्ने अभियानमा पौडेलले साथ पनि दिए। नयाँ शक्तिले राष्ट्रिय राजनीतिमा आफ् औचित्य र हैसियत पुष्टि गर्न नसकेपछि पौडेल माओवादीका धेरै नेता लिएर माओवादीमै फर्किए। लगत्तै प्रतिनिधिसभा निर्वाचनमा बाग्लुङ्ग क्षेत्र नम्बर २ बाट निर्वाचित भएका पौडेललाई मन्त्री बनाउन माओवादी अध्यक्ष दाहालसमेत सकारात्मक छन्।

माओवादीबाट सरकारमा जाने इच्छा वर्षमान पुन र टोपबहादुर रायमाझी लगायतका नेताहरुले समेत देखाएका थिए। तर सभामुखमा ओनसरी घर्ती दोहरिने सम्भावना देखिएपछि वर्षमानले मन्त्रीको नेतृत्वमा दाबी नगर्ने मनसाय देखाएका छन्। बाबुरामले पार्टी छाडेपछि माओवादीभित्र एक्लिएका रायमाझी समेत राम्रो मन्त्रालय लिएर नयाँ सरकारमा जाने दाउमा देखिएका छन्।

माओवादीभित्र सत्ताका दुई प्रमुख खेलाडी जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलाई पार्टी अध्यक्षले कसरी मनाउलान्, सबैको चासोको विषय छ।

पार्टी एकतामा उल्लेख्य भूमिका खेलेको भन्दै अध्यक्ष दाहालले नयाँ सरकारमा जनार्दनलाई पठाउन चाहेका छन्। तर लगातार र गृह मन्त्रालय सम्हालेका शर्मालाई सरकारमा नपठाउन पार्टीभित्रै ठूलो दबाब छ। गृहमन्त्री भइसकेका अर्का नेता बस्नेत समेत नयाँ सरकारमा शक्तिशाली मन्त्रालय लिएर जाने लबिङ गरिरहेका छन्।

माओवादीले भोलि नयाँ सरकारमा मन्त्रीहरुको सिफारिस गर्दैछ। स्रोतका अनुसार भोलि मन्त्रीहरुलाई सपथ खुवाउने तयारी प्रधानमन्त्री केपी ओलीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...