सौराहामा ‘हात्तीको वनभोज’, ६० वटा हात्ती सहभागी



हाम्रो इकोनोमि

सधैं पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवनको सौराहाका हात्तीको दैनिकी आज छुट्टै बन्यो ।

लावालस्करसहित सौराहाको सिसवार चौरमा आएका हात्तीहरू आज मीठामीठा परिकारमा रमाए । हात्तीहरूका लागि मनपर्ने खाना सख्खर, उखु, बन्दा, केरा, धान, कुचि लगायतका खानेकुरा हात्तीले रमाई रमाई खाए । वनभोजमा ६० वटा हात्ती सहभागी थिए ।

सौराहामा जारी खाना महोत्सवका अवसरमा संरक्षणको चेतना दिन हात्तीको जमघट गराइएको हो । बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनको पहलमा खाना महोत्सवका अवसरमा पहिलो पटक हात्तीको वनभोज कार्यक्रम गरिएको रेष्टुरेण्ट एण्ड वार एशोसिएशन नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो ।

एकै ठाउँमा ६० वटा हात्ती देख्दा पर्यटकसमेत रमाए ।

काठमाडौँबाट आउनुभएका प्रणव सुवेदीले यतिधेरै हात्ती एकैसाथ देख्नु भाग्य कै कुरा हो भन्नुभयो । हात्तीका लागि वनभोज नयाँ र सकारात्मक कार्यक्रम भएको सुवेदीको भनाइ छ ।

रेवान, सौराहा र महिला रेवानको आयोजनामा यहाँ खाना महोत्सव चलिरहेको छ ।

हात्ती वनभोजको उद्घाटन गर्दै चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले हात्तीको स्वास्थ्य र संरक्षणका लागि वनभोज कार्यक्रमले सकारात्मक सन्देश दिने बताउनुभयो ।

बाघमारा सामुदायिक वनका अध्यक्ष विपी चौधरीले फुड फेष्टिवलका लागि हात्ती वनभोज नयाँ आयाम भएको बताउनुभयो ।

रेवान सौराहाका निवर्तमान अध्यक्ष तथा रत्ननगर नगरपालिक–७ का अध्यक्ष राजन भट्टले खाना महोत्सव खानामा मात्रै केन्द्रित नभई स्वास्थ्य, संरक्षण तथा चेतनामूलक कार्यक्रममा समेत सक्रिय भएको भन्दै हात्ती वनभोज जस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

यही माघ २८ गतेदेखि शुरु भएको सौराहा खाना महोत्सव फागुन ३ गते सकिँदै छ । सौराहामा प्रेम दिवसको अवसरमा आज पर्यटकहरूको बाक्लो उपस्थिति छ ।

यहाँ स्वदेशी र विदेशी खानाका परिकार तथा थारुका परिकारमा पर्यटक रमाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...