ओली आज प्रधानमन्त्री बन्दै, ओली–दाहाल दुवै अध्यक्ष, राष्ट्रपति–उपराष्ट्रपति यथावत
मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एमाले माओवादी केन्द्रबीच पार्टी एकीकरणको सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गर्दै बुधबार बसेको पार्टी एकता संयोजन समिति बैठकले एकीकरणको निर्णय लिएको हो ।
पार्टी एकीकरणपछि ओली र दाहाल दुवै जना अध्यक्ष रहने सहमति भएको छ । दुवै अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्नेछन् । सहमतिअनुसार निर्वाचन अगावै ओली भावी प्रधानमन्त्रीका रूपमा जनताले हेरेको कारण समृद्धिको खाकासहित नेतृत्व लिन आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गर्ने निर्णय पनि दुई दलले गरेका छन् ।
आज बिहान ओली र दाहालले राष्ट्रपतिसमक्ष दाबी पेस गरेलगत्तै एमाले अध्यक्ष ओली आजै नेपालको प्रधानमन्त्री नियुक्त हुनेछन । दुई नेताले दाबी पेस गरेलगत्तै राष्ट्रपतिले आज नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने शीतलनिवास स्रोतले जनाएको छ । यही कामका लागि राष्ट्रपति भण्डारीको आज तय भएको उपत्यका बाहिरको भ्रमण स्थगित भएको छ ।
एमाले र माओवादीबीच पार्टी एकताको निर्णय भएसँगै बुधबार नै एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सो सहमतिलाई एकता संयोजन समितिले अनुमोदनहित आज नै प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्ने निर्णय लिएको हो । दुई दलबीचको सहमतिअनुसार ओली र दाहालमध्ये एकले सरकारको नेतृत्व गर्दा अर्काले पार्टीको नेतृत्व गर्नेछन् । पहिलो प्रधानमन्त्री ओली तीन वर्ष प्रधानमन्त्री हुनेछन् भने दाहालले दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् ।
एमाले माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद राख्ने सहमति भएको छ । एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गर्दै दुवै दलको भावना मिलाउन जबज र माओवादी नराख्ने सहमति पनि भएको छ । यद्यपि, यो सहमतिलाई अन्तिम निर्णय एकता महाधिवेशनबाट गर्नका लागि वैचारिक–संगठनात्मक कार्यदल बनाइने भएको छ ।
शुक्रबार कार्यदल गठन गर्ने एक नेताले बताए । दुवै दलले जनताको बहुदलीय जनवाद नै माने पनि एकअर्काको सम्मानका खातिर एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवाद हुने सहमति गरिएको हो । ‘एकताको ९५ प्रतिशत विषयको टुंगो लागेको छ, केही विषय छलफलकै क्रममा रहेकोले रातीराती निर्णय नगरौँ भनेर बिहीबारसम्म सारिएको छ, अब एकता भयो,’ एकता संयोजन समितिका सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले भने ।
यसैगरी अब एमाले र माओवादी एकअर्कामा विलिन भई नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने निर्णय भएको छ भने चुनाव चिन्ह सूर्य रहनेछ । केन्द्रीय समितिको आकारमा भने टुंगो लाग्न बाँकी रहेको छ । विभिन्न चार विकल्पमा छलफल भए पनि नेताहरूबीच कुन आकारको बनाउने भन्नेमा गृहकार्य जारी रहेको छ । ‘दुई अध्यक्ष रहने टुंगो लाग्यो, अन्य विषयमा छलफल जारी छ, उपयुक्त निर्णय आजको बैठकमा हुन्छ,’ खनालले भने ।सौर्य दैनिकमा समाचार छ ।
यसरी मिल्यो एमाले–माओवादी
ओली–दाहाल दुवै अध्यक्ष, आलोपालो प्रधानमन्त्री, ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आजै दाबी पेस
संयुक्त अध्यक्षको रूपमा पार्टी सञ्चालन, एकले सरकार, अर्काले पार्टी सञ्चालन
एमाले–माओवादी हटाएर ‘नेपाल कम्युनिस्ट पार्टी’ नामांकन
सिद्धान्त माक्र्सवाद–लेनिनवाद, जवजकै बाटो अंगीकार
वैचारिक–संगठनात्मक कार्यदलमार्फत सिद्धान्तको अन्तिम टुंगो
केन्द्रीय कमिटीको आकार तय हुन बाँकी, ९९ देखि ३ सय ४४ सम्मका चार विकल्पमा छलफल जारी
चुनाव चिन्ह सूर्य
राष्ट्रपति–उपराष्ट्रपति यथावतसबै कमिटीमा चुनावअघि उम्मेदवार चयनमा भएको ६०–४० कै आधारमा व्यवस्थापन गर्ने वा चुनावी परिणामपछिको ७०–३० को आधारमा गर्ने भन्नेमा पनि अन्तिम निर्णय हुन बाँकी रहेको छ । पार्टी एकताको निर्णयसँगै राष्ट्रपति र उपराष्ट्रपतिलाई यथावत राख्ने सहमतिसमेत दुई अध्यक्षबीच भएको छ । जसअनुसार राष्ट्रपति–उपराष्ट्रपतिमा विद्यादेवी भण्डारी र नन्दबहादुर पुन नै यथावत रहने भएका छन् ।
यसैगरी सभामुख, राष्ट्रिय सभा अध्यक्षको विषयमा पनि शुक्रबार निर्णय हुने छ । एमाले र माओवादीले शुक्रबार नै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गर्ने निर्णयसमेत गरेका छन् । ‘निर्वाचन आयोगले परिणाम बुझाइसकेकोले बहुमत प्राप्त वाम गठबन्धनको नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गर्ने निर्णय भएको हो, त्यसैअनुसार बिहीबार नै राष्ट्रपतिसमक्ष दाबी पेस गर्नेछौँ,’ एमालेका एक नेताले भने ।
ओली र दाहालले लामो छलफल तथा गृहकार्यपछि मंगलबारको वान टु वान वार्तामा दुवै अध्यक्ष र आलोपालो प्रधानमन्त्री बनेर मुलुकलाई समृद्धि हासिल गर्ने सहमति गरेका हुन् । चुनावी तालमेललाई पार्टी एकताकै रूपमा आमजनताले बुझेपछि पछिल्लो दुई साता ओली र दाहाल निकै गम्भीरताका साथ एकताको गृहकार्यमा जुटेका थिए ।
मंगलबार दुवै समान पदमा रहने गरी सहमति जुटाएका ओली र दाहालले बुधबारको वान टु वान वार्तामा गत १३ असोजमा भएकै सहमतिअनुसार नेतृत्वको व्यवस्थापन र आलोपालो सरकार चलाउने निर्णय लिएका हुन् । पार्टी एकताका लागि ओली र दाहालले झन्डै ५० घण्टाभन्दा बढी समय खर्च गरेका थिए । कतिपय अवस्थामा एक जना सहयोगी मात्रै लिएरसमेत दुई नेताबीच गोप्य रूपमा वार्ता भएको थियो ।
ओली र दाहालले बुधबार पनि ललितपुरको मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको निवासमा ११ बजेदेखि २ बजेसम्म ‘वान टु वान’ वार्ता गरे । वार्तामा कुरा टुंग्याएर साढे २ बजे एमाले स्थायी कमिटी बैठक सोही स्थानमा बस्यो । दाहालले भने आफ्नो निवासमा बैठक राखे । दुवै नेताले पार्टी एकताका आधारभूत मोडल र सरकार गठनको खाका तयार पारी पार्टीको आन्तरिक छलफलमा व्यस्त बने । पार्टीको बैठकपछि दुवै नेता पुनः ३ बजेतिर वान टु वान वार्तामा बसे ।
सो वार्तापछि दुवैतिरबाट आएको सुझाव सहितको खाकामा सहमति जुटाई पार्टी एकता संयोजन समितिको बैठक राखे । एमाले बरिष्ठ नेता खनालले सवै विषयलाई बिहीबार टुंगो लगाउने गरी सबै शीर्ष नेताले परामर्श गरिरहेको जानकारी दिए । ‘सैद्धान्तिक विषयमा छलफल केन्द्रित रह्यो, माक्र्सवाद लेनिनवाद राख्ने कुरा भयो, जबजकै बाटो हिँडनेमा सबै सहमत भए पनि दुवै दलको सिद्धान्तको नाम नराख्ने विषयमा सहमति जुटेको छ, अबको बैठकमा सांगठानिक विषयमा निर्णय हुन्छ,’ वरिष्ठ नेता खनालले भने ।