प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा
पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ ।
पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो पर्यटकीयस्थल ओझेलमा परेको हो ।
रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो ।
सगरमाथा, कञ्चनजंघालगायतका हिमशृंखला तथा पूर्वका १४ वटा जिल्ला एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको भएपनि फिदिमबाट राँके–रवि सडक हुँदै करिब छ घण्टाको सवारी यात्रापछि लिम्बाको लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल यात्रापछि मिक्लाजुङ डाँडा पुगिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिने भएकाले यहाँ पाँचथर, इलाम, मोरङ, झापा, भारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाट समेत घुम्न पर्यटक आउने गरेका छन् ।
चौबीसै घण्टा शीतल हावा बहिरहने मिक्लाजुङ पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवं दृष्यावलोकनबाट लोभिन्छन् । स्थानीयवासी बेविन्द्र माखिमका अनुसार वर्षात्को समय होस् वा हिउँद्मा, वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्योदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागिसमेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” माखिमले भन्नुभयो ।
मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित प्राचीन एवं ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ । धार्मिक किम्बदन्तीअनुसार पाण्डव गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकार्दा उहाँकै आज्ञाले एउटा ठूलो ढुंगा शक्तिबाट चारकोठा भई भित्रभित्रै भ¥याङसमेत बन्न गई त्यही ढुंगाको ओढारमा आफ्नो हातहतियार राखेका थिए ।
हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुण्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्न गएको भन्ने जनविश्वास रहिआएको छ । उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ । भू–धरातलको विकटता र मौसम प्रतिकूलताका कारणले पर्यटकीयस्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाका बासिन्दाका लागि परिचित हुँदाहुँदै पनि सो स्थल ओझेलमा रहेको छ ।
यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरुंगीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ ।
पर्यटन विकासका लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउन आवश्यक छ । यहाँको पर्यटन विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुहुन्छ मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली ।
“पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।”