यस्तो कार्यसूची र तयारी सहित आज यसरी बस्दैछ प्रदेश २, ५, ६ र ७ को पहिलो बैठक



आज प्रदेश २, ५, ६ र ७ को पहिलो संसद् बैठक बस्दैछ। प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बस्न लागेको बैठकको सबै तयारी पूरा भएको प्रदेश सचिवालयहरुले जनाएका छन् । यसअघि प्रदेश ३ को माघ १८ मा र १ को माघ २२ मा बैठक सकिएको थियो।

कहाँ कस्तो छ तयारी?
प्रदेश २
प्रदेशसभाको पहिलो बैठक ११ बजे शैक्षिक तालिम केन्द्र जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभा भवनमा बस्ने भएको छ। यो प्रदेशमा १ सय ७ सांसद छन्। प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्नेछन् ।

प्रदेश नं २ को प्रदेशसभाको सभामुखको निर्वाचन भने फागुन २ गते हुने भएको छ। सर्वदलीय बैठकले मस्यौदाको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरी सो मिति निर्धारण गरेको हो। संघीय संसद् सचिवालयका उपसचिव वंशीराज पौडेलले मस्यौदामा सामान्य संशोधन गरिएको बताउँदै सभामुखको निर्वाचनको तालिका २९ गते निर्धारण गरिने जानकारी दिए।

कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ।

बैठकले नियमावली मस्यौदा समिति गठन सम्बन्धमा विस्तृत छलफल गरी अर्को बैठकमा अन्तिम रुप दिने निर्णय गरेको छ।

त्यस्तै बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ।

प्रदेश ५
प्रदेश नम्बर ५ को पहिलो संसद बैठक दिउँसो १ बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने भएको छ। ज्येष्ठ सदस्य हिमबहादुर शाहीले बैठकको अध्यक्षता गर्दैछन् ।

संसद् भवनभित्र राजनीतिक दलका आधारमा कुर्सी व्यवस्थापन गरिएको छ। संसद सचिवालयको रुपमा प्रयोग गरिएको बुटवल उद्योग वाणिज्य संघको भवन परिसर समेत रङरोगन र टायल लगाएर आकर्षक बनाइएको छ। भवनबाहिर मिडिया सेन्टर निर्माण गरिएको छ। हलभित्र संसद्को कुर्सीपछाडि फलामे रेलिङ राखेर पत्रकार, पर्यवेक्षक र कर्मचारी राख्ने व्यवस्था गरिएको छ।

कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेकाले राष्ट्रिय पार्टीका स्थानीय नेतृत्वको सर्वदलीय बैठकले पहिलो बैठकका कार्यसूची तय गरेको छ। बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ। यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र माघ २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको छ। यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले बताए।

त्यसैगरी संसद्मा प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको नेतृत्वमा १५ जना आन्तरिक मर्यादापालक खटिएका छन्।

प्रदेश ५ मा प्रत्यक्ष र समानुपातिक गरी ८७ सांसद रहेका छन्। एमालेका ४१, कांग्रेसका १९, माओवादीका २०, संघीय समाजवादी फोरमाका ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद रहेका छन्।

प्रदेश ६
प्रदेश ६ को पहिलो बैठक दिउँसो १ बजे बस्दैछ। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन्।

बैठकको सुरुमा राष्ट्रियगान बजाउने, शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गर्ने र त्यसपछि प्रदेश प्रमुखले पठाएको बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। बैठकले मुख्यगरी संसद बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वक्ताहरुको विषयमा कार्यसूची तयार पारेको छ ।

प्रदेश ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ गरी ४० जना सांसद छन्।

प्रदेश ७
प्रदेश ७ को पहिलो संसद् बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्यश्वरीले शाहले गर्नेछिन्। यहाँ ५३ सांसदहरूका लागि ५४ कुर्सी राखिएका छन्। फ्लोरपछाडि स्टिलको पर्खालले बारिएको कक्षमा सञ्चारकर्मी लगायतका दर्शकका लागि ६० वटा कुर्सी राखिएको छ। सभाहलभित्र निलो कार्पेट बिछ्याइएको छ।

पहिलो अधिवेशनभन्दा केही समय पहिले नमुना बैठक सञ्चालन गरिने प्रदेश संसद सचिव महतले जानकारी दिए।

संसद अधिवेशनका लागि कार्यसूची शुक्रबार नै तय भइसकेको छ । ७ नम्बर प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा चार दलका सांसदको बैठकले पहिलो अधिवेशनको कार्यसूची तय गरेको हो।

आज १ बजे हुने पहिलो अधिवेशनको सुरुमा प्रदेश प्रमुख मोहनराज मल्लको प्रदेशसभा बैठक आह्वान सम्बन्धी सूचना ज्येष्ठ सदस्य शाहले पढेर सुनाउने कार्यक्रम छ।
त्यस्तै, दोस्रो प्रस्तावमा अधिवेशन सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि पास गरिनेछ। अधिवेशनमा दलका तर्फबाट एकएक जना सांसदले विशेष समय लिएर बोल्ने कार्यसूची पनि बनेको छ।

७ नम्बर प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ जना प्रदेश सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित