प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस



माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।

वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो ।

उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिनुभयो ।
उहाँले राससलाई भन्नुभयो, “अब दुई÷तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।” यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित हुनुभएको थियो ।

बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४सांसद छन् ।

प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ ।

त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली काँग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ । डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताउनुभयो । “पार्टीले सातवटै प्रदेशमा केन्द्रबाट नेता खटाएको छ ।” सांसद मल्लले भन्नुभयो, “छलफल गर्छौं र आवश्यताअनुसार निर्णय लिन्छौँ ।” प्रदेश नं ७ मा काँग्रेसबाट चार निर्वाचित र आठ समानुपातिक गरी १२ सांसद छन् ।

प्रदेश नं ७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टीले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउने छ । राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद रहनुभएका मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफूहरु निर्णय लिन छलफल गर्ने बताउनुभयो । त्रिपन्नजना सांसद रहेको प्रदेश नं ७ मा नेकपा (एमाले) का २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् ।

एमालेभित्र पनि लबिङ

प्रदेश नं ७ मा वाम गठबन्धनले मुख्यमन्त्री माओवादी केन्द्रलाई र सभामुख नेकपा ९एमाले०लाई दिने सहमति गरेसँगै प्रदेशसभामा बढी सांसद संख्या रहेको नेकपा ९एमाले० भित्र पनि सभामुख र संसदीय दलको नेताका लागि लबिङ हुन थालेको छ ।

एमालेभित्र अहिले कञ्चनपुरबाट निर्वाचित सांसद तारालामा तामाङ, बाजुराबाट निर्वाचित प्रकाश शाह र कैलालीबाट निर्वाचित दीर्घ सोडरी संसदीय दलको नेताका लागि दाबेदार देखिनुभएको छ ।

संसदीय दलको नेताका लागि आकांक्षी देखिनुभएका बाजुराका सांसद शाहले पार्टीको प्रदेश कमिटिको नेतृत्व सहमतीबाटै नेता छान्नेमा आफू आशावादी रहेको बताउनुभयो । आफू वरिष्ठ नेता भएका शाहले संसदीय दलमा आफ्नो दाबी रहेको जानकारी दिनुभयो । “पार्टीको प्रदेश कमिटीको नेतृत्वले विधि, प्रक्रिया तोडेर जाँदैन भन्नेमा छु ।” उहाँले भन्नुभयो, “सर्वसम्मतको प्रयास पनि हुन्छ ।”

एमालेभित्र डोटीका पूर्णा जोशी, डडेल्धुराका पठानसिंह बोहरा र बझाङका अर्जुन थापाको नाम पनि सभामुखको पदमा चर्चा छ ।

माघ २१ गते बिहान एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रदेश संयोजक भीम रावलको उपस्थिति रहने बैठकमा सभामुख, संसदीय दलको नेता र मन्त्रीहरूको छनोटको विषयले प्राथमिकता पाउनेछ ।

माओवादीभित्र भने उपसभामुखमा बझाङबाट प्रदेशसभामा निर्वाचित देवकी मल्ल र डडेल्धुराबाट समानुपातिक सांसद कुन्ती जोशीको चर्चा हुन थालेको छ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

माओवादीबाट उपसभामुखका आकांक्षी देवकी मल्लले आफूले उपसभामुखका लागि दाबी गरेको बताउनुभयो । “मैले त मुख्यमन्त्रीकै लागि दाबी गरेकी थिएँ ।” उहाँले भन्नुभयो, “अरु साथीहरु देखेपछि उपसभामुख नभए मन्त्रीका लागि आकांक्षा राखेकी छु ।” उहाँले पार्टी र प्रदेश संसदीय दलको बैठकमा उक्त विषयमा छलफल हुने बताउनुभयो ।

ज्येष्ठ सदस्य धनगढी आउँदै

प्रदेश नं ७ को आइतबार हुन लागेको पहिलो बैठक प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्नेछ । बैठकका लागि उहाँ शुक्रबार काठमाडौँबाट धनगढी आउँदै हुनुहुन्छ ।

ज्येष्ठ सदस्य शाहले आफू बैठकका लागि धनगढी आउन लागेको राससलाई जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभाकक्षमा हुने बैठकको तयारी दु्रत गतिमा भइरहेको प्रदेश नं ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो ।

“बैठकका लागि सभाकक्षमा तयारी हुँदैछ ।” उहाँले भन्नुभयो, “बैठक बस्नुअघि तयारी भइसक्ला ।” बैठकका लागि चार सदस्यीय संघीय संसद् सचिवालयबाट सहसचिव मुरारी महतको नेतृत्वमा एक टोली धनगढी आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्