बाघ गणनामा प्रयोगभएका ६७ क्यामेरा हराए, कोही हात्तीले झिकेर फुटाए कोही बाघले फुटाए



हाम्रो इकोनोमि

चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिको क्यामेरा हराएका छन् ।

बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु यसरी हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्तीले झिकेर फुटाउने गरेको तथा कतिपय क्यामेरा बाघले समेत लगेको पाइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । “कतिपय मानिसले के रहेछ भनेर नयाँ देखेर लाने गरेको पाइयो, कतिपय तस्करले पनि लगेको आशंका छ”–अर्यालले भन्नुभयो ।

पर्सा क्षेत्रको पहिलो ब्लकमा ३४ वटा क्यामेरा हराएको छ । यस्तै दोस्रो ब्लकमा राखिएका क्यामेरामध्ये २६ वटा क्यामरा हराएको र तेस्रो ब्लकमा राखिएका क्यामेरामध्ये सातवटा हराइसकेको छ । त्यसमा २५ वटा क्यामरा हात्तीले फुटाएको पाइएको छ । दुईवटा बाघले लगेको बताइएको छ । ४० वटा क्यामरा मानिसले लगेका छन् ।

त्योबाहेक मान्छेले लगेको तीनवटा क्यामरा फिर्ता आएको छ । चितवनको कंकालीमा हराएको एउटा क्यामेरा प्रहरीमार्फत फिर्ता आएको छ । बुधबारमात्रै रौतहटमा एउटा क्यामरा फेला परेको थियो ।

बस्ती नजिक क्यामेरा राखिएकाले बालबालिकाले खेलौना भनेर पनि ल्याएको, कतिपय स्थानीयले नयाँ कुरा देखेर पनि क्यामरा लगेको पाइएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । केही क्यामेरा तस्करले पनि लगेको अनुमान रहेको उहाँको भनाइ छ । कतिपय भने फिर्तासमेत आएको उहाँ बताउनुहुन्छ ।

दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटे बाघको गणना (अनुगमन) अन्तर्गत चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा ब्लक छुट्याएर अनुगमन भइरहेको छ ।

यहाँ करिब ६०० वटा क्यामरा प्रयोग भएका छन् । हराएका स्थानमा तत्कालै नयाँ क्यामरा राख्ने गरिएकाले गणनामा प्रभाव नपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका अनुसन्धान अधिकृत एवं बाघ अनुगमनको नक्साङ्कन हेर्दै आउनुभएका बाबुराम लामिछानेले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईका अनुसार अहिले चितवन–पर्सा कम्प्लेक्समा बाघको गणना अन्तिमतिर पुगेको छ ।

यसपटक सामुदायिक वन क्षेत्रमा समेत बाघ गणना भएकाले सर्वसाधारणको पहुँच हुने हुँदा क्यामेरा हराउने क्रम बढेको छ । अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको छ । मंसिर १४ गतेबाट बाघ गणना थालिएको थियो । यसअघि सन् २०१३ मा गणना भएको थियो । सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...