पाँचवटा प्रदेशमा प्रदेशसभा सदस्यहरुले खाए सपथ,६ र सातमा हुदै,कुन प्रदेशमा कसरी भयो सपथ ग्रहण?
पाँचवटा प्रदेशमा प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभामा निर्वाचित सदस्यहरुले आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरुमा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथग्रहण गराएका छन् भने ज्येष्ठ सदस्यलाई प्रदेशप्रमुखले शपथग्रहण गराएका छन् ।
प्रदेश नम्बर १
१ नम्बरमा प्रदेश प्रमुख गोविन्द सुब्बाले ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथग्रहण गराएका थिए । १ नम्बरका बाँकी ९८ प्रदेशसभा सदस्यलाई सरावगीले शपथग्रहण गराए ।
प्रदेश नम्बर २
दुई नम्बर प्रदेशमा भने भाषाको विवाद उत्पन्न भएको छ । प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा शपथ नलिने बताएपछि भाषा विवाद उत्पन्न भएको थियो ।
२ नम्बरमा प्रदेशसभाका १०७ सदस्यमध्ये ४७ जनाले मैथिली, २४ ले नेपाली, २५ ले भोजपुरी र ११ जनाले हिन्दी भाषामा शपथग्रहण गरेका छन् । उद्योग वाणिज्य संघ जनकपुरको हलमा भएको शपथग्रहण कार्यक्रममा प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराएका थिए । चौधरीले नेपाली भाषामा शपथग्रहण गरेका थिए ।
प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ मा प्रदेशप्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथग्रहण गराएकी थिइन्, पौडेलले बाँकी ९९ जनालाई शपथग्रहण गराए ।
प्रदेश नम्बर ४
चार नम्बरमा प्रदेशप्रमुखबाट ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले शपथग्रहण गरेका थिए । श्रेष्ठले बाँकी ५८ प्रदेशसभा सदस्यलाई शपथग्रहण गराए ।
प्रदेश नम्बर ५
पाँच नम्बर प्रदेशमा प्रदेशप्रमुख उमाकान्त झाले ज्येष्ठ सदस्य बलदेव शर्मालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शर्माबाट ८६ प्रदेशसभा सदस्यले शपथग्रहण गरे ।
प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ मा केहिबेरमा शपथग्रहण शुरु हुनेछ । प्रदेशप्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई शपथ खुवाएपछि शाहीले ३९ प्रदेशसभा सांसदलाई शपथग्रहण गराउने कार्यक्रम छ ।
प्रदेश नम्बर ७
सात नम्बर प्रदेशमा पनि शपथग्रहण हुन बाँकी नै छ । अपराह्न २ बजेका लागि शपथग्रहण कार्यक्रम तय गरिएको छ ।
सात नम्बर प्रदेशमा प्रदेशप्रमुख मोहनराज मल्ले ज्येष्ठ सदस्य दिव्यश्वरी शाहलाई शपथग्रहण गराउने छन् भने शाहले ५२ सदस्यलाई शपथ ग्रहण गराउने छिन् ।