सरकार निर्माणको बाटो नबनाएकोमा अध्यक्ष प्रचण्डको असन्तुष्टि



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले भन्नुभयो, “परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो ।”

अध्यक्ष प्रचण्डले कानूनी व्यवस्थाका कारण केही ढिलाइ भए तापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।

पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उहाँले पार्टी एकता संयोजन समितिको बैठक चाँडै बस्ने जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “कुनै समस्या परेर बैठक नभएको होइन ।”

नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेको विषयमा उहाँले भन्नुभयो, “मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।”

अध्यक्ष प्रचण्डले वाम गठबन्धन बनाएर निर्वाचनमा गएको बताउँदै “पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गयौँ, जनताको अनुमोदन त्यसैको निम्ति भएकाले मैले अहिले गठबन्धनभन्दा बाहिर जाने सोचेको छैन,” भन्नुभयो ।

पार्टी एकीकरण र शक्ति सन्तुलनका विषयमा उहाँले भन्नुभयो, “पार्टी संयोजन समितिमा दुईजना नेता रहने भनिएको छ तर दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, त्यही विषयलाई औपचारिक रुप दिनमात्र बाँकी छ ।”

प्रतिक्रिया दिनुहोस
चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...