पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेशमा रोक



हाम्रो इकोनोमि

तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ ।

आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली)देखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको गत असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णयअनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो ।

चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको हो । जसमा दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ ।

कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छ्रैन ।

काठमाडौँ महानगरपालिकास्थित वडा नं ८ गौशालामा बस्ने स्थानीय सुनील वैद्य सवारीसाधन निषेधित क्षेत्र घोषणा गरेर स्थानीयलाई समस्या परेको बताउनुभयो । “हामी यहिँ क्षेत्रका बासिन्दा हौँ, हामी जतिखेर पनि साधनमा आऊजाऊ गर्नुपर्ने हुन्छ, हामीलाई समस्या परेको छ”– उहाँले भन्नुभयो ।

मन्दिरमा लामो समयदेखि पूजा गर्दै आउनुभएका बेदप्रसाद दुलालले सवारीसाधनको प्रवेश रोकिएसँगै पूजालगायतका सामग्री भित्र लैजान अप्ठ्यारो पर्ने बताउनुभयो । वनकाली चौरबाट पशुपतिनाथको मन्दिरको दूरी ४०० मिटर टाढा छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले तीर्थयात्रीलाई आवागमन गर्न सहज होस् भन्ने उद्देश्यले कोषले महाशाखासँग छलफल गरेर सवारीसाधन प्रवेश निषेध क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।

“वार्षिक ९० लाखदेखि रु एक करोडको हाराहारीमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी तीर्थयात्रीले सहजरुपमा दर्शन गरुन् भन्ने उद्देश्य कोषको हो यसका लागि सवारी साधन निषेधित क्षेत्र बनाउन लागेका हौँ”– उहाँले भन्नुभयो ।

कोषका सदस्य–सचिव डा ढकालले पशुपति क्षेत्रभित्र घर भएका व्यक्तिलाई भने सवारी पासको व्यवस्था गरिएको जानकारी दिनुभयो । “अब मृतक र मलामीलाई चार शिवालयबाट नै वाग्मती नदीमा दाहसंस्कारका लागि लैजाने व्यवस्था मिलाउन लागेका छौँ”– उहाँले भन्नुभयो ।

पशुपति क्षेत्रभित्र सवारीसाधन प्रवेशमा रोक लगाउनका लागि महाशाखाले १८ र कोषले १५ सुरक्षाकर्मी खटाएको छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पवित्र उद्देश्यले पशुपतिनाथको दर्शन गर्न आउने स्वदेशी तथा विदेशी तीर्थयात्रु सहजरुपमा दर्शन गरेर फर्किने वातावरण प्रदान गर्नका लागि उक्त अभियान शुरु गरिएको उल्लेख गर्नुभयो ।

“ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका रुपमा रहेको हाम्रो सम्पत्तिको संरक्षण गरी धेरैभन्दा धेरै तीर्थयात्रु भित्र्याउने लक्ष्यअनुसार हामीले सवारी साधनलाई व्यवस्थित गर्न लागेका हौँ”– उहाँले भन्नुभयो ।

ट्राफिक व्यवस्थापन सहज भएपछि तीर्थयात्रीको आवागमनमा समेत सहज हुने महाशाखाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...