एमालेलाई देखाई दिने भन्दै देउवाले यसरी तोक्दैछन प्रदेश प्रमुख र प्रदेशको राजधानी,देउवाले नियुक्त गर्न खोजेका यी हुन् प्रदेश प्रमुख



हाम्रो इकोनोमि

प्राविधिकभन्दा राजनीतिक स्वार्थ हावी हुँदा प्रदेश प्रमुख र प्रदेशको सदरमुकाम तोक्न ढिलाइ भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २५ मंसिरमा प्रदेश प्रमुख र सदरमुकाम तोक्ने तयारी गरे पनि निर्वाचनपछि वाम गठबन्धनले सरकारलाई प्रदेश प्रमुख नतोक्न दबाब दिइरहेको छ।

प्रधानमन्त्री देउवा प्रदेश मुकाम मात्रै तोकेर अपजस लिने मुडमा छैनन्, उनी जाँदाजाँदै आफूअनुकूलका प्रदेश प्रमुख नियुक्त गर्ने रणनीतिमा छन्। तर, वाम गठबन्धन नयाँ बन्ने सरकारले नै प्रदेश प्रमुख तोक्ने बताउँदै आएको छ।

सरकारले अटेर गरी प्रदेश प्रमुख नियुक्त गरेमा प्रदेश सभा सदस्यले शपथ ग्रहण नै नगर्नेसम्मको चेतावनी एमाले अध्यक्ष केपी ओलीले दिएका छन्। आफ्नो सरकार बनेपछि अनुकूलका व्यक्ति नियुक्त गर्ने वाम गठबन्धनको स्वाभाविक इच्छा रहेको छ।

वाम गठबन्धनले विरोध गरे पनि सरकार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा छ। प्रधानमन्त्री देउवाको सचिवालयले बढीमा १० पुसभित्र नियुक्त गर्ने अन्तिम गृहकार्य भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए।

अस्थायी मुकाम तोक्नुपूर्व सरकारले विभिन्न संभावित क्षेत्रहरुको अध्ययन गरेको थियो। सरकारले एउटा प्रदेशका लागि दुइ वा त्यो भन्दा बढी क्षेत्र प्रस्ताव गरेको थियो। तर निर्वाचन लगत्तै ती क्षेत्रबाट स्थानीय दलका प्रतिनिधीले आफ्नो क्षेत्रलाई प्रदेशको अस्थायी मुकाम तोक्न दवाव दिइरहेको बालुवाटार स्रोतले जनाएको छ।

जस्तै प्रदेश नं ५ का लागि बुटवललाई राजधानी घोषणा गर्न दवाव परेको छ । त्यस्तै, दाङका दलका नेता कार्यकर्ताले घोराही र तुल्सीपुरलाई प्रदेश ५ को राजधानी घोषणा गर्न दवाव दिएका छन्। यस्तै प्रदेश नं ३ को राजधानी ललितपुर र भत्तपुरलाई बनाउन छुट्टा छुट्टै लविङ भइरहेका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रदेश नं ४ बाहेक हरेक प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्नेबारे विवाद छ। यस्ता विषयले पनि सरकारलाई मुकाम तोक्न असजिलो भएको छ।

सरकारले प्रदेशको राजधानी तोक्न सकिने सबै सम्भावित क्षेत्रमा प्रदेश कार्यालय रहने भवनहरुको अध्ययन भएको जनाएको छ। तर अधिकाशं त्यस्ता ठाउँमा प्रयोग भइरहेका भवनहरुलाई प्रस्ताव गरिएको छ। त्यस्ता भवनबाट प्रदेश कार्यालय संचालन गर्न मुस्कील छ।

को–को छन्, प्रदेश प्रमुखका आकांक्षी?

सरकारले मुख्य गरि प्रदेश प्रमुखका लागि गृहकार्य गर्दा प्रदेश मुकाम तोक्न ढिलाइ भएको बताएको छ। अहिले सरकारले प्रदेश प्रमुखका लागि गृहकार्य गरिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिको मन्त्रिपरिषद बैठकमा राजनीतिक पृष्ठभूमी नभएका, समाजका प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुत्त गरिने बताएका थिए।

स्रोतका अनुसार सरकारले एक प्रदेशका लागि कम्तिमा ३ जनाको नाममा छलफल गरिरहेको छ। तर कसैको नाम पनि टुंगो नलागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रदेश प्रमुख बन्नका लागि पूर्व प्रशासक र विषय विज्ञहरुको नाम छलफलमा छ। त्यसमध्ये केही पूर्व प्रशासकहरुले भने प्रदेश प्रमुख बनाइदिन लविङ गरिरहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।

प्रदेश प्रमुखका लागि अहिलेसम्म छलफलमा रहेका पूर्व प्रशासक र विषय विज्ञहरुमा शिक्षा विद् केदारभत्त माथेमा, पूर्व प्रमुख निर्वाचन आयुत्त भोजराज पोखरेल, पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुत्त दोलखबहादुर गुरुङ रहेका छन् ।

यस्तै पूर्व सचिव तथा पूर्व मन्त्री विद्याधर मल्लिक, पूर्व मुख्य सचिवहरु दामोदर गौतम, भोजराज घिमिरे, तिर्थमान शाक्य, विमल कोइराला छन्। यस्तै पूर्व सचिवहरु माधव रेग्मी, शान्ताराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, विश्वप्रकाश पण्डित, कृष्ण ज्ञवाली, भोला सिवाकोटीले पनि आफुलाई प्रदेश प्रमुख बनाउन लविङ गरेको स्रोतको दावी छ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...