सत्ता नछोडी बाम गठबन्धनलाई धुजा-धुजा पार्ने यस्तो छ देउवाको दाउ,आरजुलाई पार्टीमा हाबी गराऊन र प्रचण्डलाई सत्तामा पुर्याउन यसरी लगाऊदैछन् खराउ



प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नराम्रो हारसँगै आन्तरिक दबाब बढेपछि त्यसलाई सामना गर्न र आफ्नो ‘खास मकसद’ पूरा गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वाम गठबन्धनभित्रको अन्र्तविरोधमा खेल्न सुरु गरेका छन्।

देउवाले आफ्नो विश्वास पात्र मन्त्री तथा काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवलाई ‘नेपाली कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको’ अभिव्यक्ति दिन लगाएर यसको प्रारम्भ गरेका हुन्।

औपचारिक रुपमा सभापित शेर बहादुर देउवाको नेतृत्वमा भनिएपनि आन्तरिक रुपमा देउवापत्नी आरजु राणा देउवाको नेतृत्वमा रहेको ७ जनाको ‘किचन क्याविनेट’ ले निर्वाचनमा कांग्रेसलाई परिचालन गरेको थियो। जसको परिणाम राम्रो नआएको मात्र होइन, स्वंय आरजुसहित डेढ दर्जन प्रभावशाली नेताकै पराजय भयो।

यो पराजयसँगै कांग्रेसभित्र देउवा विरुद्ध असन्तुष्टि बढ्दै गएको छ भने उनीमाथि पत्नी आरजुलाई ‘शक्ति हस्तान्तरण गर्न खोजेको’ आरोप लगाउने नेताहरूको संख्या पनि बढेको छ।

निर्वाचण परिणामपछि त्यसको प्रभाव सतहमा देखिन थालेको छ। प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले २३ सिटमा खुम्चिनुका पछाडि देउवाको कमजोरी रहेको आरोप युवा नेताहरूबाट खुलेर लाग्न थालेको छ। रामचन्द्र पौडेल समूहका विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौला समूहका गगन थापा जस्ता युवा नेताहरूले प्रत्यक्ष र परोक्ष किसिमले ‘नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन’ को माग गर्न थालेका छन्।

हुन त कांग्रेसभित्र संघर्षको यस्तो छनक चुनावअघि नै देखिइसकेको थियो। देउवा, पौडेल, डा. रामशरण महत र शंशाक कोइरालाले स्वंयलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए। बिबिसि नेपालीसँगको अन्र्तर्वार्तामा शशांक कोइरालाले पार्टी नेतृत्वका लागि समेत आफु योग्य रहेको बताएका थिए।

तर समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो स्थान हासिल गरेको एमालेसँग ४५ हजार १०५ मतको अन्तरले कांग्रेस समकक्षमा उभिन आइपुग्यो। समानुपातिकतर्फको मतपरिणामसँगै देउवा बिस्तारै सम्हालिँदै गइरहेका मात्र छैनन्, अब दलभित्रका विरोधी स्वर मत्थर पार्नपनि उनी सहज ठान्न थालेका देखिन्छन्।

आइतबार आएको समानुपातिक निर्वाचन प्रणालीको अन्तिम मतपरिणाममा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको छ। यदि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भैदिएन भने २७५ सदस्य संख्या रहने प्रतिनिधिसभामा कांग्रेसले पाएको ६३ (प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४०) सिटले सत्ता समीकरणमा निर्णायक भूमिका खेल्न सक्ने विश्लेषणसहित देउवाले रणनीति बनाइरहेको देखिन्छ।

पार्टी सत्ता आरजुलाई?
आन्तरिक रुपमा देउवामाथि जति नै चुनौती बढेपनि कांग्रेसमा तत्काल नेतृत्व परिवर्तन नहुने कुरामा धेरै नेताहरु विश्वस्त देखिन्छन्। तर १४औं महाधिवेशनसम्ममा १७ साले पुस्ता (रामचन्द्र पौडेल, शेरबहादुर देउवा, अर्जुन नरसिंह केसी, प्रदिप गिरी) पाखा लाग्दै जाने र २७ देखि ३६ साले पुस्ता (डा रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत, विलेन्द्र निधि, विजय गच्छदार) ले नेतृत्व दावी गर्ने धेरैको स्वीकारोक्ति छ।

त्यसपछि २०४६ मा उदाएका बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा र २०६२/६३ बाट उदाएका गगन थापा, प्रदिप पौडेल जस्ता पुस्ताहरु प्रभावी हुँदै जाने देखिन्छ। अर्को ३ वर्षपछि हुने महाधिवेशनसम्म देउवा ७४ वर्ष पुगिसकेका हुनेछन्। रामचन्द्र पौडेल ७६ वर्षका हुनेछन्। सिटौलाले ७१ वर्षमा पाइला टेक्नेछन्। त्यसैले १४औं महाधिवेशन अगाडि नै देउवा पत्नी आरजुलाई पार्टी वा सरकारको नेतृत्वमा पुगेको हेर्न चाहन्छन्।

५५ वर्षीय आरजु ७१ वर्षीय देउवाभन्दा १६ वर्ष कान्छि छिन्, जसलाई पहिला पार्टी र त्यसपछि सरकारमा स्थापित गर्न देउवा केही वर्षदेखि लागिरहेका छन्। आरजुलाई पार्टी उपसभापति र प्रधानमन्त्रीको उम्मेदवारका रुपमा तयार गर्ने रणनीति अन्तर्गत नै देउवाले २०७० को चुनावमा आफुले जितेको क्षेत्र कैलालीमा उम्मेदवार बनाएको धेरै कांग्रेस नेताहरूको विश्वास छ।

विमलेन्द्र निधिका विश्वास पात्रहरू त के सम्म भन्छन् भने, आरजुलाई स्थापित गर्नकै लागि १३औं महाधिवेशनमा आफुलाई मत माग्दै हिंडेका उपसभापति पदका प्रमुख आकांक्षी विमलेन्द्र निधिलाई धनुषाबाट हराउन देउवाको समेत भूमिका रहेको छ।

तर देउवाको दुर्भाग्य के भयो भने जतिसुकै प्रयास गर्दा पनि आरजुले चुनाव जित्न सकिनन्। र उनका किचन क्याविनेटका प्रभावशाली नेताहरुले नै यो निर्वाचनमा पराजय ब्यहोर्नु पर्यो। ज्ञानेन्द्र बहादुर कार्की बाहेक देउवा निकटका अन्य सबैले चुनावमा हारे। देउवाका विश्वासपात्र बालकृष्ण खाँड चाहिं समानुपातिकबाट प्रतिनिधिसभामा उक्लने पर्खाइमा छन्।

पार्टीमा देउवाका प्रतिद्वन्द्वी रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र रामशरण महत जस्ता नेता प्रतिनिधिसभामा आउन नसकेपनि कोइराला परिवारको विरासत ठानिएका शशांक कोइरालाले चुनाव जितेर आएका छन्। संभवतः देउवाका निम्ति कोइराला नै अबका मुख्य चुनौती हुन्।

कांग्रेसमा अबको राजनीति शशांक कोइराला (६० वर्ष), प्रकाशमान सिंह (६० वर्ष), विमलेन्द्र निधि (६१ वर्ष) हरुको हातमा जान थालेको हुनाले आरजुले चुनाव हारेपनि देउवाले जतिसक्दो चाँडो आफ्नो शक्ति उनलाई हस्तान्तरण गर्दै जानेछन् भन्ने विश्लेषण भइरहेको छ।

आफ्नो पार्टीभित्रको शक्ति संघर्षमा पनि देउवाका लागि प्रचण्ड सबैभन्दा भरपर्दो पात्र हुनसक्ने विश्लेषण गरिन्छ। स्थानीय निर्वाचनमा दलभित्र सल्लाह नगरिकनै भरतपुर महानगरपालिकाको मेयर पदमा उठेकी रेणु दाहाललाई जिताउन देउवाले जसरी पार्टी नेतृत्वलाई चितवनमा होमेका थिए, श्रीमती आरजुका लागि देउवाले प्रचण्डबाट त्यस्तै सहयोगको अपेक्षा राखेको बताइन्छ। त्यसका निम्ति पहिला वामगठबन्धनलाई कमजोर बनाउने खेलमा देउवा लागिरहेको केहीको बुझाई छ।

प्रचण्ड फेरी केन्द्रमा
समानुपातिक परिणामपछि पार्टीमा बलियो भएका देउवाले प्रचण्डलाई विभिन्न तरिकाले प्रधानमन्त्री पदका लागि आमन्त्रण गरिरहेका छन्। आफ्नो बौद्धिक संयन्त्रलाई सत्ता समीकरणको अंकगणितमाथि बोल्न लगाइरहेका छन्। त्यसले दुई वटा काम गर्ने उनको विश्लेषण हुनसक्छ। पहिलो, दलभित्रको आन्तरिक खिचातानी र विरोधी आवाजलाई मत्थर पार्ने र दोस्रो, एमालेका अध्यक्ष केपी ओली र प्रचण्डबीच भ्रम र अविश्वास श्रृजना गरि दुरी बढाइदिने।

वामगठबन्धनका कारण एमालेको पक्षमा उत्साहजनक चुनावी परिणाम आउनासाथ ओलीले घरमै मिडिया बोलाएर ‘पहिला सरकार बन्ने र त्यसपछि मात्र पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने, अनि महाधिवेशनले मात्र नेतृत्व छान्ने’ बताउन थालेका थिए। आफुले मात्र होइन, ओलीले एमाले महासचिव ईश्वर पोखरेलमार्फत समेत निरन्तर यस्तो भनाइ दोहोर्याइरहेका थिए। यसले माओवादीका नेताहरुलाई झस्काएको थियो।

प्रचण्डले माओवादीभित्र ‘सरकार निर्माण र पार्टी एकिकरण सँगसँगै जाने र ओली प्रधानमन्त्री बने आफु एकीकृत दलको संयोजक हुने जेन्टलमेन्ट एग्रिमेन्ट भएको’ भन्दै वामगठबन्धनबारे आश्वस्त पारेका थिए। प्रचण्ड नजिकका माओवादी नेता वर्षमान पुनले एमालेसँग प्रधानमन्त्री एउटा पार्टी र पार्टी अध्यक्ष अर्को पार्टीको बन्ने समझदारी भएको दोहोर्याएर प्रचण्डको भनाइलाई थप पुष्टी गर्न खोजेका छन्।

चुनाव लगत्तै पार्टी एकताबारे एमालेको ‘नियोजित स्टेटमेन्ट’ आउन थालेपछि देउवा त्यसैमा खेल्न खोजेको देखिन्छ।

यसअघि ओलीले प्रचण्डसँग भएको ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ तोडेपछि प्रचण्ड नेपाली कांग्रेससँग मिल्न आएको नजीरलाई देउवा यसपालि पनि प्रयोग गर्ने प्रयासमा छन्। यसमा केही हदसम्म उनी सफल पनि देखिन्छन्। शुक्रबार ओलीसँग भेटेपछि प्रचण्डले शनिबार बिहानै प्रधानमन्त्री निवास पुगेर देउवासँग भेटेका थिए। त्यसलगत्तै ओलीले आफ्नो निवासमा सञ्चारकर्मीहरूलाई बोलाएर देउवा र कांग्रेसविरुद्ध आक्रमक अभिव्यक्ति दिए।

केहीको भनाइमा देउवाले सरकार लम्ब्याउँदै प्रचण्डलाई प्रधानमन्त्रीको लोभ देखाउन थालेपछि गठबन्धनमा खेल्न खोजेको बुझेर ओली आक्रोशित भएका हुन्। शायद त्यसैले हुनसक्छ, गुदी कुरा केही नभएपनि आइतबार दिउँसो होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी वामगठबन्धनका यी दुई प्रमुख नेताले ‘हामी एक छौं र चलखेल नगर’ भन्ने सन्देश दिन खोजेका छन्। संयोग कस्तो भएको छ भने शनिबारदेखि ओली र महासचिव पोखरेलले पार्टी एकता र जिम्मेवारी बाँडफाँटबारे कडा भाषा प्रयोग गर्न छाडेका छन्।

राजनीतिक कोर्ष घुमिफिरि चुनाव अघिकै अवस्थामा फर्किन पनि सक्छ, यदि एमाले र माओवादीबीच तत्काल पार्टी एकता प्रक्रिया अगाडि बढेन भने। अहिले पनि बल प्रचण्डकै कोर्टमा पुगेको छ। प्रचण्डका लागि एकातर्फ स–सम्मान माओवादी केन्द्रलाई एमालेसँग मिलाउने चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाट आएको प्रधानमन्त्री पदको अफरको अवसर। अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रक्षेपण प्रचण्डले लिने निर्णयमै आधारित हुने नेपाल खबरले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने