पार्टी एकता पछी ओली र प्रचण्ड दुवै सह-अध्यक्ष हुने,ओलीलाई चित्त दुख्ने गरी प्रचण्डले केही कदम नचाल्ने



एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्ने विषय निकै पेचिलो बन्ने भएपछि एमाले–माओवादी केन्द्रका नेताहरुले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि दिइने नयाँ पद र जिम्मेवारीको विषयमा विमर्श सुरु गरेका छन्।

निर्वाचनपछि सरकार प्रमुख ओली र पार्टी एकतापछि पार्टी प्रमुख प्रचण्ड बन्ने भद्र सहमति भएपनि एमालेका केही नेताहरुले अध्यक्ष पनि ओलीलाई नै बनाउने अभिव्यक्ति दिन थालेपछि पार्टी एकता भाँडिन नदिन नयाँ विकल्पको खोजी सुरु भएको हो।

निर्वाचनपछि ओली प्रधानमन्त्री हुने र राष्ट्रपति पनि एमालेबाटै हुने एमाले–माओवादी केन्द्रबीच मोटामोटी सहमति छ। यसै अनुसार प्रचण्ड आफैले पनि निर्वाचनपछि ओली नै प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन्।

तर, एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकतापछि पनि ओली नै पार्टी अध्यक्ष, संसदीय दलको नेता र पार्टी प्रमुख बन्ने अभिव्यक्ति दिएपछि माओवादी पंक्तिभित्र तरङ्ग पैदा भएको छ। सबै प्रमुख कार्यकारी पद ओलीलाई सुम्पिएर पार्टी एकता गर्न नहुने मत माओवादी केन्द्रभित्र बलियो बन्दै गएको छ।

प्रचण्डसँगैका कैयौं कार्यक्रमहरुमा ओलीले अध्यक्ष पदका लागि पार्टी एकता नगरिएको बताउँदै आएका छन्। उनले भन्ने गरेका छन, ‘हामी दुबै आआफ्नो पार्टीका अध्यक्ष छँदै छौं, अध्यक्षकै लागि एकता गर्न लागिएको हो भने त, किन पार्टी एकता गर्नुपर्‍यो?’

यसको अर्थ के हो भने, आफैले मुख नखोलेपनि सरकार प्रमुखमात्र होइन, पार्टी प्रमुख पनि आफै बन्न चाहन्छन्। १७ असोजमा एकताका लागि तयार पारिएको घोषणापत्रमा राखिएको ‘कार्यकारी प्रमुख’ सम्बन्धी प्रावधान ओलीकै निर्देशनमा हटाइनुबाट पनि यो कुरा पुष्टि हुन्छ।

स्रोतका अनुसार एकता घोषणा पत्रमा एमाले–माओवादी केन्द्रको नेतृत्वले दुवै पार्टीका अध्यक्ष नयाँ पार्टीको कार्यकारी प्रमुख हुने सहमति गरेको थियो। त्यसै बमोजिम एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका जनार्दन शर्मालाई घोषणापत्र सम्बन्धी मस्यौदा तयार गर्न लगाइयो।

तर त्यो बुँदालाई अन्तिममा हटाउन लगाइयो। आफ्नै विश्वासपात्र शर्मालाई पार्टीको तर्फबाट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा दिएपनि त्यो बुँदा हटाइएको कुरा प्रचण्डले समेत थाहा पाएनन्। खासमा ओलीले नराख्नु भनेपछि पौडेल र शर्माले त्यो बुँदा हटाएका थिए।

खासमा एकता घोषणाा पूर्व नै चुनावपछि ओलीलाई सरकार प्रमुख र एकतापछि प्रचण्डलाई पार्टी प्रमुखको जिम्मेवारी दिने भद्र सहमति एकताका लागि खटिएका नेताहरुले गरेका थिए। सबै जिम्मेवारी ओलीलाई दिँदा एकता सार्थक नहुने निष्कर्षका साथ यस्तो भद्र सहमति गरिएको थियो।

स्रोतका भनाईमा, चुनावी परिणाम वामएकताको पक्षमा आउनु, ओलीको स्वास्थ्य आदिका कारण प्रचण्ड आफैंचाहिँ ओलीको चित्त दुख्ने गरी अध्यक्ष बन्ने पक्षमा छैनन्। माओवादी पंक्तिले चाहिँ सबै कार्यकारी ओलीलाई सुम्पिँदा सम्मानजनक एकता हुननसक्ने बताउन थालिसकेको छ।

यो पंक्तिमा एमालेका केही नेताहरु पनि मिसिएका छन्। त्यसैले, एकतापछि पनि ओली प्रधानमन्त्री र संसदीय दलको नेता हुने तर, पार्टी एकता हुँदा दुबै नेताको व्यवस्थापन हुने गरी पार्टीभित्र दुई सहअध्यक्षको प्रावधान राख्ने गरी कुराकानीको सुरुवात हुन थालेको छ।

‘यस विषयमा एकाध नेताहरुले कुराकानी सुरु गरेका मात्र छन्, कुनैपनि बैठकमा कुराकानी भैसकेको छैन,’ स्रोतले भन्यो, ‘यसो गर्दा ओली प्रधानमन्त्री नै रहनुहुन्छ, पार्टीभित्र पनि उहाँ कसैको तल बस्नु पर्दैन, प्रचण्डपनि ओली समानकै नेताको रुपमा रहनुहुन्छ।’

खासमा यो एकता महाधिवेशनसम्मका लागि खोजिएको उपायमात्र हो। यसो गर्दा दुबै नेता कार्यकारी भूमिकामा पनि रहनेछन्। किनभने, प्रधानमन्त्रीका रुपमा ओली सरकारको कार्यकारी भूमिकामा रहन्छन् भने प्रचण्ड चाहिँ पार्टीको कार्यकारी भूमिकामा।

सहअध्यक्ष मात्र राखेर पार्टी एकता गर्ने अभ्यास नेपालका अन्य दलले पनि गरिसकेका छन्। स्थानीय तह निर्वाचनपछि एकता गरेका विवेकशील दल र साझा पार्टीलेपनि अध्यक्ष नराखी रवीन्द्र मिश्र र उज्वल थापालाई सहसंयोजक बनाएर एकता गरेका थिए।

एउटै पार्टीमा दुईवटा अध्यक्ष हुन सक्दैनन् तर दुईजना सहअध्यक्ष चाहिँ रहन सक्छन्। त्यसैले नेतृत्व सम्बन्धमा यही मध्यमार्गी उपायमा सहमति जुटाएर पार्टी एकता हुने सम्भावना ज्यादा छ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा