केरुङ–रसुवा मार्गभन्दा नजिक पर्ने यस्तो कारण देखाउदै ओलाङचुङगोला आर्थिक करिडोरलाई संचालन गर्ने र भारत, भुटान, बंगलादेश जोड्ने यस्तो छ योगेश भट्टराईको योजना



हाम्रो इकोनोमि

ताप्लेजुङबाट भर्खरै प्रतिनिधिसभामा निर्वाचित एमालेका युवा नेता योगेश भट्टराईले ओलाङचुङगोला आर्थिक करिडोरलाई आफुले प्रथामिकतामा राखेको बताएका छन्।

वामगठबन्धनबाट ताप्लेजुङमा उम्मेदवार हुँदा पनि ओलाङचुङगोलाबाट चीन–भारत जोड्ने करिडोरलाई प्रमुख मुद्दाका रुपमा उठाएका भट्टराईले निर्वाचित भएपछि यसैमा जोड दिएका हुन्।

भट्टराईले ओलाङचुङगोला भारत, चीन र नेपाल जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग हुने भन्दै यसबाट म्यानमार हुँदै पूर्वी एसियासम्म पुग्न सकिने तर्क गर्दै आएका छन्।

‘ओलाङचुङगोलाको नजिकै उत्तरतिर तिब्बतको सिगात्सेसम्म चीनको रेल आइसकेको छ, त्यसैले यो मार्ग खोल्न छिटो र सहज पनि हुन्छ’, ताप्लेजुङबाट निर्वाचित भएपछि भट्टराईले भने, ‘केरुङ–रसुवा मार्गभन्दा यो नजिक पर्छ, दक्षिणमा भारत, भुटान, बंगलादेश केही सय किलोमिटरको दुरीमै छन्।’

एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने वाम सरकारका सम्भावित मन्त्रीका रुपमा हेरिएका भट्टराईले नयाँ सरकारले यो मार्गलाई प्राथमिकतामा राख्नु पर्ने बताए। उनले भने, ‘दक्षिण एसियामात्र होइन, म्यानमार लगायतका पूर्वि एसियाली देशहरु जोड्न पनि यो मार्ग एउटा राम्रो विकल्प हुनसक्छ।’

ताप्जेजुङको वालुङ समाजले आफ्नै पहलमा बनाएको तिप्तला भन्ज्याङदेखि किमाथांका जोड्ने बाटो विस्तार गरी भारतीय राज्य पश्चिम बंगाल तथा चीनको तिब्बतबीच ब्यापारिक मार्ग बनाउने लक्ष्य रहेको भट्टराईले जनाए।

ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि ओलाङचुङगोला पुग्ने ६२ किलोमिटर सडकमा ३७ किलोमिटर बाँकी सडकको ट्रयाक पनि चाँडो खोलेर उत्तरी नाका संचालन गर्ने लक्ष्य भट्टराईले राखेका छन्।

संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित एमालेका अर्का नेता राजेन्द्र गौतमले पनि अन्तर्राष्ट्रिय ब्यापार विस्तार गर्न नेपालले उत्तरी नाका संचालन गर्नु पर्ने बताउँदै आएका छन्।

भट्टराई जस्तै गौतमले पनि किमाथांका नाकाको संचालन आफ्नो मुख्य चुनावी मुद्दा बनाएका थिए। बिराटनगगर–किमाथांका मार्ग ३७६ किलोमिटर मात्र छ।

संखुवासभाको सदरमुकाम खाँदवारीबाट किमाथांका हिंडेर पुग्न सात दिन लाग्छ तर सडक मार्गले जोडेपछि एकै दिनमा पुगिने बताँउदै गौतमले त्यसका लागि पहल सुरु गरेको बताए।

‘१६२ किलोमिटर लामो खाँदबारी–किमाथांक सडक जोड्ने ट्रयाक खोल्न ४० किलोमिटर मात्रै बाँकी छ’, गौतमले टेलिफोन सम्पर्कमा भने, ‘खोलिएको ट्रयाकलाई कालोपत्रे गर्न र चार लेनको बनाएर व्यस्त उत्तरी नाका खोल्न पहल भइरहेको छ।’

पहिले सदरमुकाममा रहेको भन्सार नाका अहिले किमाथांकामा पुगिसकेको जनाउँदै राष्ट्रिय प्राथामिकताको सडक भएकाले त्यो नाका चाँडै खुल्ने गौतमले आश्वस्त पार्न खोजे।

किमाथांका भारत, चीन र नेपालबीच त्रिपक्षीय ब्यापार र पर्यटनका लागि अर्को करिडोर हुनसक्ने जनाउँदै गौतमले थपे, ‘चीनबाट भारतको बिहार राज्यसम्म पानी जहाजबाट सामान पुग्न झण्डै एक महिना लाग्छ, तर किमाथांका खोल्ने हो भने त्यो एक हप्तामै संभव हुनेछ।’

नेपाल र चीनबीच पारबहन र बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता भैसकेकाले नाका खोल्न सहज हुने गौतमको विश्वास छ।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...