दुई कम्युनिष्ट मिल्दा अन्तर्राष्ट्रियरुपमा तरंगः अध्यक्ष दाहाल



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताउनुभएको छ ।

‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताउनुभयो ।

“जनयुद्ध शुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नआएका बताउँदै उहाँले यो विचित्रको कुरा भएको छ” भन्नुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट मिल्दा एउटा जनमत उत्साहित भएको छ, अर्को पक्ष विचलित जस्तो नकारात्मक तरंग देख्छु ।”

उहाँले अगाडि थप्नुभयो “एकातिर कम्युनिष्ट तानाशाही आउँछ भनिएको छ, अर्कोतिर तिनै साथीले कम्युनिष्ट एकता हुनै सक्दैन, भए पनि टिक्दैन चुनावपछि भाँडभैलो हुन्छ भनिरहेका छन् ।” पार्टी एकतामा शंका नगर्न आग्रह गर्दै दाहालले भन्नुभयो “अब एकतालाई कसैले रोकेर रोकिँदैन ।” जस्तोसुकै तरंग आए पनि नेपालमा वामपन्थीको सरकार आउने र त्यसलाई राष्ट्रलाई समाजवादतर्फ लैजाने उहाँको भनाइ थियो ।

बिपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिष्ट एकता देखेर खुशी हुने बताउँदै दाहालले पार्टी एक हुँदा राष्ट्रलाई फाइदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताउनुभयो । विभाजित काँग्रेस पनि एक हुँदा राम्रो हुने बताउँदै दाहालले भन्नुभयो– “विभाजित काँग्रेस पनि सबै एकै ठाउँमा आउन जरुरी छ ।”

अहिलेको काँग्रेस बिपीको समाजवाद र गिरिजाप्रसादको गणतन्त्रको लाइनबाट थोरै विक्षिप्त भएको दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “बिपीको समाजवाद र गिरिजाको गणतन्त्रको लाइनबाट काँग्रेस विचलित भएकाले उहाँहरुले गल्ती गर्नुभयो भन्ने मेरो आरोप छ ।”

राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्ने भन्दै दाहालले भन्नुभयो– “यति धेरै गाली नगर्नुहोस्, भोलि पनि मिल्नुपर्छ, त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस् ।”

भोलि देशमा अलकादवादी, विखण्डनवादी धार आयोभने काँग्रेससँग मिलेर लड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “काँग्रेस पनि देश टुक्रियोस् भन्ने चाहनुहुन्न, त्यतिबेला राष्ट्रको एकता र स्वाधीनताका लागि लड्नुपर्छ ।”

चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका दाहालले राजनीतिक अनैतिकताको एउटा प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यो लडाइँमा सत्यको विजय अवश्य हुन्छ ।”

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...