वाम गठबन्धनले यसरी मिलायो टिकट भागबन्डा,झापा ३ मा राप्रपाले पाउने,अन्यत्र कहाँ कसको उम्मेदवारी?



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रले टिकट बाँडफाँटको विवाद मिलाएका छन्। दुवै दलले केही निर्वाचन क्षेत्रबाहेक अन्यमा उम्मेदवारको पनि टुंगो लगाएका छन्।

प्रतिनिधिसभाका कूल १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ९७ र माओवादी केन्द्रले ६१ क्षेत्र बाँडफाँट गरेका छन्। सूर्य चिह्नबाट लड्ने तीन स्वतन्त्र, राप्रपा र राष्ट्रिय जनमोर्चा गरी सात सिटमा अन्य दलका उम्मेदवार रहनेछन्।

पहिलो चरणको निर्वाचनमा एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा उम्मेदवारी दिएका छन्। अब दोस्रो चरणमा एमालेका ७६ र माओवादी केन्द्रका ४५ उम्मेदवार प्रतिनिधिसभा तर्फ प्रतिस्पर्धामा रहनेछन्।

६०/४० को भागबन्डा अनुसार दुई दलले उम्मेदवार बाँडफाँट मिलाएका हुन्।

यसरी मिल्यो विवाद
वाम गठबन्धनमा झापा, सुनसरी, चितवन, सल्यान र उदयपुरका केही क्षेत्रमा टिकट विवाद थियो। एमाले उपाध्यक्ष बामदेव गौतम निवास भैसेपाटीमा बसेको मंगलबारको बैठकले निर्वाचन क्षेत्र विवाद मिलाएको हो।

गठबन्धनले झापामा एक क्षेत्र माओवादीलाई दिने सहमति गरेको छ। झापा १ मा माओवादी नेता तथा पूर्व सञ्चारमन्त्री राम कार्कीको उम्मेदवारी करिव निश्चित छ। यस्तै, झापा ३ बाहेकका अन्य तीन क्षेत्रमा एमालेले उम्मेदवार दिनेछ। झापा ३ मा वाम गठबन्धनले राप्रपा उम्मेदवारलाई सहयोग गर्नेछ। अन्य क्षेत्रमा राप्रपाले वाम गठबन्धनलाई सहयोग गर्नेछ। झापा ४ मा एमालेमा एलपी साँवा र ५ बाट अध्यक्ष केपी शर्मा ओली चुनाव लड्दैछन्। झापामा निर्वाचन क्षेत्र पाएपछि माओवादीले उदयपुरको दाबी छाडेको छ।

लामो विवादपछि चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल नै उम्मेदवार हुने भएका छन्। चितवन २ मा दाबी गरिरहेका माओवादीका रामबहादुर थापा बादल काठमाडौँ १० बाट चुनावमा प्रतिस्पर्धा गर्नेछन्। २०७० को संविधानसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ १० बाट पराजित भएका थिए।

सल्यानमा एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वालालाई भाबी मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशसभामा उम्मेदवार बनाइएको छ। ज्वालालाई प्रदेशमा पठाइएपछि माओवादी केन्द्रका टेकबहादुर बस्नेत प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार बनेका छन्। ज्वाला र बस्नेत दुबैको दाबीले उम्मेदवार चयनमा समस्या भएको थियो। सुनसरी १ मा पनि माओवादीले प्रतिनिधिसभा सदस्यतर्फको उम्मेदवार पाउनेछ। सुनसरीका अन्य क्षेत्रमा एमालेका उम्मेदवार हुनेछन्।

‘झापामा वाम र राप्रपा तालमेल’
चुनाव सुनिश्चितताका लागि भन्दै सरकारमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा वाम गठबन्धनसँग तालमेलको तयारी गरेको छ। सुरुमा कांग्रेससँग तालमेलको निर्णय गरे पनि झापा ३ मा कांग्रेस र राप्रपा दुबैका उम्मेदवार तय भएपछि गठबन्धनमा समस्या भएको थियो।

झापा ३ मा कांग्रेसले कृष्ण सिटौलालाई उम्मेदवार बनाएको छ। यस्तै राप्रपाका तर्फबाट राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। दुबै उम्मेदवार घोषणा भएपछि तालमेल धरापमा परेको हो।

वाम गठबन्धनले झापा ३ मा लिङ्देनलाई सहयोग गर्ने गरी सिट बाँडफाँट टुंग्याएको छ। झापाका अन्य क्षेत्रमा राप्रपाले सहयोग गर्ने गरी वाम गठबन्धनले क्षेत्र नम्बर ३ मा लिङदेनलाई सहयोग गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...