निर्वाचनपछि कम्युनिस्ट सरकार बनेरै छाड्ने ओलीको दाबी, कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डरायो



हाम्रो इकोनोमि

काठमाडौँ । माओवादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नम्बर १ को काँकडभिट्टामा वाम गठबन्धनले गरेको सभालाई एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भए तापनि छोरा प्रकाश दाहालको निधनपछि उनी काठमाडौं फर्किए ।

ओलीले एमाले र माओवादीको एकीकरणले विकासको लहर ल्याउने बताए । आफू बन्न नभई देश बनाउनका लागि जोखिमपूर्ण यात्रा गरिरहेको ओलीको भनाइ छ । ‘अरूले दिएको किड्नी बोकेर हिँडेको ११ वर्ष भइसक्यो, ग्यारेज लगेर पार्टपुर्जा फेरफार गरेको हो,’ उनले भने, ‘मैले भ्रष्टाचार, बेइमानी गर्नु छैन, देश बनाउनुछ ।’ आफ्नो पेट चारपटक चिरिसकेको भन्दै ओलीले हाल स्वास्थ्यमा कुनै समस्या नरहेको बताए ।

निर्वाचनपछि कम्युनिस्ट सरकार बनेरै छाड्ने ओलीले दाबी गरे । कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराइसकेको उनले बताए । ओलीले भने, ‘गठबन्धनका सबै उम्मेदवारलाई जिताइदिनुस्, उहाँहरू सबैको जिम्मा म लिन्छु ।’ ओलीले सुरेन्द्र कार्की एमालेको उम्मेदवार भएको बताए । क्षेत्र नम्बर १ मा कार्कीलाई मतदाताले जसरी पनि विजयी गराउने ओलीले विश्वास व्यक्त गरे ।

झापाका लागि ओलीका योजना

वाम गठबन्धनले जितेपछि झापामा हात्तीको प्रकोपको अन्त्य गर्ने ओलीले घोषणा गरे । सिँचाइका प्रबन्ध मिलाउनेदेखि किसानका हितमा विभिन्न काम गर्ने योजना उनले सुनाए । झापाका लागि कृषि नै प्रमुख पेसा भएको भन्दै ओलीले किसानका हितमा काम गर्ने बताए ।
‘यहाँका समस्या मैले राम्ररी बुझेको छु,’ उनले भने, ‘सडक ६ लेनको बनाउन अमेरिकासँग पाँच सय अर्बको सम्झौता गरिसकेको छु, पूर्व–पश्चिम रेल पनि यहीँबाट सुरु हुन्छ ।’ थप जमिन लिएर चन्द्रगढी विमानस्थल विस्तार गरिने ओलीले बताए । चारआली–केचना सडक चौडा पार्ने योजना सुनाएका ओलीले बाहुनडाँगीदेखि चुरे क्षेत्रबाटै धरान पुग्ने मार्ग बनाइने बताए ।

‘यता हँसिया हथौडा, उता गाई’

सभामा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले गठबन्धनकै उम्मेदवारलाई मत हालेर विजयी गराउन आह्वान गरे । झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङ्देनले क्षेत्र नम्बर १ मा राप्रपा कार्यकर्ताले हँसिया हथौडामा मत हालेजस्तै आफ्नो क्षेत्रमा पनि वाम गठबन्धनले गाईमा हाल्ने बताए । उनले आफ्ना कार्यकर्ता तथा नेतालाई मत अन्य पार्टीमा नखसाल्न उर्दी जारी गरे । पार्टीको निर्णय नमानेर अन्यत्रै मत खसालेको पाइए उनले कारबाही गर्ने चेतावनीसमेत दिए ।

ओली मेरो नेता : सुरेन्द्र कार्की

सभामा बोल्दै सो क्षेत्रका लागि वाम गठबन्धनका उम्मेदवार राम कार्कीले ओली आफ्नो नेता भएको बताए । उनले कांग्रेसलाई ‘राजासँग घाँटी जोडिएको पार्टी’ भएको बताए । मतदातालाई उनले सोधे, ‘राजासँग घाँटी जोडिएको कांग्रेसलाई जिताउनुहुन्छ कि जनतासँग घाँटी जोडिएको कम्युनिस्टलाई ?’ चियाबगानमा पत्ती टिप्ने मजदुरहरूको पार्टी कम्युनिस्ट भएको भन्दै कार्कीले सिसाको महलमा बसेर मजदुरलाई शोषण गर्ने पार्टी कांग्रेस भएको जिकिर गरे । आफू विजयी भएको पाँच वर्षमा झापाको १ नम्बर क्षेत्रको मुहार नै परिवर्तन गरिदिने कार्कीले बताए । ‘यहाँका कारखाना बन्द गरेर युवालाई विदेश पठाउने कांग्रेस हो,’ उनले भने, ‘यहाँ कारखाना खोलेर युवालाई स्वदेश फर्काउने कम्युनिस्टले नै हो ।’ अहिले दैनिक दुई सय ७५ रुपैयाँ पाउने मजदुरको तलब कम्युनिस्ट सरकार बनेपछि दोब्बर पारिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...