यी कारणले हार्दैछन गगनले चुनाव



–कृष्ण अविरल
यतिखेर काठमाडौं–४ नं. क्षेत्रमा पर्ने चाबहिल, कपन क्षेत्रका बाटाहरुमा रातारात डोजर लगाएर सम्याउने, गिट्टी थुपार्ने काम भइरहेको छ । केही साताभित्रैमा कालोपत्रे पनि भइसक्ला । चुनावलाई प्रभावित पार्ने गरी विकास निर्माणको काम हुनुहुन्थ्यो वा हुँदैनथ्यो, त्यो आचार संहिताको पाटो हो । निर्वाचन आयोगको जिम्मेवारी हो ।कालोपत्रे भइसके पनि नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले चुनाव हार्ने प्रमुख कारण यही बाटो बन्छ । किनकि विगत तीन वर्षसम्म यस क्षेत्रका जनताले, यस क्षेत्र भएर यात्रा गर्ने जनसाधारणले चर्को सास्ती व्यहोरेका छन् । बर्खामासमा यस क्षेत्रमा भोग्नु परेको बिजोग त भनिसाध्यै थिएन । र, त्यो पीडा अहिले पनि यस क्षेत्रका मतदाताले बिर्सेका छैनन् ।

यहाँका बासिन्दाले भोगेको पीडा अन्यत्रका मानिसले महसुस पनि गर्न सक्दैनन् । त्यसै कारण भनिरहेछन्– ‘गगन सम्भावना भएका निष्कलंकित नेता हुन्, उनले चुनाव जित्नु पर्छ ।’ तर उनीहरुलाई यस क्षेत्रका बासिन्दाको आक्रोश के थाहा ? सांसद भएका बेला गगनले गरेको बेवास्ता उनीहरुले कसरी महसुस गरुन् ? यस क्षेत्रका जनताले यति चर्को सास्ती व्यहोर्दा गगन कहाँ थिए ? सायद घैंटेका उत्तराधिकारीहरुसँगको साझेदारी कारोवारमा व्यस्त थिए । कि युरोपियन युनियनका एजेन्टहरुसँगको वार्तामा थिए । नत्र उनलाई जनताको समस्या सुन्ने फुर्सद हुनुपर्थ्यो ।

यो निर्वाचनको प्रचार शुरु भएर गगन घरदैलोमा व्यस्त भइरहँदा मतदाताले सोध्ने प्रश्न यही बाटो बन्यो । हैरान भएका गगनले सार्वजनिक मञ्च र मिडियाबाटै आक्रोश पोखे– “यही प्रश्न समानुपातिकबाट जित्ने अर्को सांसदलाई किन सोध्नु हुन्न ?” असल राजनीतिकर्मीले त विगतका कमीकमजोरीमा क्षमा माग्छ । फेरि गल्ती नदोहोर्याउने बाचा गरेर मन जित्छ । तर उनी त जनताले प्रश्न गर्दा समेत दम्भ प्रकट गर्छन् । यसैबाट पनि उनको गैरजिम्मेवार चरित्र प्रस्ट हुन्छ । आफू हार्ने कारण यहाँका बाटाघाटा नै हुन् भन्ने बुझेपछि उनले हतारहतार सरकारका मन्त्री र सडक विभागका अधिकारीलाई गुहारे । नत्र तीन वर्षभित्र नभएको काम एक साताभित्रै शुरु हुने थिएन ।

यस क्षेत्रका मतदाताले गगनलाई सोध्नुपर्ने प्रश्नहरु त थुप्रै थिए र छन् । जस्तो, चुनाव जितेपछि फर्केर एकपल्ट पनि जनताको घरदैलोमा किन आएनौं ?संसद विकास कोषको रकम कहाँ खर्च गर्यौ ? कथित संघसंस्था मार्फत् आफ्ना कार्यकर्ता पोस्नका लागि दिइएको थियो त्यो रकम ? यस क्षेत्रका जनताले विकासका समस्या लिएर भेट्न खोज्दा किन समय दिएनौं ? अघिल्लो चुनावमा गरेका बाचा कति पूरा गर्यौ ? नेता जतिसुकै सुकिलो, सम्भावनायुक्त, विचारवान् भए पनि भोटहाल्ने मतदाताले खोज्ने भनेको आफ्नो क्षेत्रको विकास हो । सांसदको जिम्मेवारी नीति निर्माण हो भन्ने कुरासँग धेरैलाई मतलब पनि छैन । यसै कारण विकासका बारेमा चासो नदिने, अघिल्लो चुनावमा गरेका बाचा दश प्रतिशत पनि पूरा नगर्ने नेतालाई मतदातालाई फेरि रोज्लान् भन्नेमा कमसेकम पंतिकारलाई चै विश्वास छैन ।

हावामा उडेको बेलुन
अर्को कारण हो, गगनमा पलाएको अहम्भाव र दम्भी चरित्र । मिडियाले वाहीवाही गरिदिएकै भरमा उनी बेलुन झैं फूले र आफूलाई ‘सुपर’ ठान्दै हावामा उड्न थाले । भोट दिएर जिताउने मतदातालाई उपेक्षा मात्रै होइन, तिरस्कार नै गर्न थाले । हावामा उड्दा उड्दै कतिखेर फुट्छु भन्ने पत्तै पाएनन् । स्थानीय तहका विकासका समस्याका विषयमा भेट गर्न खोज्दा समेत वेवास्ता गर्ने उनको दम्भी चरित्रबाट हरेक टोलका मतदाता आजित छन् । उनीसँग यति धेरै मात चढेको छ कि नजिकबाट संगत गर्नेहरुले मात्रै त्यो कुरा महसुस गरेका छन् ।

यस सन्दर्भमा पंतिकारले गगनसम्बद्ध पार्टीकी एक जना छिमेकी कार्यकर्तासँग यही कुरा राखेको थियो । उनले ठाडै भनिन्, “ल के कुरा गर्नु भ’को हजुरले ? तेत्रो विश्वप्रसिद्ध नेताले जोकोहीलाई कहाँ समय दिन भ्याउँछन् ? रातोदिन झन्डा बोकेर हिँड्ने हामी कार्यकर्तालाई त समय दिँदैनन् हजुरहरुले त समय पाइनँ भनेर गुनासो गर्नै मिल्दैन नि ।” यो आलेख पढिरहँदा कतिपयलाई लाग्ला– व्यक्तिगत स्वार्थ पूरा गराउन नसकेपछि अविरलले आक्रोश पोखेछ । याद रहोस्, २०५१ साल यताका हरेक मन्त्रीमण्डलमा पंतिकारसँग दोहोरो चिनजान भएका तीन–चार जना मन्त्री हुँदै आएका छन् । तर उनीहरुकहाँ कहिल्यै व्यक्तिगत काम लिएर गएको छैन, प्रदीप नेपाललाई शिक्षामन्त्री हुँदा कुनै पुस्तक बारे कुरा गर्न, शंकरप्रसाद कोइराला अर्थमन्त्री हुँदा बधाइ दिन अनि फोन काटेको विषयमा राजा ज्ञानेन्द्रका सञ्चारमन्त्री श्रीष समसेरलाई धम्क्याउनबाहेक । पंतिकारको चाहना छ, व्यक्तिगत काम लिएर कुनै नेता मन्त्रीका अगाडि झुक्नु नपरोस् ।

निष्कलंकित छैनन् गगन
हामीकहाँ सम्बन्धित व्यक्तिसँग संगत नै नगरी, नजिकबाट चिन्दै नचिनी उसबारे धारणा बनाउने चलन छ । गगनका बारेमा पनि त्यही हुँदै आएको छ । काठमाडौं–४ का भुक्तभोगीहरु बाहेक बाहिरका धेरै मानिस यसै कारण गगनलाई सम्भावनायुक्त नेता सम्झन्छन् । उनलाई सज्जन, क्षमतावान्, निष्कलंकित नेता मान्ने थुप्रै छन् । यही भ्रमका आधारमा उनले सजिलै चुनाव जित्छन् भन्ने ठानिरहेका छन् । तर जुन दिन गगन र उनका ससुरा अर्जुननरसिंह केसीको घैंटे र घैंटेका उत्तराधिकारीहरुसँगको व्यवसायिक साझेदारीका तथ्य बाहिर आउने छ, त्यसै दिन तिनले आश्चर्यले जिब्रो टोक्ने छन् । प्रहरी इन्काउन्टरमा घैंटे मारिंदा जनप्रतिनिधि भएकै कारणले उनी मानवअधिकार आयोग गुहार्न गएका थिएनन् भन्ने थाहा पाउँदा कतिजना बेहोस हुन्छन् भन्न गाह्रो छ । घैंटे मारिंदा मानव अधिकार आयोग गुहार्न जान फुर्सद हुने गगनले काठमाडौं–४ मा घटेका मानवअधिकार उलंघनका अन्य घटनामा किन चासो दिएनन् ? कि यो क्षेत्रमा एउटा पनि मानवअधिकार उलंघनका घटना भएनन् ?

यस्तो छ अंकगणित
गगनले जित्न यस क्षेत्रको चुनावी अंकगणितले फेल खानु पर्छ । त्यस्तो सम्भावना पटक्कै छैन । किनकि गएको संविधानसभा चुनावमा पंतिकार बस्ने गरेको कपन, जोरधाराटोलका बासिन्दाले उनलाई मौन अवधिको मध्यरातमा पनि न्यानो स्वागत गरेका थिए । स्मरण रहोस् गएको स्थानीय चुनावको मौन अवधिमा पहिलेजस्तै गरी लुसुक्क आउँदा लखेट्ने पनि तिनै मतदाता हुन् । र, लखेटिएलगत्तै सञ्चारमाध्यममा उनले दिएको धम्की पनि यस क्षेत्रका बासिन्दाले बिर्सेका छैनन् । काठमाडौं–४ मा अधिकांश स्थानीय तहमा एमालेको वर्चस्व छ । एमाओवादीको प्रभाव पनि राम्रै छ । यो अंकगणितमा फेरबदल हुने संभावना पटक्कै छैन । विवेकशील साझाकी उम्मेदवार सुबुना बस्नेतले पनि बाम गठबन्धनको भन्दाबढी गगनकै भोट हात पार्लिन् । गगनको दम्भी चरित्रबाट मतदाता रुष्ट छन् भन्ने बुझेरै होला बाम गठबन्धनले पनि तुलनात्मक रुपमा मिजासिला उम्मेदवार डा. राजन भट्टराईलाई उठाएको छ । गगनसँग यस क्षेत्रका आममानिसहरु जति रुष्ट छन् डा. राजन र सुबुनासँग उति नै प्रभावित छन् । यस आधारमा पनि गगनको हार पक्का छ ।

धेरैलाई लाग्ला बाम गठबन्धनको प्रवक्ता बनेर अविरलले भँडास पोखेछ । विगत दुई दशक पत्रकारिता गरेर अधिकांश पार्टी र तिनका नेताका आनीबानी, बोली व्यवहार आदिका बारे राम्रै जानकारी बटुलेको पंतिकारलाई कुनै पार्टीको हनुमान हुने रहर छैन । सम्भावना भएका असल र सज्जन नेताहरुलाई नैतिक समर्थन गर्ने हो । चाहे ती जुनसुकै पार्टीका किन नहुन् । जस्तो, अहिले पनि पंतिकार झापा–१ मा कांग्रेसका विश्वप्रकाश शर्माको समर्थक छ । बाम गठबन्धनको स्थायी सरकार समयको माग हो भन्ने बुझ्दा बुझ्दै पनि विश्वप्रकाश शर्मा, रवीन्द्र मिश्र र उपेन्द्र यादवहरु संसदमा आउनु पर्छ भन्ने ठान्छ । डा. बाबुरामजस्ता पिंधबिनाका लोटाहरुले सबक सिक्नु पर्छ भन्ने मान्यता राख्छ । किनकि, नारायणकाजीजस्तो अवसर पाएर पनि निष्कलंकित रहनसक्ने नेता राष्ट्रिय राजनीतिमा कमै छन् ।

गगनसँग व्यक्तिगत दुराग्रह राख्नुपर्ने कुनै कारण पनि छैन पङ्तिकारका लागि । किनकि विगत १५ वर्षदेखि दोहोरो चिनजान भएका मान्छे । २०६२–०६३ को जनआन्दोलनका बेला घट्टेकुलो, मैतिदेवी क्षेत्रमा सँगसँगै भिडेको कुरा उनले बिर्से पनि पंतिकारले बिर्सेको छैन । र, उसलाई थाहा छ, बैगुनीलाई गुनले जित्नु पर्छ ।यसपटक हारको झड्का व्यहोरेपछि सच्चिएर आए, घैंटेका उत्तराधिकारीहरुसँगको व्यवसायिक साझेदारी तोडे, जनताका लागि काम गर्न तयार भए भने फेरि पनि उनलाई जिताउने माहौलका लागि भिड्न तयार छ । अघिल्लो चुनावमा जस्तै । किनकि मान्छेले सुध्रिने मौका पाउनु पर्छ ।

आजको न्युजबाट

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने