मेरो विज्ञता विकास र आर्थिक समृद्धिमा खर्च गर्छु
डा. अजयक्रान्ति शाक्य
उम्मेदवार
काठमाडौँ क्षेत्र नम्बर ९ ‘क’ बाट प्रदेशसभा उम्मेदवार
बाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ९ ‘क’बाट प्रदेशसभाका लागि उम्मेदवार बन्नुभएका शाक्य काठमाडौँकै लगन टोलमा जन्मिनु भएको हो । विद्यालय तहदेखि नै कम्युनिष्ट राजनीतिप्रति झुकाव राख्नुहुने शाक्य एसएलसीपछि अझ बढी राजनीतिमा सक्रिय बन्नुभयो । ड्रमसेट, कंङगो, गिटार, किबोर्ड लगायतका बाजाप्रति बढी रुचि राख्नुहुने शाक्य राजनीतिसँगै खेल र संगितमा पनि उत्तिकै रुचि राख्नुहुन्छ । दिनेश अधिकारीले रचना गर्नुभएको र डा. अन्जान शाक्यले गाउनु भएको ‘यो मन्दिर, मस्जिद्, चैत्य यो गुम्बा’भन्ने बोलको गीत चर्चितसँगै दर्जनौ गितमा संगित दिनुभएका शाक्य २०४६ सालको राजनीतिक परिवर्तनसँगै अझ बढी राजनीतिमा होमिनु भएको थियो ।
‘देश प्रेम स्पर्स’, ‘छन्त ऐके धुङ्का’लगायतका एलबमा संगित दिनुभएका शाक्यका ‘द शाक्यज्’, लगायतका चर्चित पुस्तक बजारमा आएका छन् । जनसाँस्कृतिक मञ्चको केन्द्रीय सदस्य एक कार्यकाल र केन्द्रीय कोषाध्यक्षका रुपमा दुई कार्यकाल बिताउनु भएका डा. शाक्यले जिफण्टमा योजना आयोगको सदस्यका रुपमा एक कार्यकाल काम गर्नुभयो । डा. शाक्यले नेकपा (एमाले) को विदेश विभागमा रहेर पनि एक कार्यकाल काम गर्नुभयो ।
- तपाईँलाई कम्युनिष्ट राजनीतिप्रति झुकाव कसरी बढ्यो ?
म विद्यालय तहमा अध्ययन गर्दा नै ‘रसियन कल्चर सेन्टर’ मा जान्थें । रसियन कल्चर जाने क्रममै मैले रुसमाभएमो अक्टोवर क्रान्तिका चलचित्रहरु, वर्ग संघर्षका कथामा आधारित चलचित्रहरु हेर्ने अवसर प्राप्त गरेँ । दोस्रो विश्वयुद्धका बृत्तचित्रहरु हेर्न अवसर पनि मैले त्यहि बेला प्राप्त गरेँ ।
शाषक बर्गले गरेका शोषण, अन्याय र अत्याचारका विरुद्ध जनताले गरेको विद्रोह क्रान्ति आदि विषयमा बनाएका ती बृत्तचित्रहरु, चलचित्रहरु हेर्ने क्रममा म नजानिँदो गरी कम्युनिष्ट विचारबाट प्रभावित भएँ । ती चलचित्र र बृत्तचित्रहरुले मेरो बालमानसपटलमा कम्युनिष्ट बन्नुपर्छ भन्ने चेत भर्दै गयो । त्यतिबेला नेपालमा एक दलीय तानाशाही पञ्चायती व्यवस्था थियो । ममा विस्तारै त्यो व्यवस्थाको अन्त्य गर्नुपर्छ भन्ने भावना भित्रभित्रै बुलन्द हुनथाल्यो । त्यसैबेला विश्वको इतिहास, नेपालको राजनीतिक इतिहास आदिका बारेमा पनि अध्ययन गर्ने अवसर प्राप्त गरेँ । त्यसले पनि मलाई कम्युनिष्ट बन्न थप ऊर्जा पैदा गर्यो ।
- खेल र संगितप्रति रुचि राख्ने व्यक्ति कसरी राजनीतिमा तानिनुभयो ?
मैले अघि पनि भने, स्कूले जीवनमै मेरो चेतनाले अन्याय, अत्याचार र शोषणका विरुद्ध आवाज उठाउने व्यक्ति हुँ । बाल्य कालमै राजनीतिक चेतना उर्वर बन्न थालेपछि म राजनीतिबाट टाढा रहन सकिन । संगीत र खेल मेरो शौख मात्र थियो । म कलेजमा पढ्दै गर्दा कलेजमा हुने सांगितिक कार्यक्रममा भाग लिन्थे । कलेजकै विद्यार्थी जीवनमा जब २०४६ सालको आन्दोलन भयो । त्यसबेलासम्म पनि म कुनै संगठनमा आवद्ध थिइन तर पनि स्वतस्फुर्त त्यो आन्दोलनमा म पनि होमिएँ । त्यस बेलादेखि मेरो राजनीतिक जीवन प्रारम्भ भयो ।
अझ भन्ने हो भने म ‘बहुजनहितया बहुजन सुखाय सर्वप्रकारेण जगत हिताय’ भन्ने भनाइलाई जीवनको मूलमन्त्र ठान्ने व्यक्ति हुँ । बहुजनको हित गर्न राज्य सत्तामा बसेर जति धेरै गर्न सकिन्छ त्यति मैले व्यक्तिगत रुपमा सम्भव छैन । धेरै मान्छेको उपकार गर्न, धेरै मान्छे वा समुदायको सेवा गर्न राज्य सत्तामा बसेर गर्ने महत्वपूर्ण निर्णयहरु उपलब्धिमूलक हुन्छन । त्यसैले पनि म राजनीतिमा आकर्षित भएँ र यसलाई निरन्तरता दिएँ ।
म यहाँ एउटा दृष्टान्त उल्लेख गर्न चाहन्छु । जब म पूर्वप्रधामन्त्री केपीओली ज्यू प्रधानमन्त्री हुँदा उहाँको सल्लाहकारको जिम्मेवारीमा बसेर काम गरेँ । त्यसबेला मैले किड्नी फेल भएर डाइलोसिस गर्नुपर्ने व्यक्तिहरुलाई पाँच वर्षका लागि निशुल्क डाइलोसिस गर्ने व्यवस्था मिलाउनका लागि पहल गरेको थिँए । तत्कालिन प्रधानमन्त्री केपी ओली ज्यूले पनि यो व्यवस्था कार्यान्वयन गर्नुभयो जसले गर्दा हजारौं डाइलोसिस गर्नु पर्ने व्यक्तिहरुले निशुल्क उपचार पाए । यसरी एउटा निर्णयले एकैचोटी लाखैँ मानिसलाई सहयोग गर्न सम्भव भयो । राज्यसत्ताको सही सदुपयोग गर्ने हो भने राजनीति अनिवार्य छ भन्ने सन्देशकै धेरै आवश्यक भएको हुनाले नै म राजनीतिमा आकर्षित भएको मात्र होइन त्यसलाई निरन्तरता दिंदै आइरहेको छुं ।
- राजनीतिमा नलाग्नु भएको भए यतिबेला तपाईँलाई कुन क्षेत्रमा स्थापित भएको देख्न पाइन्थ्यो होला?
म अहिले पनि अध्ययन–अनुसन्धान गर्न बढी रुचाउँछुं । म विशेष गरी बौद्धधर्म दर्शन सम्बन्धि लेख रचनातथा पुस्तकहरु लेख्दछुं । ध्यानी र प्रज्ञावान बन्ने मेरो लक्ष्यछ । राजनीति मेरो रहरको विषय भन्दा पनि माथि उल्लेख गरे जस्तै यो क्षेत्रबाट पनि अझ बढी जनसेवा गर्ने मेरो ध्यय भएककै कारण म राजनीतिमा संलग्न भएको हुँ । राजनीतिसँगै आफ्नो विज्ञता अनुसारका क्षेत्रमा पनि संलग्न छु । अहिले केहीले राजनीति गर्नेले व्यवसाय गर्नुहुँदैन भनेर भन्ने गर्छन् । म त्यो कुरा स्वीकार गर्दिन । राजनीतिलाई भ्रष्टचार मुक्त गर्ने हो भने राजनीतिज्ञहरु पनि केही न केही व्यवसायमा संलग्न हुनै पर्छ । विश्वका ठूला र सम्पन्न देशमा पनि राजनीतिबाट अवकास लिएपछि पुनः आफ्नो व्यवसायमा फर्केका धेरै उदाहरण छन् । हामीले अमेरिकाका निवर्तमान राष्ट्रपति वराक ओवामाकै कुरा गर्ने हो भने उनी अहिले वकालत क्षेत्रमा फर्किएका छन् । यो एउटा उदाहारण मात्र हो । त्यसैले म राजनीतिमा संलग्न रहेरै पनि मेरो थप लक्ष्यप्राप्तिका बाटाहरुलाई पूर्ण विश्राम लिएको छैन । अहिले पनि समय निकालेर निरन्तर लागि रहेको छुं ।
- कहिलेकाहिँ राजनीतिमा लाग्दा अरु रुचिका विषय छोडियो भने जस्तो लाग्दैन ?
राजनीतिमा लागेर धेरैलाई सहयोग गर्ने मौका पाएको छु । समाज सेवागर्ने मौका पाएको छु । म जुन क्षेत्रमा लाग्दा पनि लहड र रहरमा लाग्ने व्यक्ति होइन । त्यसैले म राजनीतिमा लागेको असन्तुष्ट छैन । पुर्णरुपमा सन्तुष्ट छु । मैले आफ्ना इच्छा आकांक्षाहरु सवै पूरा गर्दै राजनीतिलाई निरन्तरता दिंदै आएको छु । समाज सेवा गरेर अरुको खुशीमा आफू पनि रमाउन पाउनु जस्तो आत्मासन्तुष्टी हुने काम गर्न पाएकोमा गौरव महशुस गरेको छुं । त्यसैले पछुताउनु पर्ने कुनै प्रश्न नै छैन ।
- पछिल्लो समय राजनीति पहुँचवालाहरुको पहुँचभित्र मात्रै रह्यो भन्ने आरोप लाग्ने गरेको छ । तपाईलाई त्यस्तो लाग्दैन ?
राजनीतिमा लाग्दा केही पाउँछु भनेर आफ्नो व्यक्तिगत स्वार्थ लिएर लाग्यो भने त्यस्ता नेता–कार्यकर्ताहरु विकृत हुन्छन् । त्यस्ता नेता–कार्यकर्ताबाट जनताले धेरै अपेक्षा पनि गर्न सक्दैनन् । तपार्इंले भनेको कुरा एक हदसम्म ठिक पनि छ । तर, अघि मैले माथि उल्लेख गरेको स्वाभाव भएका व्यक्तिका नेता–कार्यकर्ताका लागि मात्र त्यो हो । राजनीतिका माध्ययमबाट समाज सेवागर्न, देश र जनताका लागि बलिदान दिनत यार भएर धैर्य पूर्वक राजनीतिमा लाग्नेका लागि त्यो हुँदैन । पार्टीले पनि त्यस्ता व्यक्तिहरुले गरेको कार्यको मूल्याकंन गर्छ जस्तो मलाई लाग्दछ ।
- चार वटा विषयमा स्नातक, तीन वटा विषयमा स्नातकोत्तरसँगै विद्यावारिधी पनि गर्नुभएको छ । राजनीति नगरेर त्यही क्षेत्रबाट पनि त देशको सेवागर्न सकिन्थ्यो होला नि?
राजनीतिका क्षेत्रबाट मात्र हैन मैले आफ्नो क्षमता र योग्यता अनुसार विभिन्न क्षेत्रबाट पनि देश र जनताका लागि सक्दो योग्दान गर्दै आएको छु । मेरो यही योग्यता, क्षमतामाथि विश्वास गरेर नै पार्टीले मलाई यो स्थान दिएको हो ।
- काठमाडौँ जस्तो महत्वपूर्ण जिल्लाको क्षेत्र नम्बर ९ वाट तपाईँ प्रदेश सांसद्को उम्मेदवार बन्नुभएको छ । केही योजना त होला न नि?
निश्चय पनि, मलाई पार्टीले टिकट दियो अब माननीय बन्ने हो भनेर लहडमा कुद्ने कुरा हुँदैन । पार्टीले पनि ममाथि निकै ठूलो विश्वास गरेर यो जिम्मेवारी दिएको हो । त्यसैले मैले चुनाव जितेपछि के–गर्ने सबै भन्दा पहिला आफ्नो क्षेत्र, त्यसपछि जिल्ला र समग्र देशकै लागि के गर्ने सकिन्छ । ती योजनाका साथ नै म अघि बढेको हुँ । अहिले राजनीतिक कार्यभार पूरा भएको छ ।
अब मुलूकलाई समृद्धितर्फ दोहर्याउनु पर्ने जिम्मेवारी सबै राजनीतिक दलको काँधमा आएको छ । पनि पनि कुनै दलबाट टिकट लिएर उम्मेदवार बनेपछि केही प्रष्ट योजनाहरु ल्याउन सक्नुपर्छ । यो मुलुकमा राजनीतिका नाममा धेरै विकृति–विसंगतिहरु भित्रिएका छन् । मुलुक अराजकतातिर उन्मुख भइरहेको हो कि भन्ने अनुभूति जनताले गर्न थालेका छन् । हामीले माथिदेखि तल्लो तहसम्म देखा परेका विकृतिहरुको अन्त्य गर्न जरुरी छ । झन् नयाँ पुस्तामा देशमा देखिएका विकृतिले धेरै नैराश्यता छाइसकेको छ । अधिकांश युवा अवसरका लागि विदेशीन बाध्य भएका छन् । यी सबै कुराको न्युनिकरण गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लान आवश्यक छ । म यसमा दिलोज्यान दिएर लाग्ने छु । हामीले हाम्रो घोषण पत्र सर्वै कुरा उल्लेख गरेका छौं ।
- काठमाडौँ साँस्कृतिक र धार्मिक महत्वले अर्थपूर्ण जिल्लाहो । त्यसमा पनि तपाईँ जुन क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । यो क्षेत्रको साँस्कृतिक र धार्मिक महत्व झन बढी छ । यो विषयमा पनि केही सोच्नु भएको होलानि ?
निश्चय पनि काठमाडौँ धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरात्वात्कि महत्वको जिल्ला हो । यहाँका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धन गर्दै यस क्षेत्रलाई हेरिटेज संरक्षण क्षेत्रकारुपमा स्थापित गर्दछौं भने यस क्षेत्रलाई स्मार्ट क्षेत्रका रुपमा विकास गर्नेछौं । यस्तै यो देशको राजधानी पनि हो । त्यसैले यहाँको विकासले देशको चित्र कोरेको हुन्छ । यहाँ हेरेर समग्र देशको मुल्याङ्कन गरिन्छ । त्यसैले यो क्षेत्रको विकास भनेको देशको विकास हो । म धेरै भाषण गर्ने, जनतालाई बढी भन्दा बढी आश्वासन दिने र अन्त्यमा केही नगर्ने स्वाभावको व्यक्ति होइन । जति गर्न सकिन्छ त्यति मात्र बोल्नुपर्छ भन्ने मेरो मान्यता छ । एक पटक चुनाव जितेपछि आफ्नो रहर पूरा भयो भनेर हिड्ने हो भने जे भन्दा वा बोल्दा हुन्छ । तर, मेरो त्यो ध्यय नभएकाले सक्ने कामको मात्र आश्वासन दिने हो । हामीले हाम्रो घोषणा पत्रमा उल्लेख गरे वमोजिमका कामहरु मुलुकलाइ आर्थिक समृद्धितर्फ लान विशेष योगदान दिनेछु ।
- तपाईँले चुनावजित्ने आधार के–के ?
उम्मेदवार बनेपछि कसैले पनि म हार्छु भन्दैनन् । अहिले वाम गठबन्धन यहाँ मात्र होइन मुलुकभरी नै छ । पहिला एमाले एक्लै लड्दा पनि यो क्षेत्रमा शक्तिशाली नै थियो । त्यसमा अहिले झन् माओवादी पनि थपिएको छ । हामीले स्थानीय निर्वाचनलाई आँकलन गर्ने हो भने पनि हामी अहिले मुख्य प्रतिष्पर्धी दल नेपाली कांग्रेस भन्दा निकै माथि छौँ । चुनाव जित्ने मेरो यो पहिलो आधार हो ।
दोस्रो म यहीको स्थानीय व्यक्ति हुँ । मैले यही क्षेत्रको विद्यालयमा अध्ययन गरेँ । मैले यही क्षेत्रका बाटा–घाटामा बाल्यकाल विताए । मैले यहाँका जनताको दुःख, सुखलाई राम्ररी बुझेको छु । यहाँको धर्म, संस्कृति, रिति–रिवाजका बारेमा म जानकार छु । यहाँको विकास कसरी गर्नुपर्छ त्यो पनि मलाई राम्ररी थाहा छ । त्यति मात्र होइन, मैले यो क्षेत्रमा मेरो तर्फबाट निरन्तर रुपमा सक्दो समाजसेवा गर्दै आएको छु । यी सबै मेरा जितका आधार हुन् । यहाँका जनताको मुहारमा खुशी छर्न सक्ने क्षमता भएको व्यक्ति डा. अजयक्रान्ति शाक्य नै हो भन्ने यहाँका जनताले राम्ररी बुझेका छन् । मेरो विज्ञता पनि यहाँको विकासमा सहयोगी बन्ने अपेक्षा गरेको छुृ । त्यसैले यो क्षेत्रबाट मैले मात्र होइन केन्द्र र प्रदेश ‘ख’बाट पनि शानदार विजयी प्राप्त हुन्छ भन्नेमा ढुक्क छौँ ।