केही शिप नचल्ने देखे पछी बाबुरामले भने- मलाई कांग्रेस कार्यकर्ताले भोट हालेर जिताउनुहोस् म कांग्रेस संगै पार्टी एकता गर्छू



हाम्रो इकोनोमि

गोरखामा चुनावी अभियानमा रहेका बाबुराम भट्टराईले अहिले आफुलाई आँखा चिन्हमा मतदान गरी जिताउन आग्रह गर्दै पछि कांग्रेससँग नयाँ शक्ति पार्टीले एकता गर्ने वचन कांग्रेस कार्यकर्ताहरूलाई दिएका छन्।
कांग्रेस, राप्रपा (प्रजातान्त्रिक) लगायत दलका नेता, कार्यकर्ताहरुसंग भट्टराईले इमान्दारितापूर्वक तालमेल सफल पार्दै निर्वाचन जिताउन आग्रह गर्दै भबिष्यमा पार्टी एकता गर्न सकिनेबारे सोच्न सक्ने बताएका हुन्।

आइतवारमात्र गोरखाका पुराना कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको समूहले भट्टराई कांग्रेसको उम्मेदवार नभएको बताउँदै भोट नदिने बताएका थिए। जिल्ला विकास समितिका पूर्व सभापतिसमेत रहेका न्यौपानेको समूहले यस्तो चेतावनी दिएपछि अप्ठेरोमा परेका भट्टराईले कांग्रेसी मत तान्ने रणनीति अनुरुप आफूलाई जिताए कांग्रेससँग एकता गर्ने ‘वचन’ दिएका हुन्।

नेपाल तरुण दल, राष्ट्रिय युवा अभियान, राष्ट्रिय युवा मोर्चाले सोमबार छेवेटारमा गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘अहिले नै हामी एउटै पार्टी बन्न सक्ने अवस्था छैन। भविष्यको कुरा भविष्यमा नै गरौंला। अहिलेलाई चाहिँ इमान्दारितापूर्वक तालमेललाई सफल बनाउने काम गरौं।’ यसक्रममा उनले जीवनप्रेम श्रेष्ठ र सुरेन्द्रराज पाण्डेको नामपनि लिए, जो गोरखा–२ मा कांग्रेसको तर्फबाट टिकटका दावेदार थिए।

उनले कांग्रेस र नयाँ शक्ति शक्तिबीचको तालमेलले हिजो आपसमा लडेका शक्तिहरु मिलेर जान सक्छन् भन्ने सन्देश प्रवाहित हुनेपनि बताए। ‘राजनीतिमा कहिल्यै संभावनाका ढोका बन्द हुँदैनन्’ कांग्रेसी कार्यकर्ताहरुलाई फकाउँदै भट्टराईले भने ‘वामगठबन्धनको नाउँमा खोलेका दोकानमा नगएर म लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आएको छु। नेपाली कांग्रेस र नयाँ शक्तिले गोरखा र सिंगो देशको बिकास र संबृद्धिको मार्गचित्र कोरेका छौं।’

गोरखा–२ को चुनाव नेपालको राजनीतिक मोडको निम्ति कोशेढुङ्गा हुने भन्दै भट्टराईले थपे ‘हामीले गरेको चुनावी तालमेल सफल हुन्छ कि हुँदैन? हिजो आपसमा लडेका शक्तिहरु अब भबिष्यमा मिलेर जान सक्छन् कि सक्दैनन् ? नेपालमा दीगो शान्ति हुन्छ कि हुँदैन त्यसको निर्णय गर्ने बेला हो यो। यो बाबुराम भट्टराईको हारजितको प्रश्न होइन।’

०६४ सालको निर्वाचनमा ४६ हजार मत अर्थात् ८२ प्रतिशत मत दिएर आफूलाई जनताले जिताएको बताउँदै भट्टराईले त्यसबेला नेपाली कांग्रेस र अन्य दलका साथीहरुले आफूलाई भोट दिएर जिताएको बताए।

कांग्रेसी कार्यकर्ताहरुको सद्भाव जित्ने चुनौति झेलिरहेका भट्टराई वामगठबन्धनप्रति निकै आक्रामक रुपमा प्रस्तुत भए। ‘त्यो साच्चै नै वामगठबन्धन भइदिएको भए मलाई आपत्ति हुने थिएन। किनभने, वाम भनेको एउटा अग्रगमनकारी प्रवृत्ति हो। नेपालमा वाम र कम्युनिष्टलाई एउटै अर्थमा लिने गरिन्छ। तर नेपालका कम्युनिष्टहरुले त्यो शब्दको दुरुपयोग गरे।’

नेपालका कम्युनिष्टहरुले वामपन्थको खोलमात्र ओढेको दावी गर्दै भट्टराईले प्रश्न गरे, ‘साँच्चै सर्वहारा बर्गको प्रतिनिधित्व हुने हो भने उनीहरुको जीवनशैली जनताको जस्तो हुनुपर्ने हो। तर उनीहरु आलिसान महलमा बसेका छन्? उनीहरुको आम्दानीको स्रोत के हो? एनसेल प्रकरणदेखि बुढीगण्डकी प्रकरणसम्म अरवौं रकम भष्टाचार गर्नेहरु कसरी कम्युनिष्ट हुन सक्छन्? कसरी वाम हुन सक्छन्?’

त्यसपछि उनले थपे, ‘नक्कली गठबन्धनमा लागेर जनतालाई धोका दिनुभन्दा आफ्ना कुरा स्पष्ट ढंगले राख्ने र लोकतन्त्रको पक्षमा लड्दै आएको कांग्रेससँग सहकार्य गर्नु उपयुक्त हुन्छ भन्ने लाग्यो। अनि, कांग्रेससँग सहकार्य गर्न आएको हुँ।’ उनले नेपालको संबिधान पूर्ण नभएपनि बिश्वकै नमूना संविधान भएको दावी पनि गरे।

उनी गोरखा–२ का वामगठबन्धनका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठप्रति निकै आक्रामक देखिए। श्रेष्ठप्रति लक्षित गर्दै उनले भने, ‘यो क्षेत्रमा वामगठबन्धनको तर्फबाट जो उमेद्वार बनेर आउनुभएको छ, यो उहाँको कर्मथलो होइन। उहाँको जुन स्वभाव छ, त्यो गाउँले चरित्रसँग मेल पनि खाँदैन। गोरखाको जुन बिशिष्टता छ, त्यसलाई उहाँले सम्बोधन गर्न पनि सक्नुहुन्न।’

चुनावी सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, समानुपातिक तर्फका उमेदवार जीवनप्रेम श्रेष्ठ, गोरखा–२ (क) प्रदेशसभाका उमेदवार हरिशरण आचार्य, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, नयाँ शक्तिका गोरखा संयोजक रमेश पोखरेल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष यमबहादुर थापा, राष्ट्रिय युवा अभियानका सन्देश कार्की, राप्रपा (प्रजातान्त्रिक) का जिल्ला अध्यक्ष रुद्रराज पाण्डेले पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...