आफुले आफैँलाई भोट हाल्न नपाउने यी हुन् एक दर्जन नेता,ओली देखी ठाकुर सम्म भोट हाल्न बाट यसरी हुने भए बन्चित



हाम्रो इकोनोमि

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले एउटै व्यक्ति दुई ठाउँबाट उम्मेदवार हुनबाट रोकेको छ। उक्त ऐनको दफा १४ को १ मा पहिलो हुने निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै पनि एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने व्यवस्था छ। त्यसैले अघिल्ला निर्वाचनमा जस्तो यो पटक मंसिर १० र २१ मा दुई चरणमा एकै पटक हुन प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेताहरु एउटामात्रै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका छन्।

दलका नेताहरु कोही आफ्नै गृहजिल्लाको निर्वाचन क्षेत्रबाट उम्मेदवार भएका छन् भने कोही आफ्नो निर्वाचन क्षेत्र छोडेर अर्को जिल्ला वा क्षेत्रबाट उम्मेदवार भएका छन्। आफ्नो मतदाता नामावली जहाँ छ त्यहीँबाट मत हाल्नु पर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३८ को १ मा निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्न पाउने छ भन्ने उल्लेख छ।

संवैधानिक व्यवस्था अनुसार मत हाल्न आफ्नो मतदाता रहेको सम्बन्धित निर्वाचन केन्द्रमै जानु पर्ने भएकाले आफू मतदाता भएको निर्वाचन क्षेत्रभन्दा बाहिर गएर प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले भने आफैलाई मत हाल्न पाउने छैनन्। यो निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत धेरै दलका शीर्ष नेताहरुले आफूलाई आफैले मत हाल्न पाउने छैनन्।

 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यका लागि झापा–५ बाट प्रतिस्पर्धा गर्दैछन्। तर, उनको मतदाता नामावली भने भक्तपुरको सूर्यविनायक नगरपालिकामा छ। स्थानीय तह निर्वाचनअघि झापाबाट मतदाता नामावली भक्तपुर सारेकाले ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा–५ मा आफूलाई मत हाल्न पाउने छैनन्।

एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मत हाल्न पाउने छैनन्। नेपाल यो निर्वाचनमा आफ्नो गृह जिल्ला छोडेर काठमाडौं–२ बाट उम्मेदवार बनेका छन्। तर, उनको मतदाता नामावली भने रौतहटको गौर नगरपालिकामा छ। एमालेकै अर्का नेता भानुभक्त ढकाल यो पटक मोरङ क्षेत्र–३ बाट चुनावी मैदानमा उत्रिएका छन्। ढकालको पनि मतदाता नामावली गृहजिल्ला तेह्रथुममै रहेकाले यो पटक आफूलाई मत हाल्न पाउने छैनन्।

यस्तै, नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यसपटक सुनसरी–४ बाट प्रतिस्पर्धा गर्दैछन्। उनको मतदाता नामावली गृहजिल्ला भोजपुरमै रहेकाले आफैलाई मत हाल्नबाट बञ्चित हुनु पर्नेछ। अघिल्लो पटक समानुपातिक कोटाबाट सांसद बनेको अर्थमन्त्री कार्की यो पटक भने भोजपुर छोडेर सुनसरी–४ बाट निर्वाचन लड्न लागेका हुन्।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको मतदाता नामावली डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असीग्राममा छ। अघिल्लो पटक समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकी आरजु यो पटक कैलाली–५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उठेकी छिन्। उनी पनि आफैलाई मत हाल्नबाट बञ्चित हुनेछिन्। २२ वर्षपछि पूर्वसभामुख दमननाथ ढुंगानालाई कांग्रेसले भक्तपुर–२ बाट उम्मेदवार बनाएको छ। उनी काठमाडौं–२ का मतदाता हुन्। त्यसैले ढुंगानाले पनि आफूलाई मत हाल्न पाउने छैनन्।

कांग्रेसकै अर्का नेता शंकर भण्डारी यो निर्वाचनमा तनहुँ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। उनी अघिल्लो निर्वाचनमा तनहुँ–१ बाट जितेका थिए। नेता भण्डारी मतदाता रहेको भानु नगरपालिका तनहुँ–१ मा भएकाले उनले आफैलाई भने मत हाल्न पाउने छैनन्।

नेकपा माओवादी केन्द्रका नेता एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महरा दाङ–२ बाट प्रतिनिधि सभा सदस्यमा उठेका छन्। रोल्पाका नेता महरा अघिल्लो पटक गृहजिल्लाबाटै निर्वाचन लडेका थिए। उनको मतदाता नामावली पनि रोल्पा नगरपालिकामै रहेकाले आफूलाई मतदान गर्न पाउने छैनन्। यस्तै, माओवादी केन्द्रकै नेता देवबहादुर गुरुङ यो पटक लमजुङबाट उम्मेदवार बनेका छन्। तर, उनको मतदाता नामावली भने मनाङको नासोङ गाउँपालिकामा छ। त्यसैले उनले पनि आफूलाई मत हाल्नबाट बञ्चित हुनु पर्नेछ।

यसैगरी काठमाडौं–१० बाट उम्मेदवार बनेका माओवादीकै नेता हितमान शाक्य काठमाडौं–६ का मतदाता हुन् भने काठमाडौं–१ मा उम्मेदवार बनेका युवा नेता अनिल शर्मा रुकुम पश्चिमका मतदाता हुन्। त्यसैले शाक्य र शर्माले पनि आफूलाई मत हाल्न पाउने छैनन्।

आफैँ उम्मेदवार बनेर पनि आफैलाई मत हाल्न नपाउनेको सूचीमा मधेसवादी दलका नेताहरु पनि छन्। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत हाल्न पाउने छैनन्।

ठाकुर गृहजिल्ला सर्लाही छोडेर यो पटक महोत्तरी–३ बाट प्रतिस्पर्धा गर्दैछन्। तर, उनको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा भएकाले आफैलाई मत हाल्न नपाउने नेपाल खबरले उल्लेख गरेको छ।

यस्तै, राजपाका अध्यक्ष मण्डलका सदस्य महतो सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता हुन्। तर, यो निर्वाचनमा महतो धनुषा–३ बाट प्रतिस्पर्धा गर्न लागेकाले आफूलाई मत हाल्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...