एमालेको किल्ला ताप्लेजुंगमा योगेशले यसरी जमाउदैछन् कब्जा,कांग्रेसका निरिह दाहालका सामु भट्टराईको गहकिलो पल्ला



२०४८ सालमा भएको आम निर्वाचन यताका परिणामलाई केलाउने हो भने ताप्लेजुङलाई एमालेको ‘लाल किल्ला’ भन्दा पनि फरक पर्दैन। ‘अपवाद’ उम्मेदवारले मात्रै कहिलेकाहीँ एमाले बाहेकका पार्टीबाट ताप्लेजुङमा चुनाव जितेका छन्। एमालेको ‘लाल किल्ला’ का रुपमा परिचित ताप्लेजुङमा यतिबेला चुनावी माहौल तातिएको छ।

अझ एमालेले ‘हेभिवेट’ उम्मेदवार उठाएपछि चर्चामा छ ताप्लेजुङ। वामपन्थी गठबन्धनका तर्फबाट एमालेले सचिव योगेश भट्टराई र कांग्रेसले केशव दाहाल प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। ताप्लेजुङ योगेशको गृहजिल्ला हो, जहाँबाट उनी विद्यार्थी राजनीति हुँदै एमाले सचिवसम्म पुगेका छन्।

अघिल्ला दुईवटा संविधान सभाको निर्वाचनमा योगेश काठमाडौं क्षेत्र नम्बर ६ बाटै चुनाव लडेका थिए। २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका थिए। तर, उनी नेकपा माओवादी केन्द्रका हितमान शाक्यसँग पराजित भएका थिए।

दोस्रो संविधानसभा निर्वाचनमा पनि योगेश काठमाडौं क्षेत्र नम्बर ६ बाटै दोस्रो पटक उम्मेदवार बने। तर, त्यतिबेला पनि उनी सफल हुन सकेनन्। भट्टराई कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानसँग पराजित भए। त्यसपछि स्थानीय तहको निर्वाचन लगत्तै योगेशले आफ्नो मतदाना नामावली नै गृहजिल्ला ताप्लेजुङ सारे। उनले नामावली गृहजिल्लामै सारेपछि त्यतिबेलै संसदीय चुनाव ताप्लेजुङबाट लड्ने चर्चा चलेको थियो।

 

संसदीय निर्वाचनमा योगेश तेस्रो पटक मैदान उत्रिएका छन्। दुईवटा निर्वाचनमा चुनाव हारेपछि एमालेका लोकप्रिय नेता भट्टराई सुरक्षित निर्वाचन क्षेत्र खोज्दै जन्मथलो ताप्लेजुङ पुगेका हुन्। हरेक निर्वाचनमा ताप्लेजुङमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक एउटा निर्वाचन क्षेत्रमात्रै कायम गरिएको छ। २०४८ साल यता भएका निर्वाचनमा अपबादबाहेक एमालेले नै दुवै निर्वाचन क्षेत्रमा चुनाव जित्दै आएको छ।

२०६४ सालमा भएको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नम्बर १ बाट कांग्रेसका सूर्यमान गुरुङ निर्वाचित भएका थिए भने क्षेत्र नम्बर १ बाट एमालेका डम्बर तुम्बाहाम्फे विजयी भएका थिए। तर, २०७० सालमा भएको निर्वाचनमा भने ताप्लेजुङका दुवै क्षेत्र एमालेकै उम्मेदवार विजयी भएका थिए। ताप्लेजुङ क्षेत्र नम्बर १ बाट एमालेका भुपेन्द्र थेबे कांग्रेसकी लीलादेवी बोखिम लिम्बुलाई झिनो मतले पराजित गरेका थिए। एमालेका थेबेले ७ हजार ४ सय ३४ मत पाउँदा कांग्रेसकी बोखिमले ७ हजार २ सय ९५ मत पाएकी थिइन्। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार सञ्चपाल मादेनले ६ हजार २ सय ७९ मत पाएका थिए।

क्षेत्र नम्बर २ मा पनि एमालेकै डम्बरध्वज तुम्बाहाफे कांग्रेसका प्रताव प्रकाश हाङ्गामलाई झण्डै २ हजार २ सय मतले हराउँदै विजयी भएका थिए। एमालेका तुम्बाहाम्फेले ७ हजार सय ३४ मत पाएका थिए भने प्रतावले ४ हजार ८ सय ७४ मत पाएका थिए। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार टंक आङ्बोहाङले ४ हजार ५ सय ५७ मत पाएका थिए।

अघिल्लो निर्वाचनका यी दुई क्षेत्रको मत विश्लेषण गर्ने हो भने एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। मंसिर १० र २१ मा दुई चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचमा वामपन्थी गठबन्धन बनाएर माओवादी–एमाले चुनावी मैदानमा उत्रिएका छन्। त्यसैले यी दुई निर्वाचन क्षेत्रमा एमाले र माओवादीको मत जोड्दा २५ हजार ३०४ हुन आउँछ, जुन कांग्रेसको भन्दा १३ हजार १ सय ३५ले बढी हो।

अघिल्लो निर्वाचनमा दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा अहिले एउटामात्रै क्षेत्र कायम भएको छ। भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी एमालेले २० हजार ५ सय ५१ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले १९ हजार ५ सय ७२ मत पाएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ हजार ३ सय ६६ मतमात्रै पाएको छ। स्थानीय तहमा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा वामपन्थी गठबन्धनका पक्षमा २४ हजार ९ सय १७ मत देखिन्छ। यो मत कांग्रेसको भन्दा ५ हजार ३ सय ४५ ले बढी हो।

कांग्रेसलाई ताप्लेजुङमा राप्रपा र राप्रपा प्रजातान्त्रिकको साथ छ। दुई दलको केही मत कांग्रेसलाई जोडिने छ। तर, स्थानीय तह निर्वाचनमा दलले पाएको मतलाई नै आधार मान्न भने सकिन्न।

लिम्बूहरुको ठूलो बसोबास रहेको सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङमा वाम गठबन्धन र कांग्रेसबाट गैरलिम्बू समुदायका उम्मेदवार उठेका छन्। एमालेका हेभिवेट उम्मेदवार योगेशसँग कांग्रेसले उठाएका उम्मेदवार दाहाल केही कमजोर मानिएको छ। कांग्रेसले उम्मेदवार बनाएका दाहाल केही समयअघि मात्रै भएको स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिकाको मेयर पदमा एमालेका छत्रपति प्याकुरेलसँग पराजित भएका थिए। दाहाल एमालेका प्याकुरेलसँग २ सय ३९ मतान्तरले पराजित भएका थिए। त्यसैले पनि योगेशसँगको प्रतिस्पर्धामा दाहाललाई कमजोर मानिएको छ।

अघिल्लो निर्वाचन ५८ हजार ८ सय ९ मतदाता रहेको ताप्लेजुङमा यो पटक ७८ हजार ४ सय ११ मतदाता छन्। अघिल्लो निर्वाचनभन्दा यस पटक झण्डै २० हजार मतदाता बढेका छन्। वाम गठबन्धन र कांग्रेस दुवैबाट गैरलिम्बु समुदायका उम्मेदवार रहेकाले पनि अहिले नै यसै भन्दा सकिने अवस्था भने छैन। तैपनि स्थानीय तह र अघिल्ला निर्वाचनको परिणामलाई हेर्ने हो भने सुरक्षित निर्वाचन क्षेत्र खोज्दै गृहजिल्ला ताप्लेजुङ पुगेका एमालेका हेभिवेट उम्मेदवार योगेशको सम्भावना निकै बलियो देखिएको छ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा