म्याग्दीको मोहरेडाँडामा पदमार्ग निर्माण कार्य सुरु



हाम्रो इकोनोमि

 

 

पर्वतको हम्पाल हँुदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ ।

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्गका व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिनुभयो ।

जंगलको झाडी हटाएर फराकिलो बाटो बनाइएको हो । यसअघि हम्पालदेखि जलजला हुँदै धिमेडाँडासम्म घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था थियो । हम्पालदेखि धिमे डाँडासम्म नयाँ पदमार्ग निर्माण गरेपछि ३० मिनेट यात्रा अवधि छोट्टिएको छ ।

नागी र शालिजाको तारेका युवाले सो पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग व्यवस्थापन समितिले रु ३० हजार अनुदान उपलब्ध गराएको थियो । समितिले उपलब्ध गराएको अनुदानको तुलनामा तेब्बर बढी रकम बराबरको काम भएको व्यवस्थापक पुनले बताउनुभयो ।

पदमार्ग सुधार गरिएपछि पर्यटकलाई यात्रा गर्न सहज भएको छ । बाटो बिराउने समस्या हटेको छ ।

त्यसैगरी डाँडाकटेरी र लोप्रेका बासिन्दाले पनि पदमार्ग व्यवस्थापन समितिको सहयोगका साथै श्रमदान गरेर बाटोमा ढुंगा बिछ्याउने र मर्मत गर्ने काम गरेका छन् ।

पदमार्गको नक्साअनुसार विभिन्न ठाउँमा सूचनापाटी राख्ने तयारी गरिएको छ । ठाउँको नाम, अवस्थित उचाइ लगायतका विवरणसहितको सूचनापाटीका साथै दोबाटोमा स्थायी संकेत बोर्ड राख्न लागिएको व्यवस्थापक पुनले जानकारी दिनुभयो ।

शालिजाको तारेका युवाले पदमार्गअन्तर्गतपर्ने धिमेडाँडामा खाना, खाजा खाने होटल सञ्चालन गरेका छन् । पदमार्ग क्षेत्रका ४२ जना युवालाई पर्यटक गाइडसम्बन्धी तालीमसमेत प्रदान गरिएको छ ।

म्याग्दीको घुमाउने तालदेखि बाँसखर्क, डाँडाकटेरी, नाँगी, हम्पाल, मोहरे डाँडा, फूलबारी, प्यारीबाराही ताल, टिकोट र खिवाङलाई समेटेर विसं २०६७ देखि समुदायको पहलमा पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।

समुदायको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित पदमार्गको भ्रमणमा आउने पर्यटक बढ्दै गएपछि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पर्यटकको सुविधाका लागि बाँसखर्क, डाँडाकटेरी, टिकोट र खिवाङमा होमस्टे, नाँगी, मोहरे डाँडा र फूलबारीमा सामुदायिक लज सञ्चालन गरिएको छ ।

ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खला, सूर्योदयको दृष्यावलोकन र गुराँसे जंगल यस पदमार्गको आकर्षण हो । सामुन्द्रिक सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित मोहरे डाँडा यस पदमार्गको प्रमुख गन्तव्य बनेको छ ।
–––

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...