यस्तो आयो २ नम्बर प्रदेशको गोप्य रिपोर्ट,कुन दलले कति तह जित्दैछन ?



तेस्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा असोज २ गते स्थानीय तह निर्वाचन हुँदैछ। चुनावी प्रचार प्रचारको अन्तिम दिन शुक्रबार सबै राजनीतिक दलका शीर्ष नेताहरुले विभिन्न जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन्। ४८ घन्टे मौनअवधि सुरु हुनु अघि दलहरुले मतदाता आफ्नो पक्षमा तान्ने अन्तिम प्रयास पनि गरेका छन्। निर्वाचन आयोगले शुक्रबार राति १२ बजेदेखि ४८ घण्टे मौन अवधि तोकेको छ।

दुई नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुन लागेको निर्वाचनमा प्रमुख तीन दल कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रसहित मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले पहिलो पार्टी बन्ने दाबी गरेका छन्। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपा नेपालले ६ दल मिलेर एकीकृत पार्टी बनेकाले दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्नेमा शंका नरहेको दाबी गरेको छ भने कांग्रेसको मधेस नै आफ्नो आधारभूमि भएकाले पहिलो दल बन्ने दाबी छ।

एमालेले पनि राष्ट्रियताका सवालमा कसैसँग सम्झौता नगरेकाले आम जनताले दुई नम्बर प्रदेशमा आफ्नै पक्षमा मत हाल्ने र पहिलो पार्टी बन्ने दाबी गरिरहेको छ। माओवादी केन्द्रले भने संविधान संशोधन लगायतका विषयमा अग्रसरता आफूले नै लिएकाले दुई नम्बर प्रदेशमा राम्रो पोजिसन हात पार्ने दाबी गरेको छ। पहिलो दल बन्ने माओवादीले दरिलो दाबी नगरेपनि मधेसी जनताको विश्वास आफूमै भएको दाबी गरिरहेको छ।

एक नम्बर पार्टी बन्ने कांग्रेसको दाबी
पहिलो र दोस्रो चरणको निर्वाचनबाट दोस्रो पार्टी बनेको कांग्रेसले दुई नम्बर प्रदेशमा पहिलो दल बन्दै समग्रमा पहिलो पार्टी बन्ने दाबी गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खास मधेसीको पार्टी कांग्रेस नै भएकाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्। देउवाले मात्रै होइन, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता विमलेन्द्र निधिसहितका नेताहरुले कांग्रेसको जन्मभूमि नै मधेस भएकाले पहिलो पार्टी बन्नेमा कुनै शंका नरहेको दाबी गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य एवं अनुशासन समितिका संयोजक रमेश रिजालले कांग्रेस पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताए। रिजालले भने,‘कांग्रेसको आधारभूमि भनेकै मधेस क्षेत्र हो। मधेसी जनताको हक अधिकारका लागि हामी वर्षौदेखि लड्दै आएको पार्टी हो। त्यसैले जनताको भरोसा हामीमै छ।’ उनले मधेस र मधेसी जनताका हरेक सुख दुःखमा कांग्रेसले नै साथ दिँदौ आएकाले जनताको न्यानो साथ स्थानीय तह निर्वाचनमा पनि पाउने दाबी गरे।

रिजालले पर्सादेखि पूर्व सप्तरीसम्म अधिकांश ठाउँमा कांग्रेसकै वर्चश्व रहेको दाबी गरे। ‘अधिकांश स्थानीय तहमा हामी अगाडि छौं। चुनाव पनि जित्ने माहौल बनेको छ। १३६ मध्ये कम्तिमा एक सय सिट जित्छौं,’ उनले भने। दुई नम्बर प्रदेशमा १०० सिट नजितेपनिपहिलो पार्टी बनेर समग्रमा पनि पहिलो पार्टी बन्ने कांग्रेसको आन्तरिक रिपोर्टिङ छ।

एमाले भन्छ: ७० सिट जित्छौं
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट पहिलो पार्टी बनेको एमालेले तेस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी बन्ने दाबी गरिरहेको छ।

एमाले सचिव योगेश भट्टराईले दुई नम्बर प्रदेशमा पनि आफ्नो पार्टी पहिलो बन्ने बताए। सचिव भट्टराईले भने,‘१३६ मध्ये कम्तीमा ७० सिट जित्छौं। पहिलो पार्टी पनि हामी नै बन्छौं।’

एमालेको पूर्व पश्चिम राजमार्ग छेउमा पर्ने स्थानीय तहमा राम्रो प्रभाव छ। राजमार्ग क्षेत्रमा राम्रो पकड रहेको एमालेको मिर्चैया, हरिवन, चन्द्रपुर, निजगढ, बर्दिवास लगायतका नगरपालिकामा पहिलेदेखि नै वर्चश्व छ।

दोस्रो संविधानसभाको परिणामलाई हेर्दा दुई नम्बर प्रदेशका पर्सा र बारामा एमालेले राम्रो परिणाम हात पारेको थियो। पर्साका पाँचवटा चुनावी क्षेत्रमध्ये एमालेले तीनवटामा विजय हासिल गरेको थियो भने बाराका ६ वटामध्ये ३ वटामा जित हासिल गरेको थियो। दोस्रो संविधानसभामा सर्लाहीमा एमालेले एक, रौतहटमा २, धनुषामा १, महोत्तरीमा २, सप्तरीमा १ र सिरहामा १ स्थान जितेको थियो।

पार्टी महासचिव इश्वर पोखरेलको कमाण्डमा एमाले मधेस झरेको छ। महासचिव पोखरेलको मुल कमाण्डमा दुई नम्बर प्रदेशका आठवटै जिल्लामा केन्द्रिय पदाधिकारीको कमाण्डमा एमालेले चुनावी अभियान सञ्चालन गरेको थियो।

बैठकको निर्णय अनुसार नै महासचिव पोखरेल वीरगञ्ज, उपमहासचिव विष्णु पौडेल बारा, उपमहासचिव घनश्याम भुषाल रौतहट, सचिवहरु योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही, भीम आचार्य सप्तरीमा खटिएर चुनावी कमाण्ड सम्हालेका थिए। यस्तै, पृथ्वीसुब्बा गुरुङ महोत्तरी र प्रदीप ज्ञवाली लहानमा खटिएका थिए।

एमाले बरिष्ठ नेता माधवकुमार नेपालपनि गृहजिल्ला रौतहटमा सक्रिय बने। एमालेले आफ्ना चुनावी एजेण्डाका रुपमा मधेसमा विकासको कुरा उठाएको छ। एमालेले हुलाकी सडकमा बजेट हालेको, राजमार्गका सहर आधुनिक बनाउन बजेट बिनियोजन गरेको, राजमार्ग फराकिलो पारेको, गरिव र विपन्नलाई आवासका लागि बजेट छुट्याएको भन्दै मत मागिरहेको छ।

एमालेलाई संविधान संशोधनको विपक्षमा उभिएर मधेसी जनतालाई अपमान गरेको, होच्याएको आरोप लाग्दै आएको छ। सबैभन्दा कडारुपमा उत्रिने अध्यक्ष केपी शर्मा ओली शुक्रबार बाराको जितपुर, रौतहट र बर्दिबासको चुनावी कार्यक्रममा मात्रै उपस्थित भए। एमालेले संविधान संशोधन प्रस्ताव मधेसी जनताका विरुद्धमा रहेकाले असफल बनाएको स्पष्टिकरण दिँदै भोट मागेको छ।

माओवादी केन्द्रको दाबी ४५ सिट
माओवादी केन्द्रले तेस्रो चरणको निर्वाचनमा अघिल्लो पटकको भन्दा परिणाम सुधार गर्ने रणनीतिका साथ मैदान उत्रिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले दुई नम्बर प्रदेशका आठवटै जिल्लामा पुगेर आफ्नो पार्टीका उम्मेदवारका पक्षमा भोट मागे। गत भदौ १२ गतेदेखि प्रचण्ड प्रायः जसो मधेसमै केन्द्रित भएका छन्। बीचमा एक दिन काठमाडौं आएर पुनः मधेस झरेका थिए।

माओवादी केन्द्रले २ नम्बर प्रदेशको निर्वाचनका लागि ठूलै कसरत गरिरहेको छ। यसबीचमा प्रचण्डले दैनिक आधा दर्जनभन्दा बढि चुनावी सभाहरुलाई सम्बोधन गर्दै आफ्ना उम्मेदवारका पक्षमा मत मागेका छन्। माओवादी केन्द्रले ४५ वटा स्थानीय तह जित्ने दाबी गरेको छ। माओवादीले आन्तरिक रुपमा सर्लाही, रौतहट, महोत्तरी, सिरहा र सप्तरीमा राम्रो आफ्नो पक्षमा राम्रो मत आउने आशा राखेको छ।

माओवादी केन्द्रका एक नेताले भने,‘हामीले आन्तरिक रुपमा सर्लाहीमा ७, सप्तरीमा ६, रौतहटमा ६, महोत्तरीमा ५ र सिरहामा ६ स्थानीय तह जित्ने आंकलन गरेका छौं।’

राजपाको दाबीः पहिलो आफू, दोस्रो कांग्रेस
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपा नेपाल दुई नम्बर प्रदेशको निर्वाचनमा चुनावी मैदानमा ओर्लिएको छ। संविधान संशोधनको माग गर्दै आएको राजपा नेपाल संसदबाट प्रस्ताव फेल भएपछि त्यसैलाई मुख्य मुद्दा बनाएर चुनावी मैदानमा होमिएको छ।

मधेस केन्द्रीत ६ दल मिलेर बनेको राजपा नेपालले मधेस र मधेसीका पक्षमा लामो समयदेखि लड्दै आएकाले आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेको छ। राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विगतमा टुक्रा टुक्रामा विभाजित भएका दल एक ठाउँमा उभिएकाले मधेसी जनताले राजपालाई नै पहिलो पार्टी बनाउने दाबी गर्छन्।

‘हामी एउटै मुद्दाका लागि विभाजित भएर विगतमा लडेका थियौं। मधेसी जनताकै दबाबका कारण हामी ६ दल एक एकीकरण भएर एउटा पार्टी बनेका छौं। जनताको हामीप्रति आशा ठूलो छ। अब मधेसी जनताको पार्टी राजपा नै हो। चुनावमा हामी नै पहिलो पार्टी बन्छौं,’ भण्डारीले भने। नेता भण्डारीले राजपा नेपालको मुख्य प्रतिस्पर्धी नै कांग्रेस भएको बताए। ‘हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो। तर, हामी पहिलो पार्टी बन्छौं। यसमा शंका छैन,’ उनले भने।

राजपाले आठै जिल्लामा आफ्नो वर्चश्व रहेको दाबी गरेको छ। संविधान संशोधनको लडाइ नसकिएकाले त्यसलाई नै मुख्य मुद्दा बनाएर आफूहरु चुनावमा होमिएकाले मधेसी जनताले यसपटक न्याय गर्ने राजपा नेपालको दाबी छ।

राप्रपा भन्छ–मधेसवाट केही अपेक्षा छ
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दुई नम्बर प्रदेशको निर्वाचनमा अघिल्लो पटकको भन्दा राम्रो परिणाम आउने अपेक्षा गरेको छ। ने राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले मधेसबाट आफूहरुले केही आशा गरेको बताए। ‘तराईका जिल्लामा राजतन्त्र र हिन्दु धर्म पक्षधर जनमत छ। त्यसलाई हामीले भोटमा बदल्ने प्रयास गरिरहेका छौं। सन्तुष्ट हुने खालको नजिता आउनेमा ढुक्क छौं,’ श्रेष्ठले भने।                                    मनोज खतिवडाको सहयोगमा

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्