यस्तो थियो ७० को चुनाबमा २ नम्बर प्रदेशमा पार्टीहरुको हैसियत,कांग्रेस र एमालेको यसरी हुदैछ टक्कर



हाम्रो इकोनोमि

आगामी असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तह निर्वाचनका लागि सबैजसो दल तीब्ररुपमा प्रचारप्रसारमा जुटेका छन् । ६ वटा प्रदेशको चुनाव सकिएको अवस्थामा सबैजसो दलका शीर्ष नेता २ नम्बर प्रदेशमै केन्द्रित भएका छन् ।

यो चुनाव सबैजसो दललाई प्रतिष्ठाको विषय पनि बनेको छ । खासगरी संविधान संशोधनको मुद्दासँग जोडिएको यो प्रदेश र यही प्रदेशलाई आधारभूमि मान्ने दलहरुका कारण प्रदेश नम्बर २ को चुनाव सवै दलको प्रतिष्ठाको विषय बन्न पुगेको हो ।

नेकपा एमाले

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई तेस्रो चरणमा प्रदेश नम्बर २ मा हुन लागेको निर्वाचन रणनीतिक रुपमा यसअघिका दुई चरणभन्दा महत्वपूर्ण छ । एमालेले यो चुनावलाई आफ्नो राष्ट्रवादी छबीलाई अनुमोदन गर्ने चुनावका रुपमा लिएको छ ।

मधेसवादी दलहरुको संविधान संशोधनको मागमा लामो समयदेखि औचीत्य खोज्दै आएको एमालेले संविधान संशोधन विधेयक निर्णयार्थ संसदमा पेश हुँदा विपक्षमा भोट हालेको थियो । र उसकै विपक्षमा परेको भोटका कारण संशोधन विधेयक फेल भएको थियो ।

यसलाई एमालेले राष्ट्रवादी शक्तिको जित ठान्दै यही जितलाई अनुमोदन गर्न दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्न जोडतोडका साथ लागिपरेको छ । नेकपा एमालेले दोस्रो संविधानसभा निर्वाचन २०७० मा उक्त प्रदेशका ८ जिल्लामा रहेका ४८ संसदीय सिटमध्ये जम्मा १४ सिट जितेको थियो ।

नेपाली कांग्रेस

इतिहासलाई हेर्ने हो भने नेपाली कांग्रेसको मुख्य आधारभूमि तराई प्रदेश नै हो । त्यसबाहेक गत दोस्रो संविधानसभा निर्वाचनमा पहिलो शक्ति बनेको कांग्रेस स्थानीय तह निर्वाचनमा पनि पहिलो शक्ति नै बन्न चाहन्छ । तर पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाले कांग्रेसलाई पहिलो बन्न दिएन ।

दुर्इ चरणमा गरी करिब ४८ स्थानमा पछि परेको कांग्रेसले तेस्रो चरणको निर्वाचनमा एक सय बढी सिट जित्ने लक्ष्य लिएको छ । कांग्रेसले संविधान संशोधन विधेयक पास गराउन प्रत्यत्न गरेको, मधेस आफ्नो आधारभूमि रहेको जस्ता आधारहरुमा टेकेर उक्त प्रदेशमा पहिलो शक्तिमात्र होइन एक सय बढी सिट जितेर पहिलो शक्ति बन्ने दाउमा लागेको हो । नेपाली कांग्रेसले संविधानसभा निर्वाचन २०७० मा सो प्रदेशमा रहेका ८ जिल्लाका २१ संसदीय सिट जितेको थियो ।

नेकपा माओवादी केन्द्र

माओवादी केन्द्र तेस्रो चरणमा हुन लागेको दुई नम्बर प्रदेशको निर्वाचनमा पहिलो शक्ति बन्ने दाउमा छ । उसले यसअघिका दुई चरणमा निकै पछाडि पर्नु परेको पीडा भूल्ने गरी यो प्रदेशमा पहिलो शक्ति बन्ने उसको दाउ छ ।

त्यसो त मधेससँग लभ परेको भन्दै उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल लामो समयदेखि सोही प्रदेशमै छन्, उनले संविधानसभा चुनाव पनि सोही प्रदेशबाटै जितेकाले उक्त प्रदेशमा आफ्नो प्रभुत्व जमाउन सकिने आँकलन उनको पनि छ । माओवादी केन्द्रले दोस्रो संविधानसभा निर्वाचनमा सो प्रदेशबाट जम्मा ७ सिट जितेको थिए । जसमध्ये एक अध्यक्ष पुष्पकमल दाहाल पनि हुन् ।

मधेस केन्द्रित दल

मधेस नै आधारभूमि भएका मधेस केन्द्रित दल आफूहरुको प्रभाव राम्रो भएको पार्नलाई पनि उक्त प्रदेशमा जित्नै पर्ने बाध्यतामा छन् । वास्तवमा यो प्रदेशको चुनावले मधेसवादी दलको भविस्यको छिनोफानो गर्नेछ । त्यसमध्ये राजपा अन्य निर्वाचनमा सहभागीसमेत भएको थिएन । दुई नम्बर प्रदेशमा मधेसवादी दलले जित्ने स्थानीय तहको आधारमा उसको भविष्य निर्धारण हुनेछ र आगामी मंशिरमा हुने केन्द्र र प्रदेशसभाको चुनावमा उसको हैसियत के हुने भन्ने चित्रसमेत यही चुनावले देखाउने छ ।

मधेस केन्द्रित दलको आधारभूमि रहेको सो प्रदेशमा संविधान सभा निर्वाचन २०७० मा सो प्रदेशबाट ६ संसदीय क्षेत्रमा मात्रै जित निकालेका थिए । सो निर्वाचन ताका मधेसका दल फुटेर टुक्राटुक्रा भएको अवस्था थियो । संविधानसभा निर्वाचन २०६४ मा झण्डै तेस्रो ठूलो दल बन्न आँटेको मधेसी जनअधिकार फोरम ०७० को निर्वाचन आपसी बेमेलका कारण छिन्नभिन्न हुँदा निकै थोरै सिटमा खुम्चिएको थियो ।

यसपटकको निर्वाचनमा भने त्यतिबेला टुक्रिएका केही पार्टी र पुराना पार्टीहरु गरी ६ वटा पार्टीको गठबन्धन भई राजपा गठन भएको छ । सो पार्टीले आफू नै मधेसको सक्कली शासक भएको ठाने पनि यसपटक राजपा नै पहिलो होला भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक यसअघिका दुई चरणमा सम्पन्न निर्वाचनमा निकै कमजोर देखिएपछि यो चुनावमा पनि खासै सुधारिएको नतिजा आउनेमा आशंका भइरहेको छ । नेपालताराका अनुसार यी दुबै पार्टीले आफूहरुलाई सो प्रदेशको ठूलो शक्ति मान्ने गरेका छन् ।

संविधान सभा २०७० को नतिजा

जिल्ला सप्तरी, निर्वाचन क्षेत्र संख्या ६ः माओवादी ३, कांग्रेस २, एमाले १ निर्वाचन क्षेत्रमा विजयी ।

जिल्ला सिराहा, निर्वाचन क्षेत्र ६ः कांग्रेस ४, माओवादी १ र एमाले १ क्षेत्रमा विजयी ।

जिल्ला बारा, निर्वाचन क्षेत्र ६ः एमाले ३ र कांग्रेस ३ क्षेत्रमा विजयी ।

जिल्ला पर्सा, निर्वाचन क्षेत्र ५ः एमाले ३ र कांग्रेस २ निर्वाचन क्षेत्रमा विजयी ।

जिल्ला धनुषा, निर्वाचन क्षेत्र ७ः कांग्रेस ५, सद्भावना पार्टी १ र एमाले १ क्षेत्रमा विजयी ।

जिल्ला महोत्तरी, निर्वाचन क्षेत्र ६ः कांग्रेस २, एमाले २, स्वतन्त्र १, माओवादी १ क्षेत्रमा विजयी ।

जिल्ला सर्लाही, निर्वाचन क्षेत्र ६ः कांग्रेस २, माओवादी १, एमाले १, तराई मधेस सद्भावना पार्टी १, तराई मधेस लोकतान्त्रिक पार्टी १ क्षेत्रमा विजयी ।

र, जिल्ला रौतहट, निर्वाचन क्षेत्र ६ः एमाले २, माओवादी २, कांग्रेस १, मजफो १ क्षेत्रमा विजयी ।

तमसपा र तमलोपा हाल राजपामा रुपान्तरित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...