वीरगञ्ज महानगरमा चुनाबी रन्को, कस्ता-कस्ता उम्मेदवार छन् मैदानमा?



बाढी र डुबानले आहत पर्सा जिल्लामा विस्तारै चुनावी चहलपहल देखिन थालेको छ। खासगरी वीरगञ्ज र यस वरपरका क्षेत्रमा राजनीतिक दलका गतिविधिहरु बढ्न थालेका छन्। ठूला दलहरुले आफ्ना उम्मेदवारहरु अघि सारेका छन्। र, २ असोजको स्थानीय निर्वाचनलाई मध्यनजर राख्दै मतदाता रिझाउने अभ्यास गरिरहेका छन्।

‘त्यसो त हामी अघिपछि चुपचाप थियौं भन्ने होइन, बाढी–डुबानका बेला पनि हामी उद्धार र राहतमा केन्द्रीत थियौं’ नेपाली कांग्रेसले विरगञ्ज महानगरका लागि अघि सारेका उम्मेदवार तथा पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदीले भने, ‘अरु दलका साथीहरु पनि अब प्रचारप्रसारमा उत्रनु भएको छ। चुनावी माहौल बनिरहेको छ।’

कांग्रेसले मैदानमा उतारेका अजयकुमार द्विवेदी वीरगञ्जमा होइन पर्सा जिल्लामा नै कहलिएका नेता हुन्। तर महानगरको बदलिँदो महत्वकांक्षा र चुनावी गणितले कांग्रेसको पोजिसन तय गर्ने यहाँका जानकारहरु बताउँछन्। ‘द्विवेदीवावु राम्रो मान्छे हो तर चुनाव जित्न भने उनले अझै परिश्रम गर्नुपर्छ कि भन्ने लाग्दछ’ विरगञ्जका पुराना ब्यापारी हरश यादव भन्छन्, ‘उनको सबैभन्दा ठूलो बल के हो भने उनलाई धेरैले चिन्दछन्। जान्दछन्।’

विरगञ्ज महानगरका लागि कांग्रेसबाट झण्डै एक दर्जन आकांक्षीहरु देखिएका थिए। तर लोकप्रियताका हिसावले अजयकुमार बराबर पार्टीभित्र अरु नभएपछि जिल्ला समितिले नै उनको नाम अनुमोदन गरेर केन्द्रमा पठाएको थियो। उनी यसअघि वीरगन्जको उपमेयर र पहिलो संविधानसभामा पर्सा क्षेत्र नं. २ बाट सभासद भइसकेका नेता हुन्। राजनीतिक गतिविधिसँगै सामाजिक काममा समेत समानान्तर लाग्दै आइरहेका द्विवेदी अहिले सतहमा देखिएका उम्मेदवारहरुभन्दा अलिक अग्ला उम्मेदवार मानिन्छन्।

उता, यो चुनावमा महानगरबाट अप्रत्याशित रुपमा आफूहरुले बाजी मार्ने दाबी गरिरहेको प्रतिपक्षी दल एमालेले यसपटक वीरगञ्जमा पूर्वमाओवादी व्यक्तित्वलाई टिकट दिएको छ। महमद बसरुद्दिन अन्सारी जो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उम्मेदवार थिए, उनैलाई एमालेले वीरगञ्ज महानगरको मेयरमा अगाडि सारेको छ। खासगरी मुस्लिम समूदाय र व्यापारिक घरनामा लोकप्रिय रहेका अन्सारीले नेपालखबरसँग भने, ‘चुनाव जित्ने भनेको काम गरेको आधारमा हो। मैले यो समाजको लागि काम गरेको छु। जित्छु।’

सम्बन्धनको विषयलाई लिएर हालैका दिनमा विवादित बनेको काठमाडौं घट्टेकुलोमा रहेको नेशनल मेडिकल कलेजका मालिक समेत रहेका अन्सारीले आफूले जितेमा सच्चा जनप्रतिनिधिका रुपमा काम गर्ने र वीरगञ्जलाई विकासको मार्गमा लैजाने प्रतिवद्धता व्यक्त गर्छन्।

अन्सारीलाई महानगरमा अघि सार्ने तयारी गरिरएको माओवादी केन्द्रले आफ्ना उम्मेदवार बाहिरिएपछि यसपटक नुतन र क्रियाशील एक युवा अनुहारलाई विरगञ्जमा मेयरको उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले सामाजिक अभियानमा सक्रिय रहबर अन्सारीलाई उम्मेदवार बनाएपछि वीरगञ्जको राजनीतिमा एक प्रकारको तरङ्ग नै पैदा भएको छ।

रहबर पनि वीरगन्जमा रहेको एक निजी अस्पतालका सञ्चालक हुन्। युवा वर्गमा लोकप्रिय रहबरलाई मैदानमा उतारेपछि दुवै संविधानसभा निर्वाचनमा पर्सामा निकै पछाडि देखिएको माओवादी केन्द्रलाई वीरगन्ज महानरगमा भने आशा जुटेको छ।

रहबरले युवा वर्ग, मुस्लिम र पार्टीप्रति प्रतिबद्ध मत एकत्रित गर्न सक्ने केन्द्रका नेताले आँकलन गरेका छन्। ‘पार्टीका नेताहरु खुशी हुनेभन्दा मैले वीरगञ्जलाई कसरी बदल्न सक्छु भन्ने एजेण्डाहरु महत्वपूर्ण हुन्’ हंगेरीमा पढेर फर्केका रहबरले भने, ‘मूलतः नयाँ पुस्ताले यो महानगरलाई कस्तो देख्न चाहन्छ, त्यो उसो अधिकार हो। मैले त्यही अधिकार अनुसार काम गर्ने हो।’

संघीय समाजवादी फोरम नेपालले पनि महानगरको महत्वलाई केन्द्रित गर्दै विजयकुमार सरावगीलाई मेयर उम्मेदवारका रुपमा मैदानमा उतारेको छ। वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको दुईपटक सदस्य भइसकेका सरावगीलाई उम्मेदवार बनाएपछि यहाँ समाजवादी फोरमको चर्चा चुलिँदै गएको छ।

सरावगी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन्। उद्योपति तथा सामाजिक व्यक्तिको रुपमा परिचित उनलाई उम्मेदवारी बनाएको फोरमले नतिजा आफ्नो हातमा आउनेमा विश्वास रहेको बताएको छ।

प्रमुख दलहरुले महानरको मत आफ्नो पक्षमा पार्नका लागि जोडबल गरिरहँदा केही दल भने गृहकार्यमै रहेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) ले मेयर पदमा आकांक्षी दुईजना दाबेदार देखिएपछि नाम टुंगो लगाउन सकेको छैन। राजपाका तर्फबाट उम्मेदवारका दुई आकांक्षीमा राजेशमान सिंह र विमलप्रसाद श्रीवास्तव छन्। नेपाल खबरको सहयोगमा

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट

रास्वपाका कार्यकर्ताद्धारा पत्रकारमाथि हातपात, महासंघको विरोध

    पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी