भूपरिवेष्ठित देशको नाताले भारतसँग सहयोग चाहन्छौँः डा महत



हाम्रो इकोनोमि

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सहयोग परिषद् भारतद्वारा शनिबार साँझ नयाँ दिल्लीमा आयोजित ‘परिवर्तित भूराजनीतिक सन्दर्भमा नेपाल–भारत सम्बन्ध’ विषयको गोष्ठीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले एउटा भूपरिवेष्ठित देशका कारण नेपालका विशेषखालका र धेरै प्रकारका विकासका चुनौती रहेको बताउँदै भन्नुभयो, “हाम्रो अर्थतन्त्रको विकास र पूर्वाधारको निर्माणका साथै व्यापार प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पहुँच र विस्तारका लागि एक भूपरिवेष्ठित देशका नाताले हामी छिमेकी भारतसँग स्वभाविक रुपमै सहयोगको अपेक्षा राख्दछौँ र उसले हाम्रा समस्यालाई स्वभाविक रुपमै मनन गरिदियोस् भन्ने चाहन्छौँ ।”

डा महतले भारतले आफ्नो विकास र समृद्धिमा एक छिमेकीको नाताले नेपालको विकास, समृद्धि तथा स्थायित्वलाई पनि नबिर्सिन आग्रह गर्नुभयो । खुला सिमाना रहेका दुई छिमेकी मुलुकको सम्बन्ध निकै पुरानो भएको मात्र नभई हाम्रो संस्कार, परम्परा र अरु पनि धेरै कुरामा समानता रहेको प्रसंग उल्लेख गर्दै उहाँले सार्क, बिम्सटेक लगायत अन्तर्राष्ट्रिय संस्थाबाट पनि हामीले साझा चासो र विषयमा अन्तर्राष्ट्रिय मञ्चमा एकै आवाजका साथ काम गर्दै आएको बताउनुभयो ।

भारतको स्वतन्त्रताका लागि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले पनि योगदान पु¥यायनुभएको तथा नेपालमा प्रजातन्त्रका लागि भएका कतिपय अभियानमा भारतको सहयोग रहेकाले पनि दुई देशको राजनीतिक सम्बन्ध र समानता रहेको उहाँले बताउनुभयो ।

विश्वको एक उदीयमान अर्थतन्त्र भारतले कसरी प्रजातन्त्र र विकास साथसाथै अघि बढ्छ भन्ने उदाहरण संसारमै प्रस्तुत गरेको बताउँदै पूर्वमन्त्री डा महतले नेपालले पनि पछिल्लो समयमा आवधिक निर्वाचन र समावेशी प्रजातन्त्रको उत्कृष्ट अभ्यास गरिरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले हालै सम्पन्न गरेका निर्वाचनमा स्थानीय तहका करिब २५ हजार प्रतिनिधि छानिएका छन् र तीमध्ये ४० प्रतिशतभन्दा बढी त महिला छन् । त्यस्तै दलित, जनजाति एवं समाजमा सीमान्तकृत वर्गका नागरिक पनि यो निर्वाचनमा ठूलो संख्यामा निर्वाचित भएका छन् ।”

अब नेपालका सामु प्रदेश र केन्द्रीय तहको निर्वाचन सपन्न गर्ने दायित्व रहेको र नेपालको वर्तमान नेपाली काँग्रेस नेतृत्वको सरकार र सबै राजनीतिक दल यसका लागि जुटिसकेको जानकारी गराउँदै काँग्रेसका नेता डा महतले एक छिमेकीका नाताले नेपालको यो प्रजातान्त्रीकरण प्रक्रियामा भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै हो भन्नुभयो । सो कार्यक्रमको अध्यक्षता गर्नुभएका भारतीय कानुनमन्त्री रविशंकर प्रसादले नेपालको एक असल छिमेकीका रुपमा रहेको भारत सदैव समृद्ध र प्रजातान्त्रिक नेपालको पक्षमा रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...