प्रतिनिधिसभाको निर्वाचन समयमै नभए संविधान कार्यान्वयनमा जटिलता आउँछ: ओली



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमणबाट आज स्वदेश फर्केपछि सञ्चारकर्मीसँग उहाँले दुवै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताउनुभयो ।

संविधानमा आगामी माघ ७ गतेभित्र ती निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था छ ।

अध्यक्ष ओलीले भन्नुभयो – “यो समय पर सर्नु हुँदैन, कम्तीमा संघीय संसद्को निर्वाचन हुनुपर्छ, दुवै निर्वाचन एकैपटक गर्दा मतपत्रको प्राविधिक समस्या पर्ने भए एउटै मतपत्र राखी प्रत्यक्ष प्रणालीमा प्राप्त मतलाई सम्बन्धित दलले समानुपातिक प्रणालीमा पनि उत्तिकै मत प्राप्त गरेको प्रावधानमा पनि जान सकिन्छ ।”

अहिले मुलुक निर्वाचन केन्द्रित भएकाले संविधान संशोधनका लागि छलफल गर्ने समय नभएकाले निर्वाचनपछि त्यसबारे सोच्न सकिने उहाँले बताउनुभयो ।

संविधान संशोधन नभए निर्वाचनमा नजाने राष्ट्रिय जनता पार्टीको अडानबारे अध्यक्ष ओलीले भन्नुभयो – “राजपाले साना साना विषयमा निहुँ खोजेर लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नु हुँदैन ।”

उहाँले राजपासँग सम्झौता गर्ने नेपाली काँग्रेसकै कारण सो दलले दोस्रो चरणको निर्वाचनमा भाग नलिएको आरोप लगाउँदै “काँग्रेस अहिले पनि दाउपेचको राजनीतिमा छ, ऊ राजपालाई निर्वाचनभन्दा बाहिर राख्न चाहन्छ तर राजपा एमालेका कारण माग पूरा भएन भनिरहेको छ,” भन्नुभयो ।

अध्यक्ष ओली ल्हासाबाट सिगात्से र कैलाश मानसरोबरको सांस्कृतिक तथा पर्यटकीय भ्रमणमा जानुभएको थियो । त्यहाँ रहँदा उहाँले तिब्बत स्वशासित क्षेत्रका पदाधिकारीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

आफ्नो सरकारका पालामा भएका पारवहनलगायतका सम्झौता पूरा गर्न चिनियाँ पक्ष तयार रहेको बताउँदैै अध्यक्ष ओलीले रसुवाको केरुङ् सीमासम्म चीनले रेल बाटो बनाइरहेको र नेपाल सरकारले आग्रह गरेमा सीमाबाट यता नेपालमा पनि सो बाटो विस्तारमा सघाउन चीन तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसबारे आफूले सरकारलाई अवगत गराउने पनि बताउनुभयो ।

अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...