अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत मालपोत अधिकृत सहित चार जनालाई ५० हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ । आईतबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मालपोत अधिकृत चक्र बहादुर श्रेष्ठ, नायब सुब्बा राज कुमार घिमिरे, नायब सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा प्रसाद पोखरेललाई वेभ सेकुवा कर्नर कौशलटारबाट नियन्त्रणमा लिएको जनाएको छ ।
आपसी मिलेमतोमा संयुक्त श्रेस्ता कायम भएको जग्गाबाट सार्वजनिक बाटो कायम गरी बाँकी रहेको जग्गा अन्य व्यक्तिको नाममा दर्ता नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसंग विभिन्न बहानामा उनीहरुले घुस रकम लिन सेकुवा कर्नर आएकावेला घुस रकम सहित उनीहरु पक्राउ परेको अख्तियारको विज्ञप्तिमा भनिएको छ । भू माफियाको जालोमा परेका उनीहरुले यस अघि पनि त्यस्तै काम गरेको खुल्न आएको छ।