मेसी ५ वर्षसम्म बार्सिलोनामै रहने



हाम्रो इकोनोमि

काठमाण्डौं । लियोनल मेसी सन् २०२१ सम्म बार्सिलोनामै रहन तयार भएका छन् । यो अनुबन्ध भएपछि मेसीले आफ्नो सम्पूर्ण व्यावसाियक खेलजीवन स्पेनी क्लब बार्सिलोनामै टुंग्याउने निश्चित भएको छ । विश्व फुटबलका सुपर स्टार मेसीले १७ वर्षअगाडि बार्सिलोनासँग किशोर अवस्थामै अनुबन्ध गरेका थिए । नयाँ अनुबन्धपछि उनी ३४ वर्षको उमेरसम्म क्याटलन क्लबमै रहने छन् । बार्सिलोनाले नयाँ अनुबन्ध हुनेबारे बुधबार घोषणा गरेको हो ।

यससँग पाँचपल्टका बालोन डे’अर विजेताको भविष्यबारे रहेको अन्योल पनि समाप्त भएको छ । ‘प्रि–सिजनका लागि मेसी क्लबमा फर्केयता आउने केही सातामा सम्झौतामा हस्ताक्षर हुनेछ,’ क्लबले जनाएको छ । आफ्नो बाल्यकालदेखिकी प्रेमिकासँग विवाह गरेका मेसीले हालै अर्जेन्टिनामा हनीमून मनाइरहेका छन् । यसअघि मेसीले आफ्नो पहिलो क्लबका लागि खेल्न भविष्यमा अर्जेन्टिना फर्कने इच्छा देखाएका थिए ।

उनको पहिलो क्लब रोसारियोको सीए नेवेल्स ओल्ड ब्वाइज रहेको छ । तर उनले त्यति बेला आफ्नो प्रमुख उद्देश्य बार्सिलोनाका लागि थप बढी उपाधि जित्ने रहेको पनि बताएका थिए । मेसी १३ वर्षदेखि बार्सिलोनामा छन् । उनी यसै सहरलाई आफ्नो घर पनि मान्छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेफ मारियाले मेसीलाई क्लबमै राख्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका थिए । ‘हामी चाहन्छौं, विश्व फुटबलका उत्कृष्ट खेलाडीले बार्सिलोनाबाटै खेलोस् । मेसीले बार्सिलोनाबाटै खेल्न सुरु गरे, उनले संन्यास पनि बार्सिलोनाबाटै लेओस्,’ अध्यक्षले भनेका छन् ।

नयाँ अनुबन्धअनुसार उनले कति पारिश्रमिक पाउने हुन्, त्यो बाहिर आएको छैन । तर स्पेनी मार्का स्पोर्ट्स डेलीका अनुसार अनुबन्ध ३४ करोड डलर बराबर रहेको छ । दुई पक्षबीचको पछिल्लो अनुबन्ध सन् २०१८ मा समाप्त हुनेछ । मार्काका अनुसार अब मेसीले पारिश्रमिकमा प्रत्येक वर्ष दुई करोड युरो पाउने छन् । त्यसमा मेसीले विज्ञापनबाट पाउने रकम र राम्रो खेलेवापत पाउने बोनस समावेश छैन । सन् २००० मा मेसी बार्सिलोनाको युथ ट्रेनिङ सेन्टरमा आबद्ध भएका थिए ।

क्लबले बुधबार जनाएको छ, ‘मेसीले १६ वर्षको उमेरमा एफसी पोर्टोविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो टिमबाट खेले । लगत्तै उनले १७ वर्षको उमेरमा स्पान्योलबाट स्पेनी लिगमा डेब्यू गरे । नोउ क्याम्पमा उनले अल्बाटेसविरुद्ध पहिलो सिनियर स्तरको गोल गरे ।’ नयाँ अनुबन्ध भएयता बार्सिलोनाका समर्थकले राहत भने महसुस गर्न सक्ने छन् । अन्यथा पछिल्लो सिजन बार्सिलोनाका लागि खराब रह्यो । बार्सिलोनाले गत सिजन कोपा डे रे मात्र जित्न सकेको थियो ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...