उनले नगरकोट जाउँ भनिन्



हाम्रो इकोनोमि

मायापथः शनिबार साहित्य

रामकुमार एलन

‘हाइ, नमस्कार ।’ च्याटमा सत्कार स्वीकारेपछि उनले भनिन्, ‘म त हजुरको नियमित पाठक । सबै पढ्छु नछुटाइकन ।’ उनको कुराले खुशी भएँ । लेखकहरूको चिन्ता नै यही हो । दिमाग लगाएर, कपाल झारेर लेखियो, कसैले पढेनन् । प्रतिक्रिया आएन, यस्तै यस्तै चिन्ताले लेखकहरू पलायन भइरहेका हुन्छन् ।‘ओह नाइस, थ्यांक्स ।’ फकाएँ । सोधिन्,‘बिजी हो कि कुरा गर्न मिल्छ ?’ फ्रि नै भएको संकेत गरेँ र भनेँ, ‘उही त हो नि एउटा मायापथ लेख्नु छ फेरि ।’ ‘ए, कुन विषयमा हो नि यसपटक, कसलाई छोडाउँदै हुनुहुन्छ ?’ उताबाट कडा म्यासेज आयो । थपियो, ‘जनताका छोरीलाई काँक्राको चिरा झैँ पारेर पाठकलाई बेच्न सक्ने तपाईंको लेखाइलाई चैँ मान्नै पर्छ क्या । कसैका छोरीलाई, कसैका पत्नीलाई, कसैका बुहारीलाई यसरी गरम मसला बनाएर बेच्न सिकायो कसले ?’

‘ओ, हो, त्यस्तो होइन नि, समाजमा देखिएको दृश्यलाई शब्दमाला उनेको मात्र,’ लुकाउन खोजेँ । ‘हो नि खुबै,’ मान्छेलाई पानी–पानी बनाउने, अनि तिर्खा जगाएर भाग्ने तपाईं लाछी लेखक हो, आफ्ना आवेग खलल पोखाएर छ्यांग हुने, अरुको आवेगको भेउ नपाउने ।’ पेचिलो डाइलग आयो । ‘मैले कसलाई पानी–पानी बनाएँ र पानी नै बनाएपछि तिर्खा लाग्छ कसरी ?’ नादानी बनेँ । ‘यी लेखकहरू के भएका, तिर्खा लागेको कुरा लेख्छन् तर तिर्खा मेटाउने कुरै गर्दैनन्, तिर्खा लाग्छ मात्रै कि मेटाउनु पनि पर्छ ?’ एकपछि अर्को पेचिलो प्रतिक्रिया आउन छाडेन । लेख्न छाडेर गफिने रहर भयो । ‘कसको तिर्खा मेट्ने र,’ सोधेँ । ‘सबैको तिर्खा मेटिए पनि पानीको तिर्खा कसले मेटेको छ लेखकज्यू,’ फेरि घुमाइफिराइ पेच पार्ने कुरा आयो । ‘पानी पनि तिर्खाउँछ र,’ भनेँ, ‘पानीले त सबैको तिर्खा पो मेट्छ त ।’ ‘हो नि, त्यही पानी चैँ तिर्खाउँछ भनेर किन लेख्दैनन् लेखकहरू,’ मर्मभेदी प्रहार आयो, ‘कहिलेकहीँ कसैलाई पानी–पानी बनाएपछि तिर्खा पनि मेटाउनु नि । हुन त पानी भन्दा बढी अचेल कोकाकोलामा मन जान थालेको छ लेखकहरूको पनि, त्यो एउटा गीत छ नि, क्यारे, तिम्रो फिगर कोकाकोला ।’ लाइन गयो । इन्टरनेट एक्सेस हरायो ।

उनीका प्रश्नहरूले गम्भीर बनायो । खोइ के लेखियो, के लेख्न सकिएन । कोहीकोही पानी–पानी भएर तिर्खाइरहेको गुनासो आयो । सबैको गुनासो एउटै लेख र एक रंगमा बग्ने लेखकले पूरा गर्न पनि सक्दैन । त्यसमाथि पानी पनि तिर्खाउँछ भनेर सोचेकै होइन । जे होस्, यिनले आज नयाँ विषय दिइन् । सबैलाई प्यास मेटाउने पानी आफैँ तिर्खायो भने उनको प्यास मेटाउने के ले ? गम्भीर प्रश्न छाडेर गइन् । अफ भएँ, नेपाल विद्युत प्राधिकरण मीठा गफमा तगारो भइदियो । अन्जु पन्तले गाएको गीत रिवाइन्ड गरेँ मोबाइलमा ।

‘तिर्खा लाग्यो, पानी खाएँ, मैले के बिराएँ ? सुरुदेखि नै यो गीतले भाषा बिगा¥यो भन्नेमा एक हुँ । तिर्खा लाग्यो, पानी पिएँ, मैले के बिराएँ, मन पराएँ, जोवन दिएँ मैले के बिराएँ भनेको भए कति सुन्दर हुने थियो । पिउने पानीलाई खाने भन्ने ? लेखकहरू कम्ताका बुद्धिबिलासका नयाँ विषय ल्याउँदैनन् । हुन त सरकारले नै नेपाल खानेपानी संस्थान भनेपछि के को पिउने पानी । पिउने त कोकाकोला थियो, त्यो पनि अचेल स्त्रीको फिगरसँग जोडिन थाल्यो गीतमा । पानी खाने नै हो, जो तिर्खा लाग्दा । तर यहाँ पानीलाई मायासँग जोडेर पानी पनि तिर्खाउँछ भन्ने विषय आयो । हो, कञ्चन, निर्मल त्यो झरझर झरनामा कोही आएर द्रविभूत भएर स्नान गरिदेओस्, आफ्ना अङ्गअङ्गमा कञ्चन पानीका बुँदहरूले नृत्य गर्न पाउन्, सायद पानी यस्तै–यस्तै तिर्खामा झरनाबाट सिठ्ठी मारिरहेको हुन्छ । ‘हेल्लो किन अफलाइन, डराएको लेखकज्यू,’ मोबाइलमा म्यासेज आयो ।

फेसबुकमा मोबाइल नम्बर दिनुको फाइदा या बेफाइदा यसैमा छ । प्रोफाइल सर्च गरेर म्यासेज नै आयो । पक्कै उनकै हो, जवाफ फर्काएँ, ‘लाइन गयो ।’ ‘बहाना हो कि,’ उताबाट जवाफ आयो । होइन, लेख्न बाँकी भएको र लाइन गएकाले लेख्न नपाएको सुनाएँ । ‘कफी पिउन आउनुस्,’ हठात् निम्तो आयो । ‘कहाँ आउने ? काम छ मेरो त,’ यसपटक चैँ पहिलोपटकमै गइहाल्न हुन्न भन्दै हल्का बहाना बनाएँ । उनले बोलाएको लोकेसन त नजिकै थियो । भनिन्, ‘लाइन आएपछि पठाउँला क्या, आइसक्रिम हो र तपाईं खाएर सिध्याउला भन्ने डर, लेखक पो त, लेखकज्यूलाई अपहरण गर्दिनँ क्या ।’ यति भनेपछि आउने संकेत गरेँ । आखिर लाइन जाँदा काम नै के छ र ? कफी सपमा गफिँदै कफीको चुस्की लियौँ ।

उनले काठमाडौंका धेरै लेखकहरूको आन्द्राभुँडी गिजोलिन् । मानौँ यी ती सबै लेखकका पारिवारिक डाक्टर पो हुन् । सुनाइन् । भनिन्, ‘त्यो फलानालाई त मैले अनफ्रेन्ड हानेँ नि !’ सोधेँ, किन नि ? भनिन्, ‘उ अलि अराजक नै थियो क्या । यो कफी सपमा पनि उनैले हो बोलाएको मलाइ । उनको फ्यान थिएँ । तर मान्छे अराजक । त्यसपछि अनफ्रेन्ड गरेँ ।’ धेरै जान्न चाहिनँ । उ कति अराजक थियो, राम्ररी बुझ्छु । पछिल्लो समय सौराहामा भएको साहित्यिक गोष्ठीमा जाँदा उसले देखाएको हर्कत भुलेको छैन । बारमा पिएर बाहिर चौरमा लडेपछि उसका मोजा र जुत्ता कता हराएछ । भोलिपल्ट हामीले नै किनिदिएका हौँ । हाफ ज्याकेट पनि हराएर बिचल्ली भएको थियो । अझ राति २ बजेसम्म होटलमा महिला साहित्यकारका ढोका ढक्ढक्याएर तपाईंहरू सुत्नु भयो कि भएन भनेर चेक गरेको भन्दै ९९ कोणमा हिँडेको झल्झली सम्झना छ । भोलिपल्ट पनि कवि गोष्ठीमा आएका नयाँ पुस्ताका बहिनीहरूलाई बास्नासहित सुम्सुम्याएर तिमीहरूको भविष्य छ साहित्यमा भनिरहँदा उसका हात कहाँ थिए, साथीहरूले खिचेका छन् मोबाइलमा ।

‘टोलाउनु भयो त ?’ उनले क्रमभङ्ग गरिन् । धेरै लेखकहरूको आनीबानी र नानीबारे बताइन् । भनिन्, ‘त्यो फलानो त खेलौनाजस्तै हो नि ।’ मूला सडकछाप हो, सम्पादकले त्यस्ता झारेको पनि लेख छापेर स्थापित बनायो । घरमा बूढीलाई पिटछ्, बाहिर महिला अधिकारका पक्षमा लेख्छ–बोल्छ ।’ उनले खासमा बूढीबाट सन्तुष्टि नपाएर बाहिर खेलौना खोज्दै हिँडेपछि बूढीले गुनासो गर्दा पिटेको हो । त्यस्ता खत्तमलाई पनि लेखक बनायो मिडियाले ।

उनका कुरा निर्दोष स्रोता भएर सुन्दैछु, नादानी पोख्दैछु । लेखकहरू मै हुँ जान्ने–सुन्ने भन्छन् । तर पाठकहरू तीनसय प्रतिशत टाठा छन् कि, लेखकको औकात यसरी निफनिदिन्छन् सडकमा । उनका कुरा सुनेर गम खाएँ । ‘कफी सेलायो,’ च्याप्प हात समातिन् । नरम हातको स्पर्शले समवेदित हुन सकिनँ । सोधेँ, ‘पानीलाई तिर्खा कसरी लाग्छ ?’ उनी हाँसिन् । उनको मिर्मिरे आँखामा हेरेँ । यस्तो घुरेर हेरिन् कि आँखा भूइँतिर हेर्न हतारियो । पानीलाई तिर्खा लागेको ‘डेमो’ देखाएको झल्को पो आयो । कुरा मोडेँ, ‘घरमा को को छन्, के गर्छन् ?’ उनी बोलिनन् ।

फेरि सोधेँ, ‘किन चुपचाप ?’ भनिन्, ‘भन्दै जाउँला नि ।’ ‘हुन्छ,’ ‘हजुरको लेख मन पर्छ,’ फेरि प्रशंसा आयो । कुन कुन मन परे र ? त्यो थियो नि, ‘काजमा हाल्नु ।’ हाकिमले क्या ‘मिलाएर खाएको’ है होटलमै लगेर । उनको वाणीले लज्जित भएँ । हुन त २१ औँ शताब्दीको महिला न परिन् । अनि त्यो थियो नि, पत्रकारले मोडलको अन्तवार्ता छापेको, नगरकोटमा रात बिताएको, त्यो पनि दमदार थियो । उनले सबै पढेको झैँ गरेर लाइनलाइन भन्न थालिन् । विचरा सम्पादकलाई पनि रिपोर्टरले आफ्नो ओछ्यानको ब्लो अप छापेको थाहा हुँदैन रहेछ है पत्रकारितामा । उनले यस्ता विषय उठाइन् कि दिमाग घुम्न थाल्यो । भनिन्, ‘बैंकर भनौँदाहरू त साथीको श्रीमतीलाई पनि बाँकी राख्दैनन् है ।’ ओ हो, यो केटी कति पढन्दास । सबका सब लेख कण्ठ छ । हाँसिरहेँ । उनी बोलिरहिन् । भनिन्, ‘लाइन आउने बेला भयो, तपाईं जाने होला अब ।’ हो भनेँ । ‘अनि यो हप्ता कसलाई छोडाउने हो नि,’ सोधिन् । भनेँ, ‘मूड छैन, लेख्दिनँ होला ।’ भनिन्, ‘लेखकसँग एउटी पाठक ‘मूड’को कुरा लेख्नुस् न ।’ कस्तो कुरा ? उही, पानीलाई तिर्खा लागेको । उनको कुराले सत्रौँपटक गम्भीर बनायो ।

कस्तो तिर्खा लागेको हो र ? उही क्या अरुलाई जस्तै । तपाईंको लेखका पात्रलाई जस्तै । बाहिर अर्कीसँग लठारिँदा पनि घरकी बूढीको चिन्ता गर्ने बैंकरलाई जस्तै, बूढीसँग हुँदा पनि बाहिरकीलाई सम्झेर रिसाउने इन्स्पेक्टरजस्तै । ‘सबका तिर्खा उतार्ने, लेखकसँग पाठकको तिर्खा बुझ्ने क्षमता हुँदैन र ?’ कफीको पैसा उनैले तिरिन् । त्यसपछि हामी निस्कियौँ । अँगालोको इसारा आयो । पहिलोपटक भएकाले हात मात्र हल्लाएँ । एकटकले उनी हेरिरहेकी थिइन् । अलि पर बाटोमा पुगेपछि म्यासेज आयो । ‘खुशी लाग्यो, हजुरलाई मिस गरिरहेछु, मिल्छ भने शुक्रबार नगरकोट जाउँ न ।’

लेखकले दुनियाँलाई पानी–पानी हुने गरी लेख्दा कोही यसरी तिर्खाउँदा रहेछन् । पानीको तिर्खा मेट्नु लेखकका लागि कति गाह्रो हुन्छ, परीक्षामा उत्रने बेला आयो । म्यासेज फेरि आयो, ‘मूड बनाउनुस् है, म पनि नगरकोट जान एक्साइटेड छु, जहाँ तपाईंले धेरै पात्रलाई पानी–पानी पार्नु भएको थियो, त्यहाँ म पनि तपाईंलाई पानी–पानी पार्न सकूँ ।’ उफ्, पानी नै तिर्खायो भने लेखकले नै पँधेरो खन्नु पर्ने समाजको माग आयो । यो समाज यसरी नै जोडिइरहेको छ कि, भत्किरहेको छ ? यहाँ यस्ता अजिव– अजिवका पात्रहरू भेट हुन्छन् । ती सबै पात्र एउटा–एउटा कथा भनिरहेका हुन्छन् । वश, तिनको मनोदशा केलाएर सपाटसँग उतारेर एउटा नयाँ कथा पाठकलाई दिने कि, पाठकको नगरकोट भ्रमणमा सरिक भएर भ्रष्ट हुने ? मुद्दा यही हो, आम लेखकहरूको । के लेखकको मन हुन्न र ? के लेखक अरु जस्तै रहर भएको प्राणी होइन र ? धेरै अग्रजहरूले यस्तै पटके रहर पूरा गर्दा भविष्य अध्याँरो भएको छ । भएको घरबार तोडिएको छ र जोडिन नसकेको घरबारका कारण अलपत्र जीवन बाँचिरहेका छन् । पात्रको प्रवृत्तिलाई कथानक बनाउने हो लेखकले न कि पात्रको रहर पूरा गर्ने । हरेक पात्रको रहर पूरा गर्ने हो भने उसको परिचय लेखक होइन, जिगोलो हुन सक्छ ।

हुन त पात्रको कथा बुनेर लेख्न सके जिगोलो पनि लेखक हुन सक्छ तर लेखक जिगोलो कहिल्यै बन्नु हुँदैन । होला, एकाधको मनको रहर नमेटिएला, तर हजारौँ पाठकको सम्मान भेटिन्छ । तर समाजको यो भ्रष्टिकरण कसले सुरु ग¥यो, एउटा पाठकले पहिलो भेटमै नगरकोट जाउँ भन्ने कसले बनायो, खोजतलाश गर्नु पर्ने भएको छ । यसरी हाकाहाकी नगरकोट जाउँ न भन्ने प्रस्ताव चैँ नआओस् ल ! फेरि पनि जय होस् माया गर्नेहरूको ।

(मायापथ हरेक १५ दिनमा प्रकाशित हुनेछ)

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...