११ जलविद्युत आयोजना निर्माण हुँदै



हाम्रो इकोनोमि

म्याग्दी । म्याग्दीमा ३ सय ८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।
विद्युत् विकास विभागका अनुसार १ सय ४४ मेगावाट क्षमताका सातओटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १ सय ६४ मेगावाट क्षमताका चार आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् ।

३ सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवद्र्धक कम्पनीलाई अनुमति दिइएको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जानकारी दिए । २ सय ४२ मेगावाट क्षमताको आठओटा आयोजनाको सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन र विद्युत् खरीद विक्री सम्झौता गरेका आयोजनालाई निर्माणको अनुमति दिइएको उपमहानिर्देशक आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको छ ।

स्थानीय व्यापारी र सर्वसाधारणको लगानीमा घलेम्दी हाइड्रो लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४ वर्षअघि निर्माण शुरू गरेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।
रोबष्ट इनर्जीले नारच्याङमै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम तीव्र पारेको छ । अन्नपूर्ण गाउँपालिकाकै शिख घारमा म्याग्दी हाइड्रोपावरले ८.३ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ । वित्तीय स्रोत जुटाउन विभिन्न बैङ्कसँग सम्झौता भएको आयोजनाको पहुँचमार्ग, सुरुङ, बाँध र विद्युत्गृह निर्माणको काम शुरू गर्ने तयारी भएको कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।

धवलागिरि गाउँपालिकाको मुदीमा हाइड्रो इम्पाएरले २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण शुरू गरेको छ । यस्तै, धवलागिरि कालिका हाइड्रोले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला आयोजना स्थानीय र प्रवद्र्धकबीचको लगानी विवादले अघि बढ्न सकेको छैन ।

विद्युत् विकास विभागले रिसर्च एण्ड डेभलपमेण्ट ग्रूपलाई चार मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको अनुमति दिए पनि पर्यटकीयस्थल रुप्से झरना सङ्कटमा पर्ने भन्दै स्थानीयवासीले विरोधसमेत गरेका छन् । टुडी पावर कम्पनीले ४८ मेगावाटको अपर राहुघाट, नीलगिरि खोला हाइड्रोपावरले ३८ मेगावाटको नीलगिरि खोला, ट्रेडलिङ ग्लोबलले ७२ मेगावाटको अपर कालीगण्डकी र ह्युम कन्सल्टेण्टले ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको विभागले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी, वार्षिक ६ अर्बभन्दा बढी रकम बचत हुने

      पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...