१३ जलविधुत् कम्पनीको सेयर आउँदै



हाम्रो इकोनोमि

काठमाण्डौँ। नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ ।

बोर्डमा निवेदन दिएकामध्ये चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले सीमित साधारण सेयर जारी गर्न लागेको छ । आयोजनामा लगानी गर्ने वित्तीय संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीलाई रु ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरिएको छ । सो कम्पनीले गत वैशाख १२ गते निवेदन दिएको हो ।

यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारी, सञ्चयकर्तालाई रु एक अर्ब ६४ करोड २१ लाख बराबरको एक करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । रसुवागढीले गत वैशाख १३ गते बोर्डमा निवेदन दिएको हो ।

सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड पनि रहेको छ । सो आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु आठ करोड बराबरको आठ लाख कित्ता सेयर निष्कासनका लागि गत जेठ ३१ गते निवेदन दिएको हो ।

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई प्रदान गर्ने भएको छ । बोर्डकाअनुसार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीयवासीलाई रु तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ ।

शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु दुई करोड बराबरको दुई लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । उता बुटबल पावर कम्पनीले भने साधारण सेयर नै जारी नगरी फरदर पब्लिक अफर (एफपिओ) जारी गर्न लागेको छ । सो कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएको छ ।

त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासीका लागि रु ११ करोड बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

त्यस्तै राधी विद्युत् कम्पनीले पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ । सो कम्पनीले रु सात करोड ६४ लाख ५५ हजारको साधारण सेयर निष्कासन गर्न लागेको छ ।

लङ्घिङ बुद्धपावर कम्पनीले पनि स्थानीयवासीका लागि रु नौ करोड ७८ लाख बराबरको साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

युनिक हाइडेल कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि रु पाँच करोड ५५ लाख बराबरको सेयर निष्कासन गर्न लागेको छ । उता पञ्चकन्या जलविद्युत् कम्पनीले स्थानीयवासीलाई ११ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ भने नेपाल हाइड्रो डेभलपरले तीन लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने तयारीसहित बोर्डमा निवेदन दिएको छ ।

न्यादी पावरले पनि पहिलो चरणमा लमजुङको मस्र्याङ्दी गाउँपालिकालाई रु पाँच करोड बराबरको र लमजुङ जिल्लालाई रु १४ करोड ७० लाख बराबरको साधारण सेयर दिने तयारी गरेको छ । सोही आयोजनाले निकट भविष्यमा नै आमनागरिकका लागिसमेत रु ६३ करोड बराबरको साधारण सेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...