बेनी । म्याग्दीमा विभिन्न कम्पनीले ६ सय २३ मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएका छन् । यसरी अनुमति लिने मध्ये कतिपय कम्पनीले काम पनि शुरु गरिसकेका छन् ।
हिमालय इन्फ्रास्ट्रक्चर कम्पनीले ५३.३ मेगावाटको अपर म्याग्दीखोला पहिलो र ९५ मेगावाटको तिप्ल्याङ(कालीगण्डकी आयोजनाको अध्ययन अनुमति लिएका छन् ।
यसै गरी नारच्याङमा माउन्टेन इनर्जीले ६२ मेगावाटको नीलगिरिखोला, भुरुङतातोपानी, दाना र नारच्याङ क्षेत्रमै हाइड्रो सर्पोटले ५३ मेगावाटको मध्यकालीगण्डकी आयोजना, सात मेगावाटको रेलेखोला, मुना, मुदी र मराङ क्षेत्रमा हाइड्रो भिलेजले ५७ मेगावाटको म्याग्दीखोला, ४.६ मेगावाटको दरखोला, ८.२ मेगावाटको कुवनखोलाको अध्ययन अनुमति लिएको छ । त्यस्तै, राहुघाट क्षेत्रमा कुइनेमँगले क्षेत्रमै २१.३० मेगावाटको ठूलोखोला, ४.२ मेगावाटको सानोखोला, चिमखोलामा ५.२ मेगावाटको बगरखोलाको समेत अध्ययन अनुमति जारी भएको विभागले जनाएको छ ।
कालीगण्डकी करिडोर र राहुघाट क्षेत्रमा निर्माणधीन र निर्माण चरणमा रहेको विद्युत्लाई दाना(खुर्कोट सबस्टेसन र प्रसारण लाइन तथा म्याग्दीखोला क्षेत्रमा उत्पादन हुने विद्युत्लाई एक सय ३२ केभीए प्रसारण लाइनमार्फत पर्वतको मोदी सबस्टेसन जडान गर्ने सरकारी योजना छ । यही योजनाअनुरूप अहिले कालीगण्डकी करिडोरअन्तर्गत दाना र पर्वतको खुर्कोटमा सबस्टेसन र प्रसारण लाइनको काम भइरहेको छ । ४ मेगावाट घलेम्दी हाइड्रोका प्रबन्ध निर्देश प्रमोद श्रेष्ठले सरकारले कालीगण्डकी र म्याग्दीखोला क्षेत्रमा निर्माण हुने विद्युत् प्रसारण लाइन ग्यारेन्टी नगरेसम्म आयोजना समयमै सम्पन्न हुन नसक्ने बताउनुभयो ।