एसपीले नै दुई युवती अपहरण गरेको आरोप



हाम्रो इकोनोमि

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले बिल्कुलै रहस्यमयी तरिकाले शनिबार साँझ ८ बजे महेन्द्रनगरस्थित बसपार्कमा होटल सञ्चालन गरिरहेका दुई युवतीलाई पक्राउ गरेको दाबी गरेको छ । अपहरण शैलीमा प्रहरीले बसपार्कमा ‘स्टाफ होटल’ नामले व्यवसाय गरिरहेका पूजा नाथ र कञ्चन नाथलाई गिरफ्तार गरेको प्रत्यक्षदर्शीले बताए ।

कञ्चन विद्या मन्दिरनजिक डेरा गरी बस्ने ती दुई युवतीले होटल बन्द गरेर डेरातर्फ जाँदा उनीहरुसहित एक युवकलाई गिरफ्तार गरी लगेको महाकाली यातायातका कर्मचारी हीरा पालले बताए । प्रहरी नियन्त्रण कक्षको १०० नम्बर टेलिफोनमा सम्पर्क गर्दा दुई युवती र एक युवकलाई वडा प्रहरीको गाडीमा जिल्ला प्रहरी कार्यालय ल्याइएको जानकारी दिइएको छ । तर, राति ११ बजे ड्युटीमा रहेका नियन्त्रण कक्षका कर्मचारीले पक्राउ गरिएका व्यक्तिको नाम र कसुर भने थाहा नभएको बताए ।

युवतीहरु गिरफ्तार भएलगत्तै सोधपुछ तथा खोजतलास गरेका कानुन व्यवसायी विनोद भट्टका अनुसार जिल्ला प्रहरी प्रमुख प्रकाश चन्दले आफूलाई जानकारी नभएको र बुझेर तत्काल फोन गर्ने बताए पनि उनले मोबाइल स्वीच अफ गरेका थिए । भट्टले वडा प्रहरी कार्यालयका सई बीरबहादुर ऐरले सशस्त्र प्रहरी गुल्मले ती युवती र युवकलाई पक्राउ गरेको आफूलाई जानकारी दिएको बताए ।

घटनाबारे बुझ्न खोज्दा एसपी चन्द, जिल्ला प्रहरी प्रवक्ता र वडा प्रहरी इन्चार्ज टक्कर स्वार सबैको मोबाइल स्वीच अफ गरेको पाइएको छ । वडा प्रहरी कार्यालयका सई घनबहादुर साउँदले आफ्नो कार्यालयलाई कुनै जानकारी नभएको बताएका छन् भने अधिवक्ता भट्टलाई जानकारी दिने सई ऐरले आफू बिदामा बसेको बताए ।

घटना रहस्यमयी
पूजा तथा कञ्चनका निकट व्यक्तिका अनुसार एसपी चन्दले शनिबार दिउँसो दुवै युवतीलाई खाजा खान बोलाएका थिए तर ती दुवै गएका थिएनन् । यसअघि लगातार तीनदिन दुवै युवतीलाई केही घण्टा हिरासतमा राखेर छोडिएको समेत पूजा र कञ्चनका निकटम् व्यक्तिले दाबी गरे । पूजा र कञ्चनसँगै पक्राउ परेका युवकको परिचय खुल्नसकेको छैन ।

पूजा र कञ्चन निकट ती व्यक्तिका अनुसार एसपी चन्दले बाराम्बार फोन गरेर उनीहरुलाई कहिल्यै खाजा त कहिल्यै खानाका लागि निम्त्याउने गर्थे । पूजा र कञ्चनले एसपी चन्दको ‘आग्रह’ अस्वीकार गरिरहेपछि उनलाई जिल्ला प्रहरी कार्यालय झिकाएर छोड्ने गरिएको ती व्यक्तिको भनाइ छ ।

अपहरण मुद्दाको तयारी
अधिवक्ता विनोद भट्टले पूजा र कञ्चनको गिरफ्तारी नभई अपहरण गरिएको दाबी गरेका छन् । ‘बारम्बार फोन गर्ने, आउन नमानेपछि जिप्रका झिकाउने गरेको पृष्ठभूमिमा आज गरिएको पक्राउ अपहरण हो,’ भट्टले भने, ‘भोलि अपहरण मुद्दा दायर गरिन्छ ।’ उनका अनुसार एसपी चन्दको व्यवहार शंकास्पद रहेको हुनाले दुई युवतीको अपहरण गरिएको पुष्टि हुन्छ ।

(कञ्चनपुरबाट मनोज भट्टको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...