भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने
अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४ भदौसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ । अटो सोबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नाडा अध्यक्ष सुरेश उप्रेतीले अटो सोलाई भव्य बनाउन सबै किसिमका प्रयास गरिएको बताए । ‘आजको नवीन प्रविधिलाई प्रयोग गरेर अटो सोलाई विगतभन्दा भव्य बनाउने प्रयत्न गरेका छौँ । आयातित र स्वदेशी उत्पादन एकै थलोमा प्रदर्शनी हुनेछन् उनले भने । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिनसम्म चल्ने प्रदर्शनीले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यावसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने आयोजकको विश्वास छ ।
नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो सोको १८औँ संस्करणलाई स्वर्ण उत्सव संस्करणका रूपमा भव्यताका साथ आयोजना गरिने बताइएको छ । प्रदर्शनीले अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवा प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर दिनेछ ।
प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो सो २०२६ को शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ । नाडाले अटो सोले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवा प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएको जनाएको छ ।
नाडा अटो सोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो । यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ ।
प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् । जसमा २३ वटा ब्रान्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे, १० वटा वित्तीय एवं बिमा सेवाप्रदायक तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र अटोमोबाइलसम्बन्धी अन्य उत्पादन र सेवा प्रदर्शन गरिनेछन् । साथै, नेपालमा एसेम्बल हुने सवारीसाधन, ल्युब, ब्याट्री, हेलमेट एवं अन्य सामग्रीसमेत रहने आयोजकले जनाएको छ ।
६ दिनसम्म चल्ने उक्त नाडा अटो सोको दुई लाखले अवलोकन गर्ने विश्वास नाडाको अपेक्षा छ । सँगसँगै स्वर्ण उत्सव संस्करण, प्रोडक्ट लन्च, गोष्ठी पनि सञ्चालन हुनेछन् । खल्ती एपमार्फत अग्रिम खरिद गर्दा ५० प्रतिशत क्यासब्याक पनि पाइने बताइएको छ ।

