नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु



हाम्रो इकोनोमि

 

 

भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक रुपमा पुन सुरु गरेका छन् । कोभिड–१९ महामारीका कारण २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन् । यसैगरी, शिप्की–ला नाकाबाट पनि पहिलो समूहका व्यापारी तिब्बततर्फ प्रस्थान गरेका टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारत र चीनले यसअघि जुन १ देखि व्यापार पुन सञ्चालन गर्ने सहमति गरेका भए पनि आवश्यक पूर्वाधार र प्रशासनिक तयारी नपुगेका भन्दै कार्यान्वयन भएको थिएन । लिपुलेक क्षेत्र नेपालले आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्दै आएको छ । भारत र चीनले नेपालको सहमति वा सहभागिताबिना लिपुलेक हुँदै व्यापार पुनस् सञ्चालन गर्ने निर्णय गरेलगत्तै नेपाल सरकारले त्यसप्रति असहमति जनाएको थियो ।

परराष्ट्र मन्त्रालयले यसअघि जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा कुनै पनि निर्णय वा गतिविधि नेपाललाई समावेश नगरी गर्नु स्वीकार्य नहुने स्पष्ट पारेको थियो । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको दोहोर्‍याउँदै आएको छ । भारतले भने लिपुलेक उत्तराखण्डको पिथौरागढ जिल्लाअन्तर्गत पर्ने आफ्नो भूभाग भएको अडान राख्दै आएको छ भने चीनले पनि भारतसँग यही मार्ग हुँदै व्यापार पुनस् सञ्चालन गरेको हो ।

सन् २०१५ मा भारत र चीनले लिपुलेक हुँदै व्यापार तथा आवागमन विस्तार गर्ने सहमति गरेपछि नेपालले औपचारिक विरोध जनाएको थियो । त्यसपछि सन् २०२० मा भारतले लिपुलेक जोड्ने सडक उदघाटन गरेपछि नेपाल–भारत सम्बन्धमा तनाव उत्पन्न भएको थियो । त्यसै वर्ष नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । लिपुलेक हुँदै भारत–चीनबीचको सीमा व्यापार सन् १९९२ देखि सञ्चालन हुँदै आएको बताइन्छ । कोभिड–१९ महामारीका कारण २०२० मा बन्द भएको व्यापार पुनस् सञ्चालनमा आएको भारतीय मिडियाहरुले लेखेका छन् ।

उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना व्यापारी र चार जना सहयोगी कुनै पनि व्यापारिक सामान बिना तिब्बत प्रवेश गरेका छन् । दुवै देशले व्यापार सञ्चालनको प्रक्रिया पुनस् सुरु गर्ने क्रममा चिनियाँ पक्षले तक्लाकोट व्यापार केन्द्रमा पूर्वाधार सीमित रहेको जनाउँदै पहिलो चरणमा २० जनालाई मात्र प्रवेश अनुमति दिएको थियो । साथै, सबै व्यापारीको विस्तृत व्यक्तिगत विवरण अग्रिम रूपमा उपलब्ध गराउन र सन् २०१९ को अन्तिम व्यापारिक सिजनमा सहभागी भएकालाई प्राथमिकता दिन आग्रह गरेको थियो ।

सोही अनुरूप व्यापारीहरूको संगठनले सन् २०१९ मा व्यापार गरेका र २०२० मा व्यापार बन्द हुँदा तक्लाकोटमा सामान अड्किएका व्यापारीलाई पहिलो प्राथमिकतामा राखेको थियो । धार्चुलाका उपजिल्ला अधिकारी (एसडीएम) तथा जिल्ला व्यापार अधिकारी आशिष जोशीका अनुसार यस व्यापारिक सिजनका लागि हालसम्म ६२ व्यापारी र ९३ सहयोगीसहित १५५ वटा व्यापार पास जारी गरिएको छ । अर्को समूहलाई अनुमति दिन भारतीय प्रशासनले चिनियाँ पक्षसँग अनुरोध गरिसकेको छ ।

यसैबीच, हिमाचल प्रदेशको शिप्की–ला दर्रा हुँदै पनि सीमा व्यापार पुनस् सुरु भएको छ । प्रदेशका राजस्वमन्त्री जगत सिंह नेगीले पहिलो चरणका १६ भारतीय व्यापारीलाई तिब्बततर्फ बिदाइ गरेका हुन् । व्यापारीहरू घोडामार्फत ३,९३० मिटर उचाइमा रहेको शिप्की–ला दर्रा पार गरेर तिब्बतको शिप्की गाउँतर्फ गएका छन् । शिप्की–ला हुँदै हुने व्यापार नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र परम्परागत वस्तु विनिमय ९बार्टर० प्रणाली अन्तर्गत हुनेछ ।

भारतीय व्यापारीले चिनियाँ सीमाभित्र ७२ घण्टासम्म बस्न पाउनेछन् । भारतीय गृह मन्त्रालयले पृष्ठभूमि जाँचपछि ५३ जना व्यापारीलाई अनुमति दिएको छ । भारतीय व्यापारीलाई ३६ प्रकारका वस्तु निर्यात गर्न अनुमति दिइएको छ, जसमा सुक्खा फलफूल, मसला, हस्तकला सामग्री र जडीबुटी छन् । त्यस्तै चिनियाँ व्यापारीले २० प्रकारका वस्तु, जस्तै पस्मिना, ऊन, याकको रौँ, भेडा र बाख्राको छाला तथा चाइना क्ले भारत ल्याउन पाउनेछन् । अधिकारीहरूका अनुसार भारतीय पक्षबाट व्यापार गर्न मिल्ने वस्तुको कुल सूची ७२ प्रकार र चिनियाँ पक्षबाट ३० प्रकार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...