विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियानमा एमाले



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरू गरिएको छ । केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउँदै एमालेको ११औँ महाधिवेशन सकिएको साढे ३ महिनामात्र हुँदैछ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले हालैको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको ऐतिहासिक पराजय र नेतृत्वप्रति जनताको अविश्वासलाई मुख्य कारण देखाउँदै हस्ताक्षर अभियान थालेका हुन् । केन्द्रीय कमिटी सदस्य, जनवर्गीय संगठनका पदाधिकारीसमेतको सहभागितामा थालिएको यो अभियानमा अहिलेसम्म ४४० जनाले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ । अभियानमा सहभागी नेताले पदाधिकारीहरूको पनि साथ रहेको बताए । अध्यक्षलाई सम्बोधन गरेर तयार पारिँदै गरेको विशेष महाधिवेशनको मागपत्रमा २०४८ देखि २०८२ सम्मको संसदीय यात्रामा पार्टीले अहिले लज्जास्पद हार व्यहोरेको उल्लेख छ । प्रत्यक्षतर्फ १६५ मध्ये ९ सीटमा खुम्चिनु र समानुपातिकमा पनि उस्तै नतिजा आउनुले पार्टीको कमिटी प्रणाली र वर्तमान नेतृत्वप्रति जनताको अविश्वास देखिएको उनीहरूको भनाइ छ ।

विशेष महाधिवेशनको माग गर्ने पक्षक्षरले काठमाडौं उपत्यकाका १५ मध्ये ११ क्षेत्रमा एमाले उम्मेदवारको जमानत जफत हुनु र अधिकांश चर्चित र शीर्ष नेताहरू भारी मतान्तरले पराजित हुनु जनताको भावना अनुसार पार्टी नचल्नुको परिणाम भएको निचोड निकालेको छ । एमाले इतिहासको संगीन मोडमा आएको भन्दै मौजुदा कुनै कमिटीमा सामान्य समीक्षाले मात्र निकास नदिने एक नेताले बताए । एमालेको विधानअनुसार ठोस कार्यसूची र उचित कारण देखाएर बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखितरूपमा माग गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उल्लेख छ । यदि महाधिवेशन आयोजना नगरिए महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले महाधिवेशन आयोजक कमिटी बनाएर विशेष महाधिवेशन आयोजना गर्न सक्ने वैधानिक व्यवस्था रहेको छ ।

दलको नेतामा सुहाङलाई रोकेर समयको बेग बुझ्न नसकेको पार्टी पङ्क्तिकै आलोचनालगत्तै ‘बादल प्रकरण’ एमालेको पछिल्लो संकटको पानीढलो बनेको छ । उनको अभिव्यक्तिलाई लिएर विष्णु पौडेलजस्ता नेता नै सार्वजनिक प्रतिवादमा उत्रिनुले अब एमालेमा नेतृत्व परिवर्तनको संघर्ष निर्णायक मोडमा पुगेको केही नेता बताउँछन् । ‘संसदमा बादलको विवादास्पद भनाइलाई सचिवालयले सच्याउने निर्णय गरेसँगै नेतृत्वको नैतिक धरातल सकिइसकेको छ एक पदाधिकारी बताउँछन् । बादललाई हिरासतबाट ओलीले दिएको कार्यवाहक अध्यक्षको जिम्मेवारीमाथि पनि ओली शंकर पक्षधर नेता नै असन्तुष्ट छन् । उक्त निर्णय सामूहिक छलफलबाट हुनसक्ने विषय पार्टीमा उठेको छ ।

महाधिवेशनको अन्तिम अन्तिम समयमा ओलीको पक्षमा खुलेका विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत ७ जना तत्कालीन पदाधिकारीकै कारण ईश्वर पोखरेल प्यानल पराजित भएको थियो । अहिले पौडेल स्वयं पनि अब ओलीको बिदाइको पक्षमा उभिएका छन् । निर्वाचन परिणामलगत्तै पौडेलले नीति र नेतृत्व पुनर्गठनको अभियान थालिने बताएका थिए । यसबीचमा ईश्वर पोखरेल पक्ष र विष्णु पौडेल पक्षबीच लगातार छलफल र बैठकहरू भइरहेका छन् । ओलीको सम्मानजक बिदाइका लागि पौडेल पक्षको साथ निर्णायक भएकाले पोखरेल पक्षले हात बढाएको छ । यसबीचमा ओलीमाथि राज्यले धरपकड गरेकाले नेतृत्व पुनर्गठनको प्रयास रोकिएको मात्र हो । सकेसम्म ओलीलाई राजीनामा गराउने र त्यसो नहुँदा विशेष महाधिवेशनको विकल्पमा एमाले पङ्क्ति पुगेको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र त्यसअघिबाटै एमाले विभिन्न विरोधी कित्ताको तर्फबाट चौतर्फी घेराबन्दीमा थियो ।

‘बादल सुहाङ टकराव’ देखि पहिलो संसद बैठकसम्म आइपुग्दा त्यो घेराबन्दीले विरोधी वा इतरपक्षको ‘लक्ष्मणरेखा तोड्यो । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलकै ‘भित्रिया भनेर चिनिएकाहरु उनीहरूविरुद्ध खनिएका छन् । पार्टी नेतृत्वले निर्णय लादेर दलको नेता चयन गरेको आक्रोश पार्टीव्यापी छँदैछ । त्यसमाथि बादलको अभिव्यक्ति शैलीलाई लिएर टप टू बटमसम्मको असन्तुष्टिका स्वरले आगोमा घ्यू थपेको छ ।

एमालेभित्र ११ औँ महाधिवेशनअघि विद्या भण्डारी(ईश्वर पोखरेलहरूसँग नजिक भएका नेता–कार्यकर्ताको आलोचनालाई ‘मूल्य दिइँदैन थियो । तर पछिल्ला समयमा महाधिवेशनमा ओली शंकरको सूचीमा परेर पार्टी नेतृत्वमा पुगेका नेता नै आक्रोशित बनेका छन् । भित्रिया नै आक्रोशित भइरहेको यो दृश्यमा बरु तत्कालीन विद्या ईश्वरपक्षीय नेता कार्यकर्ता उति धेरै प्रकट भइरहेका छैनन् । हिजो ओली र शंकर पोखरेलले टिममा पारेकाहरुनै अब यो नेतृत्वबाट काम चल्दैन भन्दै खुलेआम विशेष महाधिवेशनसम्मको माग गर्न थालेका छन् ।

रास्वपाको अभूतपूर्व विजयमा नेपाली सेना,ब्युरोक्रेसी,सुशीला सरकार,कार्की आयोग,बारबरा फाउन्डेसनजस्ता संस्था तथा पात्रहरूको निर्णायक भूमिका रह्यो भन्दै गरेको बादलको दाबीले जनादेशलाई स्वीकार्न नसकेको रूपमा टिप्पणी भइरहेको छ । त्यसमा पनि संवेदनशील विषयमा बोल्दा सदनमा ख्याल गर्नुपर्ने भनेर बादलको आलोचना भइरहेको छ ।

उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति एमालेको मूल्य मान्यताविपरीत भएको प्रष्ट्याएका छन् । अर्का उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेल, डा सूर्य पाठक लगायतले पनि सधैँ अरुलाई मात्र दोष दिएर नहुने आफ्नो पनि कमजोरी हेर्नुपर्ने भन्दै आपत्ति जनाएका छन् । यो घटना स्वयं केपी शर्मा ओली र शंकर पोखरेलका निम्ति ‘स्टप, लुक एण्ड गो को चरण हो । मिचेर वा पेलेर जाँदा गन्तव्य अनिश्चित छ । त्यसैले ‘ल्याम लाइट मा उभिएर ओली शंकरहरु एकछिन घोत्लिने बेला भइसक्यो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...