सरकारले प्रतिशोधी निर्णय गर्यो : योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा प्रतिशोधी निर्णय गरेको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीको गिरफ्तारीपछि डाकिएको आकस्मिक सचिवालय बैठकमा सहभागी हुन च्यासल आइपुगेका उनले कानूनी राज्य र विधिको शासन हुनुपर्ने बताए ।
सञ्चारकर्मीसँग भट्टराईले भने, नयाँ जनादेश पाएको सन्दर्भमा मुलुकलाई कसरी संयमताका साथ अगाडि बढाउनुपर्ने भन्नेमा सरकारले प्रतिशोधी निर्णय गर्यो । हामीले बनाएका संविधान कानून छन् । कानुनी राज्य र विधिको शासन हुनुपर्छ । पहिलेजस्तो अब सडकमा टायर बाल्ने र विरोध गर्ने कार्यक्रम हुँदैन हो’ भन्ने पत्रकारको प्रश्नमा भने उनी मौन रहे । भट्टराईले सामाजिक सञ्जालमा पनि लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रमक नभइ संयम हुनु पर्ने बताएका छन् ।
उनले लेखेका छन्, प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ । कानूनी राज्य र विधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनु पर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाइको माग गर्दछु । उनले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न बालेन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । भट्टराईले थपेका छन्, हाम्रो पार्टीले कानूनी र राजनीतिक बाटो लिनु पर्दछ । संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गरिने छ ।

