पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक रहेको बताएका छन् । बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले परिपक्क लोकतन्त्रपनि पपुलिजमको सिकार भएको भन्दै नेपाललाई पनि पपुलिजमको सिकार हुनबाट जोगाउनुपर्ने बेला आएको बताएका हुन् ।
सभापति थापाले आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार थेग्न सक्छौं ? भन्ने प्रश्न खडा भएको भन्दै त्यसको उत्तर खोज्नुपर्ने धारणा राखे ।
उनले भने, ‘अहिले एकसय एक परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको छ । एउटा छाल जस्तो आएको छ । त्यो पपुलिजमको आक्रमणबाट के नेपालको लोकतन्त्र हामीले जोगाउन सक्छौं ? हाम्रो लोकतन्त्र त्यति परिपक्क पनि छैन । हाम्रो अर्थतन्त्रको आफ्नै चुनौतीहरु छन् ।
एउटा लोकतन्त्र परिपक्क भइसकेको संस्थाहरु बनेको ठाउँमा पपुलिजम ५–६ महिनामा आउँछ त्यो ढल्छ । संस्थाहरु बलियो नभएको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामीले थेग्न सक्छौं ? भन्ने हाम्रो अगाडि प्रश्न छ त्यसको उत्तर हामीले खोज्नुपर्छ ।
त्यस्तै उनले गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको भन्दै कांग्रेस एक्लै निर्वाचनमा गएर अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको धारणा राखे ।
उनले भने, ‘लोकतन्त्रको स्पेस हाइज्याक भएको छ । हेर्दा सामान्य लाग्ने गठबन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको थियो । कांग्रेसले १६५ मा नै कांग्रेको उम्मेदवार लड्छ जित हार जे सुकै होस् भनेर जाँदा अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको छ ।


