विशेष महाधिवेशनको तयारी तिब्र, पार्टी फुटने संकेत
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन तयारी हुँदै छ । गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशन तयारी तिब्र पारिएको छ ।
शुक्रबार बिहानै ५ बजेदेखि कार्यकर्ता चारतारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिंगारिरहेका छन् । महामन्त्रीद्वयको नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ । विशेष महाधिवेशनको विषयले केन्द्रका मात्रै होइन प्रदेशदेखि जिल्लासम्मका नेताहरू विभाजित हुँदै गइरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा पनि अहिले विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेताहरू खुल्न थालेका छन् । यहाँका ९ जिल्ला मध्ये ६ जिल्ला सभापति ‘विधान विपरीत’ भन्दै प्रस्टरूपले विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।
यसअघि नै प्रदेश सभापति वीरबहादुर बलायरले पनि अन्य प्रदेश सभापतिसँग साझा विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको आवश्यकता र औचित्य अहिले नरहेको बताइसकेका छन् ।
अहिले बझाङ जिल्ला सभापति खडकबहादुर बोहरा, डोटी सभापति नरेन्द्र बहादुर सिंह, डडेलधुरा सभापति भीम साउँद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्ट संस्थापन पक्षमा उभिएका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर संस्थापन पक्षको धारणा सार्वजनिक गरेका हुन् ।
विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् ।


