निर्वाचन निर्देशिका २०८२ स्वीकृत
राजनीतिक दलसम्बद्ध संगठनमा भएका कर्मचारीलाई निर्वाचन आयोगले आगामी निर्वाचनमा नखटाउने भएको छ । फागुन २१ निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले आफ्नो वडामा समेत जान पाउने छैनन् ।
निर्वाचन आयोगद्वारा जारी जनशक्ति व्यवस्थापनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२’ स्वीकृत भएपछि यस्तो व्यवस्था लागू हुने भएको हो ।
निर्वाचन आयोग ऐन, २०७४ को दफा ८० ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका तयार पारिएको आयोगले जनाएको छ । उक्त निर्देशिकाले निर्वाचनमा खटिने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीको परिचालनलाई कानुनसम्मत र व्यवस्थित बनाएको आयोगको भनाइ छ ।
निर्वाचनलाई जनशक्ति अभाव हुन नदिने र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय मतदान हुने स्थानमा सोही अनुसारको दक्ष जनशक्ति परिचालन गर्ने र मतपत्र मार्फत हुने मतदानमा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाको प्रभावकारी कार्यान्वयनले निर्वाचनमा हुने सक्ने धाँधली र कर्मचारीको राजनीतिक प्रभावलाई न्यूनीकरण गर्दै आम मतदाताको विश्वास जित्न सफल हुने आयोगका पदाधिकारीले बताएका छन् ।
निर्देशिकाअन्तर्गत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी साथै सरकारको स्वामित्वमा रहेका वा अनुदानमा सञ्चालित संस्थाका कर्मचारी पर्नेछन् ।
त्यस्तै, विश्वविद्यालय तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई पनि निर्वाचनको जनशक्तिमा समेटिएको छ । निर्देशिका अनुसार काजमा रहेका, करारमा कार्यरत वा ज्यालादारीमा रहेका कर्मचारीलाई समेत आवश्यकताअनुसार निर्वाचनको काममा खटाउन सकिने प्रावधान छ । यसपटक आयोगले निर्वाचनको निष्पक्षता कायम गर्न कर्मचारी परिचालनमा विशेष कडाइ गरेको छ ।
निर्देशिकाको दफा २२ अनुसार निजामती कर्मचारी, शिक्षक वा अन्य सरकारी निकायमा कार्यरत राष्ट्रियस्तरको ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनको काममा निषेध गरेको छ ।
यसैगरी, कुनै कर्मचारीको घर वा ठेगाना भएको वडामा सोही कर्मचारीलाई मतदान अधिकृत वा सहायक मतदान अधिकृतको रूपमा खटाउन नपाइने व्यवस्था गरिएको छ ।
शिक्षकको हकमा उनीहरू कार्यरत रहेको विद्यालयको क्षेत्र वा घर भएको वडामा खटाउन नपाइने व्यवस्था छ । यस्तै, कुनै उम्मेदवारको नजिकको नातेदार रहेको कर्मचारीलाई पनि सम्बन्धित निर्वाचन क्षेत्रमा खटाइने छैन ।


