नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखमा विष्णु रिमाल
नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो, ओलीको प्रस्ताव थियो, उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन ।
एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।
ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा केही पदाधिकारीले असहमति जनाएका थिए । भर्खरै महाधिवेशन सकिएको छ । चुनाव नजिकै आइरहेको छ ।
यस्तो बेला पार्टीलाई एकताबद्ध बनाउन पनि ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउनु हुन्न, ओलीको प्रस्तावमा असहमति जनाउनेहरुले भनेका थिए । तर आफूसँग अध्यक्ष भिडेका ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा ओली अडिग रहे ।


