खोला किनारको मापदण्ड खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौंका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरुले प्रदर्शन गरेका छन् । गैरन्यायिक खोला मापदण्ड खारेजको माग गर्दै गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
बागमती,विष्णुमती,मनोहरा लगायतका पीडितहरुले ‘मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदैन, फैसला होइन न्याय देउ, जनतालाई उठिबास गर्ने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ लगायतका नारा लेखिएको व्यानर बोकेर आफना मागहरु राखेका छन् ।
२ वर्ष अघि नदी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
त्यसअघि २०६५ सालमा २० मिटर छोड्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो । अहिले उक्त खोलाको मापदण्ड खारेजको माग गरेका हुन् ।


