प्रधानमन्त्रीमा भागबण्डा नमिलेपछि कुलमान आउट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र साहबीचको ‘एकता’ मा उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक मानिएका कुलमान घिसिङ छुट्न पुगे । उनलाई पनि सँगै ल्याउन बालेनले जोड गरेका थिए । हिजो कुलमान र बालेनबीच दुई पटक वान टु वान छलफल भएको थियो । बिहानको भेटमा बालेनले रास्वपासँग भएको आधारभूत सहमतिबारे व्रिफिङ गर्दै त्यसमा मिसिन कुलमानलाई प्रस्ताव गरे । तर, कुलमानले निशर्तरुपमा रास्वपामा विलय हुन नजाने अडान लिए ।
दिउँसो पार्टीको केन्द्रीय समिति वैठकमा सहभागी भएर उनले आत्मसम्मान गुमाएर एकता नगर्ने अभिव्यक्ति दिएका थिए । यद्यपि, रास्वपासँग मिल्नुपर्छ भन्ने मत पार्टीमा बलियो थियो । साँझ फेरि बालेन र कुलमानबीच बालुवाटारमा भेटवार्ता भयो ।
उक्त भेटवार्ता झनै सकारात्मक हुन सकेन । कुलमानले आधा कार्यकाल आफू प्रधानमन्त्री बन्ने प्रस्ताव बालेनले अस्वीकार गरेको स्रोतहरु बताउँछन् । कुलमान निकट स्रोतले भन्यो, सम्मानजनक एकता गर्ने नियत नै देखिएन । उहाँले (बालेन) ले केवल तपाईं पनि आउनुस भन्नुभयो, तर ठोस प्रस्ताव केही थिएन । कुलमानले भने भावि प्रधानमन्त्रीमा आलोपालो गर्ने प्रस्ताव बालेनसँग राखेका थिए ।
स्रोतले भन्यो, ‘पहिलो अढाइ वर्ष बालेन र अर्को अढाइ वर्ष आफू प्रधानमन्त्री बन्ने गरी भागबण्डा गर्ने प्रस्ताव राख्नुभएको थियो । बालेनलाई त्यो स्वीकार्य भएन । जेनजी आन्दोलनको म्यान्डेट नै आफू ५ वर्ष प्रधानमन्त्री हुनुपर्छ भन्ने रहेको बालेनले तर्क गरेका थिए । साथै, आफू राष्ट्रिय र अन्तर्राष्ट्रिरुपमा पनि चर्चित व्यक्ति भएकाले प्रधानमन्त्रीमा भागबण्डा नसक्ने उनको भनाइ थियो ।


