आफ्नै दल बनाउने बालेनको योजना, रविको नेतृत्व नस्वीकार्ने
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् । यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल आज पनि जारी रहने स्रोतले जनायो ।
बालेनसँग बुधबारको छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टलगायत केही सञ्चारकर्मीहरू सहभागी थिए । स्रोतका अनुसार छलफलमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालसमेत सहभागी थिए । मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषी धमलासँग पनि बालेनले छलफल गरेको स्रोतको भनाइ छ ।
यस्ता छलफल निरन्तर अगाडि बढाउने कुरा छ । आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् बालेन । गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ ।
बुधबार बालेनसँगको छलफलमा सहभागीहरुका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् । छलफलमा सहभागी स्रोतले भन्यो, देश विकास पार्टीको नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बालेनको मुड बुझियो ।
देश विकास पार्टीको अध्यक्ष हाल सन्ध्या खनाल छिन् । पहिले इन्जिनियर अनन्तराज घिमिरे नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’लाई अध्यावधिक गरेर ‘देश विकास पार्टी’बनाइएको हो । चुनाव चिह्न ‘हाम्रो नेपाली पार्टी’कै लौरो नै कायम गरिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको चुनाव बालेनले लौरो चुनाव चिह्नबाटै जितेका थिए ।
रविको नेतृत्व बालेनले नस्वीकार्ने संकेत
यसअघि गत सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा रवि लामिछाने र बालेन साहबीच मध्यरातसम्म छलफल भएको थियो । छलफलपछि एउटै गाडी चढेर बाहिरिएको दृष्यले धेरैलाई उनीहरु अब एउटै पार्टीमा रहने अनुमान गरेका थिए । तर बुधबार कुपण्डोलको छलफलमा बालेनले रविको नेतृत्वमा नभई आफ्नै नेतृत्वमा जेनजीसहितका नयाँ शक्तिलाई समेटेर अघि बढ्न खोजेको संकेत गरे ।
उहाँका कुराबाट के बुझियो भने रविसँग छलफल भए पनि पार्टीको नेतृत्व आफैंले गर्ने, अरुको नेतृत्वमा नजाने भन्ने हो, छलफलमा सहभागी एक नेताले भने । कमलपोखरी छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो ।
त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए । तर बुधबारको छलफलमा बालेनले रविको नेतृत्व नस्वीकार्ने संकेत गरेको एक नेताले बताए ।


