पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली
नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन डगमगायो, यस्तै, उनले पार्टीको अनुमोदित नेतृत्वलाई छुट्टै भेला गरेर चुनौती दिने कार्यको पनि विरोध गरेका छन् । उनले तीन महिनामा तंग्रिएको एमालेको विरासतलाई पनि लोकतन्त्र बहालीमा लगाउनु पर्नेमा पुरानै मुद्दामा जानु अनुचित हुने बताएका छन् ।
उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशनसकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।
एकवर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो–केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।


