एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु
नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ । विद्युतीय मेसिनबाट भएको मतदानको मतगणना कसरी हुन्छ भन्ने धेरैलाई चासो छ । केहीबेरमा भृकुटीमण्डपमा शुरु हुने मतगणनामा ८० वटै मेसिनको फरक–फरक मुचुल्का तयार पारिने बताइएको छ ।
मतगणनाका लागि निर्वाचन आयोगले हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का गरेर प्रतिनिधि तथा मत संख्या ट्याली गरेर विवरण मिलेपछि विद्युतीय मेसिन लक गरिने भएको छ । विद्युतीय मेसिनबाट निकालिएको चिप्सहरु अलगअलग खाममा राखेर सबै खाम एकत्रित गरेर नम्बरिङ गरेपछि प्याकिङ गरिने आयोगले जनाएको छ ।
उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिक र निर्वाचन आयोगका प्रतिनिधिको रोहबरमा मतगणना गरिने छ । मतपरिणाम सार्वजनिक, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भृकुटीमण्डपमै हुनेछ । एमालेले बिहान ११ बजे ११ औँ महाधिवेशनको समापनको तयारी गरेको छ ।


